काठमाडौं । एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल)को दोस्रो संस्करणका लागि मधेश युनाइटेडले राष्ट्रिय महिला भलिबल टोलीकी स्पाइकर निरुता ठगुन्नालाई पुनः मार्की खेलाडीमा निरन्तरता दिएको छ ।
गत संस्करण टोलीमा आबद्ध खेलाडीमध्ये एकजनालाई रिटेन गर्ने नियम अनुसार मधेशले निरुतासँगको सहकार्यलाई निरन्तरता दिएको हो ।
लगातार दोस्रो सिजन मधेश युनाइटेडसँग खेल्ने अवसर पाउँदा निरुताले खुसी व्यक्त गर्दै उपाधिका लागि राम्रो प्रदर्शन गर्न तयार रहेको बताइन् ।
‘फेरि एकपटक मधेशको नेतृत्व गर्ने अवसर पाएको छु । अघिल्लो संस्करण सोचेअनुरुपको नतिजा ल्याउन सकेनौं । यसपाली मधेशलाई च्याम्पियन बनाउन आफ्नो उत्कृष्ट प्रदर्शन दिनेछु,’ निरुताले भनिन् ।
मधेशले मुख्य प्रशिक्षकमा कोपिला उप्रेतीलाई यसअघि नै नियुक्त गरिसकेको छ ।
इडब्लुभिएलको दोस्रो संस्करण यही भदौं २० देखि २८ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्डहलमा हुनेछ ।