काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ट्वान्टी-२० विश्वकपको ट्रफी नेपाल आउनु देशका लागि गौरवपूर्ण क्षण भएको बताउँदै यस ऐतिहासिक अवसरले नेपाल विश्व क्रिकेटको केन्द्रतर्फ अग्रसर भइरहेको सन्देश विश्वभर फैलाएको धारणा व्यक्त गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा सोमाबार आयोजित विश्वकप ट्रफी सार्वजनिकीकरण समारोहलाई सम्बोधन गर्दै पौडेलले सो धारणा व्यक्त गरेका हुन् ।
‘नेपाल आज खेलप्रेमी राष्ट्रको रूपमा सशक्त तवरले स्थापित हुँदै गएको छ, क्रिकेटले देशलाई एकतामा बाँध्ने महत्वपूर्ण भूमिका निर्वाह गरेको छ, यसको व्यावसायिक विकाससँगै खेल क्षेत्रमार्फत नेपाली युवाहरूको उज्ज्वल भविष्य निर्माण हुने आधारसमेत सुदृढ बन्दै गएको छ,’ पौडेलले भने ।
आवश्यक संरचना, अवसर र सम्भावनाहरू क्रमशः विकास हुँदै जानु नेपाली खेलकुद क्षेत्रका लागि सकारात्मक संकेत भएको पौडेलको भनाई थियो ।

त्यस्तै पौडेलले नेपालमा विश्वकप ट्रफी ल्याई नेपाली क्रिकेट र जनताको उत्साह एवम् आत्मविश्वास अभिवृद्धि गरेको अन्तर्राष्ट्रिय क्रिकेट परिषद्प्रति धन्यवाद दिए ।
‘नेपालको क्रिकेटले अझ उचाइ हासिल गरोस, हाम्रा खेलाडीले विश्वमञ्चमा देशको गौरव अझ उच्च बनाउँदै लैजान सफल होउन् भन्ने शुभकामना व्यक्त गर्दछु,’ पौडेलले अभिव्यक्ति दिए ।
यसैगरी राष्ट्रपति पौडेलले नेपालमा आयोजना हुन लागेको महिला विश्वकप ग्लोबल छनोट तथा भारत र श्रीलंकामा आयोजना हुन लागेको आसन्न ट्वान्टी-२० विश्वकपमा सहभागी हुने महिला तथा पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामना प्रदान गरे ।
