मंसिर ६, २०८१ बिहीबार | १३:१८:५८
भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालावन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग चितवनलाई ब्लु स्टारको साथ पुष्पसदन विजयी एनआरटीले सातदोबाटोलाई हरायो भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालावन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग चितवनलाई ब्लु स्टारको साथ पुष्पसदन विजयी एनआरटीले सातदोबाटोलाई हरायो

अलविदा प्रिय ‘र’ ! सधै सम्झिइरहन्छौं

काठमाडौं । पत्रकारिता आफैमा एउटा दुःखी पेशा । झट्ट हेर्दा ग्ल्यामर, पहुँच अनि जीवनशैलीमा पत्रकारिता पेशा संवृद्ध देखिन्छ । निक्कै लोभलाग्दो । यसभित्रका यथार्थ एउटा पत्रकारले मात्र भोगेको हुन्छ । उसैले मात्र अनुभूत गर्न सक्छ । तर पत्रकारिता आफैमा जीवनयापन सहज बनाउनका लागि रोजिने एउटा पेशामात्र होइन । यो त समाज र देशप्रति, अझ सम्पूर्ण मानव जातीप्रतिको एउटा ठूलो जिम्मेवारी हो । कम्तिमा पत्रकारितालाई लगाब बनाउनेहरुले यसलाई अनुभूत गर्न सक्छन् । त्यसैले त एउटा पत्रकार तमाम अप्ठेराका बावजुद समाजलाई फुलको बाटो हिडाउने अभियानमा आफू काँडाको बाटोमा मुस्कुराउँदै हिड्ने साहस गर्दछ । मानौ की उ फुलै फुलको सुकोमल बाटोमा पाइला चालिरहेको छ ।

आर्थिक र भौतिक असुरक्षाको चिन्तालाई बेवास्था गर्दै निस्फिक्री भएर सञ्चारकर्ममा डटिरहँदा पेशागत मर्यादाले धेरैजसो अवस्थामा एउटा पत्रकारलाई किंकर्तव्यविमुढ बनाइरहन्छ । लेख्नका लागि औला चल्नै नमान्ने विषयमा पनि जबरजस्ती किबोर्ड ठोक्नुपर्ने । खिच्न मनै नभएका दृष्य कैद गर्नका लागि भारी क्यामेरा बोकेर तँछाडमछाड गर्नुपर्ने । यसकारण पत्रकारिता कहिलेकाँही बिडम्बनापूर्ण हुने गर्छ । एउटा पत्रकारको भूमिकामा लेख्नैपर्ने, खिच्नैपर्ने । अनि एउटा मानवका रुपमा लेख्न र खिच्न मनले अनुमति नै नदिने । आखिर पत्रकार पनि सबभन्दा पहिला त मानिस नै हो नी । पहिला मानिस, अनि पो पत्रकार ।

नेपाल सम्बत ११४५ को नयाँ वर्ष । काठमाडौंमा नेवार समुदायले आफैलाई पूजा गर्ने म्ह पुजाको दिन । तमाम हिन्दुहरुका लागि गाई पूजाको दिन । समग्रमा पूरा देश हर्षोल्लाषमा रमिरहेको एउटा पावन दिन । तर मेरा लागि, हाम्रा लागि यो दिन त्यस्तो खुसी दिने दिन बन्न सकेन । यस्तो दिन बन्यो, जुन दिन एउटा सहकर्मी, साथी र दाजुको नाताले एउटा प्रिय सहकर्मी, साथी र भाइलाई गुमाउनुपर्यो ।

खासमा रजेन्द्र केसी, जसलाई हामी मायाले ‘र’ भनेर बोलाउथ्यौं । मेरा लागि उ एउटा सहकर्मी र साथीभन्दा बढि थियो । भाइजस्तै । घरमा म आफै कान्छो छोरा । यसकारण पनि मलाई पत्रकारिताको परिवारमा दाजु बनाउने थुप्रै भाइमध्ये ‘र’ विशेष थियो । ममाथि उ अधिकार जमाउथ्यो । भाइले जस्तै भरोसा दिन्थ्यो । चित्त नबुझ्दा डटेर प्रतिवाद गर्थ्यो । केही गल्ती हुन खोजे रिसाएरै मलाई ट्रयाकमा फर्काउथ्यो ।

