काठमाडौं । मैदानस्तरीय नभएको र अत्यधिक हिलो भएको भन्दै दशरथ रंगशालाको निकै आलोचना भयो । साउन २९ गते नेपालको चर्च ब्वाइज युनाइटेडले भुटानको पारो एफसीविरुद्ध एएफसी च्यालेन्स लिग छनोटमा प्रतिस्पर्धा गरेको थियो ।
खेल सुरु हुनु एक घण्टाअघि भारी वर्षा भयो । मैदानमा पानी जम्यो । जसका कारण खेल सुरु भएको १० मिनेट नबित्दै दशरथ रंगशालाको हरियो दुबो हिलोमा परिणत भयो । हिलोले खेलाडी नै नचिनिने अवस्थामा पुगे । मध्यान्तरपछि दुवै टोलीका खेलाडीले लगाएको जर्सी नै परिवर्तन गर्नुपर्ने स्थिति आयो । दोस्रो हाफमा पुनः हिलोकै कारण खेलाडी नै नचिन्ने अवस्थामा पुगे ।
राखेपले एन्फाबाट मैदानको जिम्मेवारी खोस्दै निजी कम्पनी माउन्ट एभरेस्ट स्पोर्टस एण्ड इभेन्ट प्रालिलाई मैदान बनाउने जिम्मेवारी सुम्पिएको थियो ।
यसकारण दशरथ रंगशाला निकै चर्चामा आयो । चौतर्फी विवाद आयो । पारो एफसीबाट खेलेका जापानी स्टार केइसुके होन्डाले यो स्तरको रंगशालामा कहिल्यै नखेलेको प्रतिक्रिया दिए । जिम्मेवारी पाएको राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले मैदान स्तरीय बनाउन नसकेको आरोप लाग्यो । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि हिलाम्य मैदानका कारण राष्ट्रको साख नराम्रो भएको ठहर गरेका थिए ।
खासमा यसअघि मैदान मर्मतसम्भारको जिम्मेवारी अखिल नेपाल फुटबल संघ (एन्फा)सँग नै थियो । तर, एन्फाले लापरबाही गरेको र स्तरोन्नति नगरेको भन्दै राखेपले नै मैदानको स्वामित्व लिएको थियो ।
राखेपले एन्फाबाट मैदानको जिम्मेवारी खोस्दै निजी कम्पनी माउन्ट एभरेस्ट स्पोर्टस एण्ड इभेन्ट प्रालिलाई मैदान बनाउने जिम्मेवारी सुम्पिएको थियो । खासमा रंगशालाको मैदानमा भएको चाहिँ के हो त ? यिनै विषयमा केन्द्रित रहेर खेलाडी डटकमले कम्पनीका प्रमुख थम्मन भुसालसँग वार्तालाप गरेको छ ।
दशरथ रंगशाला मैदानको विषय निकै विवादित भयो, किन ?माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट प्रालिले दशरथ रंगशालाको स्तरोन्नतिको लागि राखेप सदस्यसचिव टंकलाल घिसिङकै प्रत्यक्ष निगरानीमै काम गरिरहेको छ । यो पूरा वैज्ञानिक र अत्याधुनिक प्रविधिका साथ भएको छ । तर मैदानको विषयमा धेरैले विवाद सिर्जना भयो । त्यो मैदानको साँच्चै स्थिति के हो भन्ने नबुझेर नै अनावश्यक टिप्पणी गरेका हुन् जस्तो लाग्छ ।
यतिका समय लगाएर बनाइएको मैदान कसरी पूरै हिलाम्य भयो ? हामीले पूर्णतः वैज्ञानिक तबरले अहिले रंगशाला बनायौं । तर, त्यसअघि फुटबल र क्रिकेटको मैदानको सतह पुरानो माटोले बनाउने गरिएको थियो । अहिले पनि त्यही थियो । मैदान हामीले जिम्मेवारी पाए पनि वालुवा नै प्रयोग ग¥यौं । युरोमा जर्मनीको डर्टमन्ड रंगशाला पनि अत्यधिक वर्षा भएपछि बिग्रिएको हामीले देखेकै हौं । त्यस्तो अत्याधुनिक रंगशाला त वर्षाले अस्तव्यस्त भयो । हाम्रो त सामान्य रंगशाला न हो । त्यो पनि माटोले बनेको । त्यसैले पनि धेरै हिलो देखियो । हाम्रो पनि खेलअघि निकै ठूलो वर्षा भयो । खेलअघि वर्षा भएपछि कमजोर सतहका कारण धेरै हिलो देखियो ।
रंगशालाको मैदान हुनुपर्ने चाहिँ कस्तो रहेछ ? हुनुपर्ने चाहिँ मैदानमा २० सेन्टिमिटर बालुवा हुनुपर्छ । त्यसमुनि ड्रेनेजलाई साथ दिने रोडाहरू प्रयोग हुनुपर्छ । त्यसपछि पाइप हुनुपर्छ । हाम्रोमा नभएको यही हो । जसका कारण माथिको पानी मुनि जानै पाएन र हिलो बढी भयो ।
हाम्रो मैदानको खास समस्या के हो ? खास हाम्रो समस्या भनेकै मैदानको सतह हो । पुरानो ड्रेनेज सिस्टम पनि हाम्रो काम नलाग्ने भइसकेको छ । सन् १९९७ तिर यो चीनले बनाएको हो । फेरि यसलाई बनाउनुपर्ने भएको छ । अहिले मौसमले पनि साथ दिएन । अरू मौसममा यो मैदान चलिरहेको थियो । तर, वर्षामा एकै पटक भद्रगोल देखियो ।
अन्तर्राष्ट्रिय मापदण्ड सधैं कायम राख्न र स्तरीय देखाउन अब गर्नुपर्ने के हो ? यो मैदानमात्रै हैन, हामीले अभ्यास मैदान अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्छ । किनभन्दा खेल खेल्ने मैदानमात्रै हैन, अभ्यास गर्न पनि स्तरीय मैदान चाहिन्छ । यसको फाउन्डेसन नै नयाँ चाहिन्छ । अत्यावश्यक उपकरण प्रयोगमा ल्याउनुपर्छ । त्यो भयो भने विश्वका कुनै पनि स्तरीय खेलाडी र टिमले आलोचना गर्न सक्दैनन् । त्यसतर्फ सरोकारवालाले ध्यान दिनुपर्छ ।