काठमाडौं । अन्तिम खेलमा भिसा नभएका दुई विदेशी खेलाडी मैदान उतार्नुको सजाय चर्चित ए डिभिजन क्लब थ्री स्टारले पाइसकेको छ । नियम विपरीत खेलाडी खेलाएको अभियोगमा नेपाली फुटबलको कुनैबेलाको निर्विवाद महारथी लिग सकिएको दुई वर्षपछि दोस्रो डिभिजनमा घटुवा भएको हो ।
थ्री स्टारको गल्तीमा फाइदा उठाउँदै लिग सकिँदा अंकतालिकामा तल भए पनि दुई वर्षपछि सशस्त्र प्रहरी बलको टोली एपिएफ एफसीको शीर्ष डिभिजनको हैसियत सुरक्षित भएको छ । त्यहीअनुसार टोलीले ‘ए’ डिभिजनका क्लबहरूले मात्र खेल्ने १६ वर्षमुनिको लिग खेलिरहेको छ । थ्री स्टारको भने यहींबाट शीर्ष डिभिजनको फुटबलसँग सम्बन्ध टुट्दै छ ।
नेपाली फुटबलको सर्वोच्च निकाय एन्फाले अघिल्लो महिना सहभागिताका लागि शीर्ष डिभिजनका १४ क्लबलाई पत्राचार गर्दा एपिएफको नाम थिएन । किनकि त्यतिबेलासम्म अपिल कमिटीले थ्री स्टारलाई दोस्रो डिभिजनमा घटुवा गर्ने निर्णय गरेको थिएन । अनि २०८० जेठमा सकिएको लिगको अंकतालिकामा थ्री स्टारले हैसियत जोगाएको थियो । एपिएफ भने खुमलटार युथ क्लबसँगै रेलिगेसनमा परेको थियो ।
थ्री स्टारले जावलाखेल युवा क्लबविरुद्ध १–० को जित हासिल गरेको अन्तिम खेलमा भिसा नभएका दुई विदेशी खेलाएको प्रमाण एपिएफले जुटायो । त्यही आधारमा उही बेला टोलीले एन्फामा उजुरी गर्यो । त्यो उजुरीको सुनुवाइ भएको भए थ्री स्टारले अन्तिम खेलमा हासिल गरेको जितवापतको ३ अंक खोसिन्थ्यो । यसो हुँदा एपिएफ अंकातालिकामा थ्री स्टारलाई उछिन्दै माथि उक्लिन्थ्यो र पाटने टोली रेलिगेसन क्षेत्रमा झथ्र्यो ।

दुई वर्षपछि एन्फाको अपिल कमिटीले एपिएफको पक्षमा निर्णय गर्यो । अनि स्वाभाविक रूपमा एन्फाले थ्री स्टारको ठाउँमा यु–१६ लिगमा एपिएफलाई निम्त्याएको हो । थ्री स्टार र त्यो क्लबको विरासतमा गम्भीर धक्का लाग्यो । रगतमा फुटबल बग्ने पाटने भावनामा गहिरो आघात पर्यो । २०६० को दशकमा नेपाली फुटबलमाथि जगजगी रहँदा देशैभर कमाएका समर्थकको मन नराम्ररी कुँडियो । एक हिसाबमा भन्दा नेपाली फुटबलको पुरुष पाटोलाई मज्जासँग भरथेग गरेको एउटा अभियानकै ओराली यात्रा सुरु भयो ।
उसो त नेपाली पुरुष फुटबलभित्र उकाली यात्रामा के नै देखिन्छ र ? भन्ने जायज प्रश्न पनि उठ्न सक्छ । हो, पछिल्ला केही वर्षहरूले नेपालको पुरुष फुटबलमा आसलाग्दो केही देखाउन नसकेको साँचो तथ्य हो ।
उसो त नेपाली पुरुष फुटबलभित्र उकाली यात्रामा के नै देखिन्छ र ? भन्ने जायज प्रश्न पनि उठ्न सक्छ । हो, पछिल्ला केही वर्षहरूले नेपालको पुरुष फुटबलमा आसलाग्दो केही देखाउन नसकेको साँचो तथ्य हो । देशको फुटबललाई सामुदायिक तर्फबाट थ्री स्टारसँगै मज्जाले भरथेग गरेको मनाङ मर्स्याङदी क्लबको हालत पनि उस्तै छ । शीर्ष डिभिजनको औपचारिक हैसियत भए पनि मनाङ अचेल ‘कोमा’मा छ । आधुनिक मानिने नेपाली फुटबलमा सबभन्दा ठूलो महारथीसँग अचेल सिनियर टिमसमेत छैन ।
