काठमाडौं । पोखरामा यही जनवरी ३१ देखि फेब्रुअरी ७ सम्म हुने दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–१९ महिला च्याम्पियनसिपका लागि नेपालको ३५ सदस्यीय सम्भावित टोली घोषणा भएको छ ।
आइतबार मुख्य प्रशिक्षक सुमन श्रेष्ठले फाइनल चरणको छनोटका लागि सम्भावित टोली घोषणा गरेका हुन् ।
गत हप्ताको शुक्रबार श्रेष्ठले ६७ सदस्यीय प्रारम्भिक टोली तयार पारेका थिए । आइतबार र सोमबार, दुई दिनको छनोटपछि दोस्रो चरणका लागि ४९ खेलाडी छानिए ।
दोस्रो चरणको छनोट चार दिन चल्यो । शनिबार खेलाडीलाई आराम दिइएको थियो ।
श्रेष्ठले राष्ट्रिय यु-१७ र यु-२० का खेलाडीसँगै गत सेप्टेम्बरमा सम्पन्न एन्फा राष्ट्रिय लिग छनोट खेलेका सम्भावना भएका खेलाडी समेट्दै प्रारम्भिक टोली तयार पारेका थिए । जसमा गत अक्टोबरमा थाइल्यान्डमा सम्पन्न एएफसी यु–१७ एसियन कप छनोट खेलेका २० जना खेलाडी समावेश थिए । त्यस्तै यु–१५ देखि नेपालको जर्सी लगाउँदै आएका अट्याकिङ मिडफिल्डर सेनु परियार, फरवार्ड वर्षा ओली र सेन्टरब्याक माया मास्केले लगातार तेस्रो पटक माथिल्लो उमेर समूहको साफ च्याम्पियनसिपका लागि प्रारम्भिक टोलीमा स्थान बनाएका थिए ।
फाइनल चरणको छनोटका लागि रक्षक दीक्षा रायमाझी र स्ट्राइकर पुजा गिरी भने अटाउन सकेनन् । दुबै थाइल्यान्ड जाने टोलीमा थिए । यसबाहेक अन्य सबै खेलाडी छनोट भएका छन् । यसैगरी नेपाली राष्ट्रिय फुटसल टोलीकी गोलकिपर झरना डुम्राकोटीलाई पनि स्थान दिइएको छ । झरना अहिले साफ फुटसल च्याम्पियनसिपका लागि थाइल्यान्डमा छिन् । उनी प्रतियोगिताको चार दिनअघि नेपाल आइपुग्ने बताइएको छ ।
सिनियरतर्फ तीनपटक र तल्लो उमेर समूहतर्फ एकपटक साफ महिला च्याम्पियनसिपको आयोजना गरेको नेपालले पहिलो पटक माथिल्लो उमेर समूहमा साफ टोलीको आतिथ्यता गर्दैछ ।
यसअघि सन् २०२४ मा नेपालले साफ यु-१६ च्याम्पियनसिप आयोजना गरेको थियो । त्यही वर्ष सिनियरतर्फ पनि नेपालले आयोजनाको अवसर पाएको थियो ।
माथिल्लो उमेर समूहमा नेपाल तीनपटक उपविजेतामा सीमित भएको छ ।

