काठमाडौं । तेस्रो ट्वान्टी २० खेलमा भ्रमणकारी टोली पाकिस्तानलाई १४ रनले पराजित गर्दै श्रीलंकाले तीन खेलको शृंखला १–१ को बराबरीमा टुंगाएको छ । यो बराबरीपछि दुबै टोलीले ट्रफी पनि बाढेका छन् ।
घरेलु टोली श्रीलंकाले धम्बुलामा टस हारेर ब्याटिङ सुरु गर्याे । वर्षाको कारण खेल १२ ओभरमा झारिएको थियो । श्रीलंकाले ६ विकेट गुमाउँदै एक सय ६१ रनको लक्ष्य दिएको थियो । जवाफमा पाकिस्तानले ८ विकेट गुमाउँदा मात्र एक सय ४६ रन बनाउन सक्यो ।
पहिलो ट्वान्टी २० मा पाकिस्तानले श्रीलंकालाई ६ विकेटले हराएको थियो । दोस्रो खेल भने वर्षाले गर्दा सुरु हुनै पाएन । तेस्रो खेलमा पनि वर्षा भयो । तर, निर्णायक खेलमा दुबै टोली १२ ओभरको खेल खेल्न सहमत भएका हुन् ।
पाकिस्तानको लागि कप्तान सल्मान अघाले सर्वाधिक ४५ रन जोडेका थिए । उनले १२ बलमा ५ चौका र ३ छक्का हिर्काए । खवाजा नाफयले १५ बलमा २६ रनको योगदान गरे । श्रीलंकाका वानिन्दु हसरंगाले ३ ओभरमा ३५ रन खर्चिएर चार विकेट लिएका थिए ।
यसअघि श्रीलंकाको लागि कप्तान दासुन शनकाले ९ बलमा ५ चौकासहित सर्वाधिक ३४ रन हिर्काएका थिए । कुशल मेन्डिसले १५ बलमा ३० तथा ८ बलमा जानिथ लियानागेले २२ रनको योगदान गरेका हुन् । पाकिस्तानका मोहम्मद वासिमले सर्वाधिक ३ विकेट लिएका थिए ।