तर यहाँ प्रसङ्ग समग्र नेपाली पुरुष फुटबलको होइन । विषय थ्री स्टारको हो । थ्री स्टारलाई रेलिगेसनको भारी बोकाउने एन्फा अपिल कमिटीको निर्णयको हो । दुई वर्ष झुलाएर गरिएको यो निर्णय र नखुलेका वा नखुलाइएका या छोप्न खोजिएका विषयहरूको हो ।
पक्कै पनि भिसा नभएका खेलाडी खेलाउनु थ्री स्टारको गल्ती थियो । जसको सजाय उसले हैसियत गुमाएर चुकाउनुपर्यो । तर आफैंले बनाएको नियमविपरीत भिसा नै नभएका खेलाडीलाई खेल्न दिने एन्फाविरुद्ध चाहिँ अपिल कमिटी चुपचाप छ । एन्फाका अन्य अनुशासन, आचारसंहितालगायतका कमिटीहरू यस विषयमा किन चुप भन्ने प्रश्न थ्री स्टार समर्थकले खोजिरहेका छन् ।

पछिल्लो समय नेपाली फुटबलमा पनि खेलाडी दर्ताका लागि फिफा कनेक्ट नामको सफ्टवेयर प्रयोग गरिन्छ । जसमा खेलाडी दर्ता गराउने काम पहिला सम्बन्धित क्लबले गर्छ । अनि सबै नियम कानुन भिडाएर सम्बन्धित खेलाडी खेल्न योग्य भए नभएको निक्र्योल गरेपछि त्यसलाई प्रमाणित गर्ने काम एन्फाले गर्नुपर्छ । एन्फाले प्रमाणित गरेपछि सफ्टवेयरमा कुनै पनि टिमका खेलाडीको सूची अपडेट हुन्छ । र, त्यही आधारमा खेलाडी मैदान उत्रन पाउँछन् ।
यो एन्फाकै नियम हो । कुनै क्लब वा खेलाडीले थोपरेको कुरा होइन । अन्तर्राष्ट्रिय चलनलाई एन्फाले पनि अनुशरण गरेको हो । जहाँ प्रत्येक खेलाडीको पूर्व क्लब, उसले सामना गरेका कार्डहरू, उसको उपस्थितिको वैधानिकतालगायतका सबैथोक त्यो सफ्टवेयरमा अद्यावधिक हुनुपर्छ । र, त्यसको नियमन तथा लागू गर्ने सम्पूर्ण अधिकार एन्फामै निहित हुन्छ ।
अवैधानिक खेलाडी खेलाएवापत टिमले कारबाही भोग्नुपर्छ भने अवैधानिक खेलाडीलाई प्रमाणित गरेर खेल्न दिने एन्फा कारबाहीको भागीदार बन्नुपर्दैन ? कि थ्री स्टारलाई जानाजान गल्ती गर्न लगाएर पछि रेलिगेसनमा पार्ने नियत राख्दै त्यस्तो बल्छी थापिएको हो ?
यसकारण एन्फालाई थ्री स्टारले अवैधानिक खेलाडी दर्ता गराए पनि पहिल्यै त्यसको जानकारी भइसकेको हुन्छ । त्यही जानकारीका आधारमा जावलाखेलभन्दा अगाडि खुमलटारविरुद्धको खेलमा थ्री स्टारका ती दुई खेलाडीलाई खेल्न दिइएको थिएन । तर भिसा नभएका कारण भनेर अघिल्लो खेलमा नखेलाइएका खेलाडीलाई अन्तिम खेलमा चाहिँ भिसा नभए पनि किन खेल्न दिएको ? थाहा भइसकेको अवस्थामा एन्फाले नै अवैधानिक खेलाडी किन प्रमाणित गर्यो ? अवैधानिक खेलाडी खेलाएवापत टिमले कारबाही भोग्नुपर्छ भने अवैधानिक खेलाडीलाई प्रमाणित गरेर खेल्न दिने एन्फा कारबाहीको भागीदार बन्नुपर्दैन ? कि थ्री स्टारलाई जानाजान गल्ती गर्न लगाएर पछि रेलिगेसनमा पार्ने नियत राख्दै त्यस्तो बल्छी थापिएको हो ?
