काठमाडौं । नेपाली फुटबलमा भरत खवासका गोलहरू स्मृतिका पानाहरूमा मात्र सीमित हुने भएको छ । चाहे त्यो मुसलधारे वर्षाबीच जोर्डनविरूद्ध गरेको गोल भनौं या इस्ट टिमोरविरुद्ध गरेको ह्याट्रिक ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, जहाँ भरतले आफ्नो फुटबलको अन्तर्राष्ट्रिय पहिचान पाए । त्यही रंगशालाबाट उनले अन्तर्राष्ट्रिय करिअरको अन्तिम खेल खेल्दै छन् ।
नेपालले शनिबार र मंगलबार मैत्रीपूर्ण खेलका लागि दशरथ रंगशालामा बंगलादेशी टोलीको आतिथ्यता गर्दै छ । देशका लागि साढे १७ वर्ष योगदान गरेका भरतले मंगलबार बंगलादेशसँगको खेलमा राष्ट्रिय टोलीको जर्सी अन्तिम पटक लगाउँदै छन् ।
संन्यासको निर्णय लिनु खेलाडीका लागि जीवनकै सबैभन्दा गाह्रो क्षण हो । पछिल्लो डेढ वर्ष आफ्नो उपस्थितिले राष्ट्रिय टोलीमा उर्जा भरिरहेका भरत सही समय कुरिरहेका थिए । यसपालि मौका जुराएका छन । एन्फालाई बुट थन्क्याउने निर्णय सुनाइसके । प्रशिक्षकले पनि साथ दिएका छन ।
‘दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल नभएको दुई वर्ष भइसक्यो । लामो समयपछि रंगशालामा खेल हुने भएपछि यो नै सही समय हो जस्तो लाग्यो,’ भरतले सुनाए, ‘राष्ट्रिय टोलीमा युवा जोस भएको खेलाडी चाहिन्छ । हाम्रो त विस्तारै उमेर ढल्कँदै छ, शारीरिक अवस्था पनि ख्याल गर्नुपर्छ ।’

मोरङको सुन्दरहरैंचा नगरपालिकाका भरत एन्फा एकेडेमीको दोस्रो ब्याचका खेलाडी हुन् । यु-१० मा छनोट हुँदै भरतले एकेडेमीमा ८ वर्ष बिताए ।
पछिल्ला केही वर्ष भरत ह्याम्स्ट्रिङ इन्जुरीबाट सताइए । यही दौरान भरतले संन्यासको मनसाय बनाएका थिए । तर, उनले डेढ वर्षअघि मात्र फिफा विश्वकपको एसियाली छनोटअन्तर्गत दोस्रो चरणको खेलमा राष्ट्रिय टोलीबाट प्रेरणादायी पुनरागमन जनाए । त्यसयता टोलीमा ‘इन-आउट’ भइरहेका भरतले मैदानमा समय पाइरहेका थिएनन् ।
‘व्यावसायिक खेलाडीको निश्चित योजना हुन्छ, यतिसम्म खेल्छु भन्ने । सबैले आफ्नो करिअरको क्याल्कुलेट गर्ने गर्छ । मैले पनि क्याल्कुलेट गरेको थिएँ,’ भरत सुनाउँछन्, ‘म दुई वर्षअघि नै संन्यास लिने मनसायमा पुगिसकेको थिएँ । तर, स्वास्थ्यले साथ दिँदा थप दुई वर्ष खेलेको हुँ । अब भने सही समय आएको छ ।’
मोरङको सुन्दरहरैंचा नगरपालिकाका भरत एन्फा एकेडेमीको दोस्रो ब्याचका खेलाडी हुन् । यु-१० मा छनोट हुँदै भरतले एकेडेमीमा ८ वर्ष बिताए । भरतसँगै ७८ जना प्रतिभावान बच्चालाई तीन ठाउँमा राखिएको थियो । काठमाडौंको ज्ञानोदय स्कुल, धरान र पोखरामा गरी तीन ठाउँमा समान २६ खेलाडीलाई राखिएको थियो । भरतले पोखरामा एक वर्ष बिताए । त्यसपछि सात वर्ष काठमाडौंमा बसे । त्यतिबेला तीनवटै एकेडेमीको समिश्रणबाट उमेर समूहको अन्तर्राष्ट्रिय प्रतियोगितालाई खेलाडी छानिन्थ्यो । भरतले हरेक उमेर समूहमा देशको प्रतिनिधित्व गरे ।
