काठमाडौं । यही जनवरी १८ देखि फेब्रुअरी १ सम्म घरेलु मैदानमा आयोजना हुने ट्वान्टी-२० महिला विश्वकप ग्लोबल छनोटको तयारी गरिरहेको नेपाली टोलीले ‘वार्मअप’ श्रृंखलामा अमेरिकालाई चार विकेटले हराएको छ ।
आइतबार माथिल्लो मूलपानी मैदानमा भएको खेलमा अमेरिकाले प्रस्तुत गरेको १५८ रनको प्रतिस्पर्धात्मक लक्ष्य नेपालले १९ ओभरको समाप्तिमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।
‘वार्मअप’ श्रृंखलामा नेपालको यो पहिलो जित हो । यसअघि नेपालले स्कटल्यान्डविरुद्ध २७ रनको हार बेहोरेको थियो ।
विश्वकप ग्लोबल छनोटमा नेपालसहित १० राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । जसबाट शीर्ष चार टोलीले इङ्ल्यान्डमा हुने महिला ट्वान्टी २० विश्वकपमा स्थान बनाउनेछ ।
नेपालसँगै थाइल्यान्ड, स्कटल्यान्ड, नेदरल्यान्ड्स र जिम्बाव्वे समूह ‘बी’ तथा बंगलादेश, आयरल्यान्ड, नामिबिया, पपुवा न्युगिनी र अमेरिका समूह ‘ए’ मा छन् । समूह चरणको खेलपछि शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्सको खेलपछि शीर्ष चारमा रहने टोलीले विश्वकप खेल्नेछन् ।
नेपालले १८ जनवरीमा थाइल्यान्डसँग खेल्दै छनोटको सुरुवात गर्नेछ । यसैगरी, नेपालले २२ जनवरीमा नेदरल्यान्ड्स, २४ जनवरीमा जिम्बाब्वे र २६ जनवरीमा स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । जिम्बाब्वे र स्कटल्यान्ड नेपालका लागि नयाँ प्रतिस्पर्धी हुन् ।
