काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० महिला च्याम्पियनसिपको आफ्नो चौथो खेलमा नेपालले बिहीबार श्रीलंकासँग खेल्दैछ । बंगलादेशको राजधानी ढाकास्थित ‘बसुन्धरा स्पोर्टस ग्राउन्ड’मा खेल नेपाली समयअनुसार दिउँसो २ः४५ बजे हुनेछ ।
श्रीलंकाविरुद्ध मैदानमा उत्रिरहँदा नेपाली टोली अर्को फराकिलो जितहो लक्ष्यमा हुनेछ । मंगलबार सम्पन्न आफ्नो तेस्रो खेलमा नेपालले श्रीलंकालाई ७–० ले पराजित गरेको थियो । श्रीलंका भने पहिलो जितको लक्ष्यमा छ ।
समूह चरणमा सहभागी चार टोलीले समान तीन खेल खेल्दा घरेलु टोली बंगलादेश स्पष्ट ९ अंकका साथ शीर्ष स्थानमा छ । नेपाल एक हार र दुई जितसहित ६ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ ।
बंगलादेशले नेपालभन्दा मात्र एक गोल बढी गरेको छ । डबल राउन्ड रोविनको प्रतिस्पर्धापछि समूहको शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्ने भएकाले बंगलादेशसँग खेल्नुअघि नेपाल कम्तिमा पनि एक गोलले अगाडि रहन चाहन्छ । त्यसैले नेपाललाई श्रीलंकासँग हेलचेक्राई स्विकार्य हुनेछैन । उता नेपालसँग हार वा बराबरी भएको खण्डमा श्रीलंकाको उपाधि सम्भावना समाप्त हुनेछ ।
नेपाल र श्रीलंकाको खेलपछि तेस्रो स्थानको भुटान र बंगलादेशले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछ । बंगलादेशसँग हारे भुटानको पनि उपाधि सम्भावना समाप्त हुनेछ । यो खेल साँझ ६ः४५ बजे हुनेछ ।