तत्कालीन अवस्थामा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङका सल्लाहकार तथा फिफा कनेक्ट अफिसरको भूमिकामा रहेका अमित खत्रीको प्रतिक्रियाले नेपाली फुटबलको सर्वोच्च निकायको नियतमा खोट देखिन्छ । थ्री स्टार रेलिगेसनमा परेपछि खत्रीले नेतृत्वको दबाबका कारण आफूले जबरजस्ती अवैधानिक खेलाडीलाई ‘अप्रुभ’ गरेको प्रतिक्रिया दिएका थिए ।

‘मैले मिल्दैन भनेको हो । त्यही आधारमा अघिल्लो खेलमा उनीहरूलाई खेल्न नदिएको हो । तर अन्तिम खेलमा नेतृत्वले केही हुँदैन, केही भइहाले परेको हामी बेहोर्छौ भनेर दबाब दिएपछि मैले अप्रुभ गरेको हुँ,’ खत्रीको यो भनाइले नियमकानुन र विधिमाथि एन्फाको विश्वास नरहेको प्रस्ट हुन्छ । अझ खत्रीको त्यस्तो गम्भीर आरोपमाथि एन्फा नेतृत्व ‘तैं चुप मैं चुप’ हुनुले विषय थप पेचिलो देखिन्छ । किन पनि भने खत्री स्वयं त्यो बेला अध्यक्षको सल्लाहकारको भूमिकामा थिए । अनि, महासचिव किरण राईको सहायकका रूपमा थ्री स्टारकै तत्कालीन अध्यक्ष अरुणमान जोशी एन्फा सहायक महासचिवको जिम्मेवारीमा थिए ।
खत्री गलत थिए भने एन्फा नेतृत्वले उनको भनाइको खण्डन गर्न सक्नुपर्थ्यो । र, अवैधानिक खेलाडी दर्ता गराएर पदीय जिम्मेवारीको दुरुपयोग गरेवापत खत्रीलाई नै कारबाही गर्नुपर्थ्यो । थ्री स्टारसँगै एन्फाको संयन्त्रको नियत खराब रहेको प्रमाणित भइसकेपछि त्यसलाई पनि जिम्मेवार बनाउनुपर्थ्यो । तर, यहाँ सबै ‘तैं चुप मैं चुप’ छन् । एउटा क्लबले चाहिँ गल्तीको सजाय आफ्नो ५० वर्षको इतिहास नै गुमाएर चुकाउनुपर्ने अनि त्यो गल्तीमा उत्तिकै वा त्योभन्दा बढी भूमिका रहनेको चाहिँ खोजीसमेत नहुने ? यो कस्तो विधि ? कस्तो नियम ?
एन्फामाथि अर्को झन गम्भीर प्रश्न पनि उठ्छ, जानाजान अवैधानिक खेलाडी खेल्न दिएर ‘म्याच म्यानुपुलेसन’ गर्न खोजिएको त होइन ? र, सर्वोच्च निकाय नै यति गैरजिम्मेवार छ । विधि विधानमाथि उसको कुनै विश्वास छैन भने नेपाली फुटबलको भविष्य के होला ?
एन्फाबाट भएको गल्तीको दोषी घोषणा गरेर कारबाही नभएसम्म वा नेपाली फुटबलको सर्वोच्च निकायले आफ्नो आधिकारिक धारणा नराखेसम्म खत्रीले दिएको प्रतिक्रियालाई नै आधिकारिक मान्नुपर्छ । यदि त्यसो हो भने एन्फामाथि अर्को झन गम्भीर प्रश्न पनि उठ्छ, जानाजान अवैधानिक खेलाडी खेल्न दिएर ‘म्याच म्यानुपुलेसन’ गर्न खोजिएको त होइन ? र, सर्वोच्च निकाय नै यति गैरजिम्मेवार छ । विधि विधानमाथि उसको कुनै विश्वास छैन भने नेपाली फुटबलको भविष्य के होला ?

थ्री स्टारले आफू रेलिगेसनमा परेको प्रतिक्रियास्वरुप कानुनी उपचार खोजिरहेको होला । फुटबलमा बाहिरबाट खोजिने कानुनी उपचारले खासै रोग निको पार्दैन भन्ने स्वयं थ्री स्टारका पदाधिकारीलाई पनि जानकारी छ । यसबाहेक क्लबको प्रतिक्रिया खासै आक्रामक देखिँदैन । जसका कारण एन्फा र अन्य नियमनकारी निकायहरूले कानमा तेल हालेर बसेका हुन सक्छन् । तर नेपाली फुटबलको दीर्घकालीन भविष्य हेर्ने हो भने स्वयं एन्फाको यो गैरजिम्मेवारी र विधि विधानमाथिको बेवास्था निकै गम्भीर विषय हो । यसलाई हल्का रूपमा लिएर नेपाली फुटबलको उज्ज्वल भविष्य कल्पना गर्न सकिन्न ।
त्यसकारण एन्फाकै आचारसंहिता कमिटीले यसमाथि अनुसन्धान थाल्नुपर्छ । त्यतिमात्र होइन, राष्ट्रिय खेलकुद परिषद वा खेलकुद मन्त्रालयले पनि एउटा निष्पक्ष आयोग बनाएर यसको सही छानबिन गर्नुपर्छ । यति गम्भीर खेलकुदीय अपराधमा दण्डहीनता हुन दिनुहुन्न । गल्ती गर्ने सबै सजायको समान भागीदार बन्छन्, कानुन सबैका लागि समान हो भन्ने विश्वास स्थापना गर्नुपर्छ ।