भरत, विराज महर्जन, शिशिर अधिकारीसम्मिलित ब्याचमा पछि रविन श्रेष्ठ, किरण चेम्जोङ, लक्ष्मण रूचाल, अनिल लामा लगायतका खेलाडी विभिन्न उमेर समूहमा जोडिए ।
एन्फा एकेडेमीबाट रिलिज भएपछि २०६३ सालमा भरतले संकटा क्लबबाट सहिद स्मारक ‘ए’ डिभिजन लिग खेले । संकटापछि एक वर्ष फ्रेन्ड्स क्लबमा बिताए । त्यसपछि दुई वर्ष लिग नै भएन ।

आफ्ना साथीहरू चेतन घिमिरे, रविन श्रेष्ठ, रोशन कार्की सबै पुलिस टिममा गइसकेका थिए । लिग नभएपछि भरत पनि फ्रेन्ड्सबाट पुलिसमै पुगे । २०६६/६७, ०६८ को लिगमा विराटकृष्ण श्रेष्ठको नेतृत्वमा रहेको पुलिस क्लब च्याम्पियन बन्यो । भरत पनि टोलीका सदस्य थिए । त्यसपछि पुलिसले २०६८ सालमै राष्ट्रिय लिगको उपाधि जित्यो ।
भरतले ०७० सालको सुरुआती वर्षहरूमा राष्ट्रिय टोलीमा नभई नहुने खेलाडीका रूपमा आफूलाई स्थापित गरेका थिए ।
यही बेला भरत पुलिसमा असईको परीक्षा दिइरहेका थिए । कारणवश नाम निकाल्न सकेनन । पछि आर्मीको सेकेन्ड लेफ्टिनेन्टमा नाम निस्कियो । त्यसपछि उनी त्रिभुवन आर्मी क्लबसँग आबद्ध भए । आर्मीमा भने भरतले लिग जित्न सकेका छैनन् ।
भरत त्यस्ता खेलाडी हुन्, जसले अन्तर्राष्ट्रिय डेब्यु खेलमै गोल गरेका थिए । सन् २००८, पोखरामा पाकिस्तानविरूद्धको दुई मैत्रीपूर्ण खेलमा भरतले डेब्युको अवसर पाएका थिए । दोस्रो खेलमा त्यतिबेलाका स्टार खेलाडी प्रदीप महर्जनलाई ७५औं मिनेटमा प्रतिस्थापन गर्दै भरतले पहिलो क्याप जितेका थिए ।
एक गोलले पछि परेको अवस्थामा भरतले मैदान छिरेको दोस्रो मिनेटमै हेड गोल गर्दै नेपाललाई बराबरीमा ल्याएका थिए । पछि पोखराकै स्थानीय अनिल गुरुङले निर्धारित समय सकिन ५ मिनेट बाँकी छँदा निर्णायक गोल गरेपछि नेपालले खेल २-१ ले जितेको थियो । पहिलो खेलमा भने नेपाल २-१ ले पराजित भएको थियो ।
सन २०१३ मा काठमाडौंमै भएको साफ च्याम्पियनसिपको पहिलो खेल कस्ले पो बिर्सेको होला र ? बंगलादेशविरुद्ध २-० को जितमा भरतको त्यो गोल र फ्रन्टरोल सेलिब्रेसन । त्यो फ्रन्टरोल सेलिब्रेसन वास्तवमै हेर्नलायक थियो । यो सेलिब्रेसन पछाडि एउटा रोचक कहानी छ ।

