काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० महिला च्याम्पियनसिपमा नेपालले श्रीलंकाविरुद्ध पहिलो हाफमा चार गोलको अग्रता लिएको छ ।
बिहीबार बंगलादेशको राजधानी ढाकास्थित ‘बसुन्धरा स्पोर्टस ग्राउन्ड’ मा जारी प्रतियोगिताको सातौं खेलमा नेपालका लागि पूर्णिमा राई, कुसुम खतिवडा, सरीता नाथले ‘स्कोरसीट’मा आफ्नो नाम लेखाएका छन् । वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेकी फरवार्ड कुसुमले दुई गोल गरेकी छन् ।
खेलको १५औं मिनेटमा स्ट्राइकर पूर्णिमाले नेपाललाई अग्रतामा ल्याइन् । राइट साइडबाट अट्याकिङ मिडफिल्डर सेनु परियारको कटब्याकलाई विपक्षी रक्षापङ्क्तिले क्लियर गर्न नसक्दा पूर्णिमाले त्यसको फाइदा उठाएकी हुन् । सुरुमा पूर्णिमाको हेडर क्रसबारमा लागेर फर्किएको थियो । दोस्रो प्रयासमा उनी सफल भइन् ।
३५औं मिनेटमा कुसुमको गोलमा नेपालले अग्रतालाई दोब्बर बनायो । स्ट्राइकर मीनाले दोस्रो बारमा प्रहार गरेको बल विपक्षी रक्षकसँग अल्झिँदै कुसुमको खुट्टासम्म पुगेको थियो । प्राप्त अवसरमा कुसुमले कुनै पनि गल्ती गरिनन् ।
निर्धारित हाफ सकिन दुई मिनेट बाँकी रहेको अवस्थामा नेपालले तेस्रो गोल गर्यो । अघिल्लो खेलमा फ्रिकिक गोल गरेकी सरीताले यसपालि पनि फ्रिकिक अवसरलाई सदुपयोग गरिन् । करिब २५ यार्ड परबाट सरीताले गरेको प्रहारलाई गोलकिपर थारुसिका डोडामगोजेले राम्ररी 'जज' गर्न सकिनन् । यसअघि सेनुलाई विपक्षी खेलाडी कुभेथा थायापरणले फउल गरेपछि नेपालले सेटपीस अवसर पाएको थियो ।
दुई मिनेट पनि बित्न नपाउँदै कुसुमले व्यक्तिगत दोस्रो गोल गरिन् । बक्स बाहिरबाट कुसुमले गरेको फितलो प्रहार विपक्षी रक्षक गगानी सेल्लाप्परुपेगेको खुट्टामा लाग्दा बलले जाली चुमेको थियो ।
गलबार सम्पन्न आफ्नो तेस्रो खेलमा नेपालले श्रीलंकालाई ७-० ले पराजित गरेको थियो ।
नेपाल बिहीबार अर्को फराकिलो जितको लक्ष्यमा छ ।