काठमाडौं । ‘एल क्लासिको’ भिडन्तमा रियाल मड्रिडलाई ३–२ ले हराउँदै बार्सिलोनाले स्पेनिस सुपर कपको उपाधि जितेको छ । बार्सिलोनाले यो उपाधि कीर्तिमानी १६औं पटक जितेको हो ।
बार्सिलोनाको जितमा राफिन्हाले दुई तथा रोबर्ट लेवान्डोस्कीले एक गोल गरे । रियालको लागि भिनिसियस जुनियर र गोन्जालो गार्सियाले एक गोल फर्काएका थिए ।
साउदी अरेबियाको जिद्दामा भएको खेलमा अग्रता बार्सिलोनाले नै बनायो । खेलको पहिलो हाफ २–२ को बराबरीमा टुंगिएको थियो । रोमाञ्चक खेलमा बार्सिलोनाले दोस्रो हाफमा विजयी गोल गरेको थियो ।
बार्सिलोनाले नयाँ वर्षको सुरुमै उपाधि जितेको छ । यो सँगै रियाल दबाबमा आएको छ । बार्सिलोना ला लिगामा पनि शीर्ष स्थानमा छ । बार्सिलोनाले चार अंकको अग्रता बनाएको छ ।
फर्मिन लोपेजको पासमा राफिन्हाले ३६औं मिनेटमा बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफको इन्जुरी समयमा थप तीन गोल निस्किदा पहिलो हाफ २–२ को बराबरीमा सम्पन्न भयो ।
भिनिसियस जुनियरले थपिएको २ मिनेटमा बराबरी गोल गरे । दुई मिनेटपछि नै लेवान्डोस्कीले फेरी बार्सिलोनालाई २–१ को अग्रता बनाए । पहिलो हाफको इन्जुरी छैटौं मिनेटमा गार्सियाले रियाललाई २–२ को बराबरीमा ल्याएका हुन् । खेलको ७३औं मिनेटमा डानी ओल्मोको पासमा राफिन्हाले विजयी गोल गरेका हुन् ।
खेलको इन्जुरी समयमा फ्राङ्की डि जोङले रातो कार्ड पाउँदा बार्सिलोना १० खेलाडीमा सिमित बनेको थियो ।