भरत सुनाउँछन्, ‘साफ च्याम्पियनसिप नजिकिँदै गर्दा म खरिपाटी, भक्तपुरमा क्याडेट प्रशिक्षण गरिरहेको थिएँ । बन्द प्रशिक्षणमा रहेको राष्ट्रिय टोली च्याम्पियनसिपको तयारीस्वरूप बहराइन र कुवेत गएको थियो । कुवेतबाट फर्किएपछि मैले प्रतियोगिता हुन तीन दिनअघि मात्र टोलीसँग जोडिएको थिएँ । क्याडेट प्रशिक्षण चलिरहे पनि मलाई आर्मीले ‘प्रिभिलेज’ दियो । मुख्य प्रशिक्षक ज्याक स्टेफानोस्कीले पनि विश्वास गरेर सेटमै खेलाउनुभयो । गोल गरेँ भने फ्रन्टरोल सेलिब्रेसन गर्छु भनेर खरिपाटीका सरहरूलाई वाचा गरेको थिएँ । पहिलो खेलमै यो सेलिब्रेसन जुर्यो । म्यान अफ दी म्याच पनि भएँ ।’
सेमिफाइनलमा अफगानिस्तानसँगको त्यो नमीठो हारले भरतको अझै पनि उत्तिकै मन दुख्छ । भन्छन्, ‘हामीले समूह चरणमा भारतलाई हराइसकेका थियौं । सबैमा कन्फिडेन्स थियो । सायद सेमिफाइनल जितेको भए फाइनलमा भारतलाई फेरि एकपटक निराश पार्न सक्थ्यौं । दुई वर्षअघि पनि हामीले अफगानिस्तानसँगै १०९ मिनेटमा गोल खाएका थियौं । बदला लिने पनि मौका थियो ।’
भरतले साढे १७ वर्षमा ६६ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । ७ अन्तर्राष्ट्रिय खेलमा कप्तानको आर्मब्यान्ड पनि लगाए ।
भरतले ०७० सालको सुरुआती वर्षहरूमा राष्ट्रिय टोलीमा नभई नहुने खेलाडीका रूपमा आफूलाई स्थापित गरेका थिए । सोलिडारिटी कपको कुरा हो, प्रतियोगिता सुरु हुनुभन्दा ३० दिनअघि प्रशिक्षणका दौरान भरतको हात भाँच्चियो । जसका कारण आठ टाँका लगाउनुपर्ने भयो । देशका लागि खेल्न नपाउने डरले भरतले हातमा आधा मात्र प्लास्टर लगाए ।
त्यतिबेला नेपालका मुख्य प्रशिक्षक थिए, जापानी ग्योटोकु कोजी । कोजीले पनि बन्द प्रशिक्षणमा १५-२० दिन अनुपस्थित भएका भरतमाथि विश्वास राखे र अन्तिम टोलीमा समावेश गरे । ‘मलेसियामा म पहिलो खेलमा बेन्चमा सीमित रहेँ । ब्रुनाईसँगको दोस्रो खेलदेखि भने पहिलो रोजाइमै मौका पाएँ । ब्रुनाईविरुद्ध गोल पनि हाने,’ गर्वका साथ भरत भन्छन्, ‘मकाउलाई हराउँदै हामीले सोलिडारिटी कपको उपाधि जित्यौं । त्यतिबेला मैले सुजल (श्रेष्ठ) भाइको गोलमा असिस्ट गर्न पनि पाएँ । यो मेरो अन्तर्राष्ट्रिय करिअरकै सबैभन्दा यादगार क्षणमध्ये एक हो ।’

पटक/पटक स्वास्थ्यमा समस्या आइरहने, कहिले हात भाँच्चिने त कहिले खुट्टा फ्याक्चर हुने जस्ता समस्याले भरतलाई यति लामो करिअरमा सधैं सताइरह्यो । इन्जुरीका बारेमा कुरा निस्कँदा उनलाई पहिलो अन्तर्राष्ट्रिय टुर याद आइहाल्छ । के भएको थियो ? ‘हामी थाइल्यान्ड, त्यसपछि कम्बोडिया जाँदै थियौं । त्यतिबेला पनि जन्डिस भएर बीच बाटोबाटै फर्केर आउनुपरेको थियो,’ हाँस्दै भरत सुनाउँछन् ।
यी सबै इन्जुरी र स्वास्थ्य अवस्थाबीच भरतले साढे १७ वर्षमा ६६ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । ७ अन्तर्राष्ट्रिय खेलमा कप्तानको आर्मब्यान्ड पनि लगाए ।
भरतको संन्यास नेपाली फुटबलमा चर्चाको विषय बनिरहेको छ, यतिबेला नेपालको यु-२३ टोली ताजकिस्तानमा एसियन कप पुग्ने चुनौती पस्किरहेको छ । भरत एएफसी यु-२३ एसियन कप छनोटमा नेपालका लागि पहिलो गोल गर्ने खेलाडी हुन् । उनले यो उपलब्धि सन् २०१२ जुनमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बंगलादेशविरुद्ध नै हासिल गरेका थिए । कृष्ण थापाको नेतृत्वमा रहेको उक्त टोलीका कप्तान भरत नै थिए ।
संयोग नै मान्नुपर्छ । भरतको लिगेसीमा दशरथ रंगशालाले ठूलो भूमिका खेलेको छ । जोर्डनविरुद्धको गोल, इस्ट टिमोरविरुद्धको ह्याट्रिक, साफमा बंगलादेशविरुद्धको फ्रन्टरोल सेलिब्रेसन अनि यु-२३ को त्यो पहिलो गोल, यी सबै ‘मोमेन्ट’ उनले रंगशालामा घरेलु समर्थकमाझ पाएका हुन् ।
‘मैदानमा प्रशिक्षक सरले कति समय दिनुहुन्छ, थाहा छैन । कुन पोजिसन खेल्छु पनि थाहा छैन । मलाई यसबारे कुनै गुनासो छैन । मूल कुरा टिमले जित्नुपर्यो,’ भरतले भने ।

मंगलबार भरतले बंगलादेशविरुद्ध नै अन्तर्राष्ट्रिय फुटबलको अन्तिम खेल खेल्दै छन् । यसो हेर्दा लाग्छ, यो क्षण भरतलाई ‘डेस्टिनी’ले नै जुराएको हो । मंगलबार पनि भरतलाई गोलको भोक हुनेछ । तर, उनी कुन पोजिसनमा खेल्छन् अनि कति मिनेट खेल्न पाउने छन्, त्यो अहिले थाहा छैन । पछिल्लो पटक भने भरत ‘होल्डिङ’ मिडफिल्डरका रूपमा मैदानमा प्रस्तुत भएका थिए ।
‘मैदानमा प्रशिक्षक सरले कति समय दिनुहुन्छ, थाहा छैन । कुन पोजिसन खेल्छु पनि थाहा छैन । मलाई यसबारे कुनै गुनासो छैन । मूल कुरा टिमले जित्नुपर्यो,’ भरतले भने ।
एन्फा एकेडेमीदेखि उमेर समूह र राष्ट्रिय टोलीका पूर्वसहकर्मी विराज महर्जनले साढे चार वर्षअघि दशरथ रंगशालामै बंगलादेशविरुद्ध खेल्दा नै अन्तिम खेल खेलेका थिए । उनले सम्झनलायक सम्मान र बिदाइ पाएका थिए । भरतलाई पनि रंशगालामा भरिभराउ समर्थकमाझ त्यस्तै बिदाइ लिन मन छ ।
‘भर्खरै फुटबल खेलेजस्तो लाग्छ । साढे १७ वर्ष भइसकेछ । अब रंगशालामा भरिभराउ समर्थकमाझ बिदाइको कल्पना गरिरहेछु । घरेलु भूमिमा रिटायरमेन्ट लिन पाउनु नै ठूलो गर्वको कुरा हो,’ भरत भावुक हुन्छन्, ‘नेपाली फुटबलमा धेरै खेलाडी ६-७ वर्ष खेलेर आफ्नो जीवन सुनिश्चित गर्न विदेश जाने चलन छ । अहिले अर्काको देशमा काम गरिरहेका छन् । फुटबलमा योगदान गरेवापत उनीहरूले रिटायरमेन्ट लिन पाएनन् । मेरा लागि त यो एउटा सौभाग्यको क्षण हो ।’