प्राणघातक क्यान्सर रोगसँग केही महिनादेखिको लामो लडाईंमा आज प्रिय ‘र’ले हार खायो । परिवार, फोटो पत्रकारिता परिवार, खेलकुद पत्रकारिता परिवार, समग्र पत्रकारिता परिवार र नेपाली खेलकुद परिवारलाई थुप्रै मिठा स्मरणहरु दिएर ‘र’ले कहिल्यै नफर्किनेगरि संशारबाट विदा लियो । अमेरिकाको केन्टुकीस्थित युके अल्बर्ट बी चान्डलर अस्पतालमा निष्ठुरी क्यान्सरले हामीबाट हाम्रो प्यारो ‘र’लाई खोसेर लग्यो ।

तिहारको रौनकबीच ‘र’को महाप्रस्थानले निशव्द बनाएको छ । शोकले ओठहरु कामीरहेका छन् । आँखा धमिलो भएको छ । जमिन हल्लिएझै भान भइरहेको छ । अनि पत्रकारको हैसियतमा प्रिय सहकर्मी ‘र’को स्मरणमा केही लेख्नुपर्ने, नेपालको पत्रकारिता र खेलकुदमा उसले गरेको योगदानलाई दस्तावेजीकरण गर्नैपर्ने जिम्मेवारीबोधले कम्प्युटर खोलेँ । तर एउटा साथी र दाइको हैसियतमा औलाहरु कापिरहेका छन् । ‘र’ अब हामीबीच रहेन भन्ने कुरा लेख्न मनले मानिरहेको छैन ।

पत्रकारिता पेशामा हुनुको बिडम्बना अहिले किबोर्डमा भावुक भएर औला बजारिरहँदा मैले पनि अनुभूत गर्नुपरिरहेको छ । ‘र’को विषयमा, उसका योगदानहरुको विषयमा, उसको व्यक्तित्वको विषयमा लेखिरहँदा ‘छ’ को सट्टा ‘थियो’ लेख्ने शाहस मसँग छैन । तर बाध्य छु ।

‘र’को विषयमा लेख्न बसिरहँदा मेरो मानसपटलमा फोटो पत्रकार क्लबमा रहेर नेपाली फोटो पत्रकारितालाई मर्यादित, सशक्त र संवृद्ध बनाउने अभियानमा सँगै दिनरात खाइनखाई भिडेका स्मरणहरु घुमिरहेका छन् । अन्नपूर्ण पोष्ट दैनिकमा सँगै काम गरेका दिनहरु नाचिरहेका छन् । ‘र’को उर्जा, जोश, जाँगर र प्रतिबद्धता सम्झिइरहेको छु । ‘र’ले दिनरात नभनी खिचेका कालजयी फोटोहरु आँखामा झल्झली आइरहेका छन् । अनि अहिलेको कुरा सपना होस र ति स्मरणहरु यथार्थमा परिणत हुन भन्ने लागिरहेको छ ।

मन भावुक भए पनि सत्य स्वीकार्नुको विकल्प हामीसँग हुँदैन । नियतीभन्दा बलियो एउटा व्यक्तिको भावना हुनै सक्दैन । नचाहेर पनि ‘र’ अब हामीसँग छैन भन्ने सत्य स्वीकार्नुपर्ने अवस्था हाम्रो भावना र चाहनाभन्दा बलियो छ ।

म कान्तिपुर दैनिकमा काम गर्थेँ । ‘र’ राजधानी दैनिकमा काम गर्थ्यो । यो २०६२ सालतिरको कुरा हो । पहिलो पटक हाम्रो भेट दशरथ रंगशालाको ट्रयाकमा कुनै फुटबल प्रतियोगिताको फोटो खिच्ने क्रममा भएको थियो । पहिलो भेटमै उसँग मेरो सम्बन्ध सुमधुर बन्न पुग्यो । खासमा ‘र’ थियो पनि त्यस्तै । हसिलो अनुहार, बलिष्ठ र आकर्षक शरिर, फूर्तिलो मानिस अनि रसिलो व्यवहार । समग्रमा आकर्षक अनि रमाइलो व्यक्तित्व । ‘र’को त्यही व्यक्तित्वले मलाई पनि उसँग नजिक्याएको थियो ।

खेलकुदमा ‘र’को विशेष रुची थियो । मलाई पनि खेलकुद मन पर्ने । त्यसपछि त हाम्रो भेट त्रिपुरेश्वर, कीर्तिपुर, सातदोबाटो र च्यासलजस्ता गन्तव्यहरुमा नियमित हुन थाल्यो । फोटो पत्रकारलाई एउटै बिटमा मात्र काम गर्ने सुविधा विरलै मिल्छ । यस्तो सुविधा एकाधले मात्र पाउँछन् । ‘र’ र मलाई त्यस्तो सुविधा थिएन । यसकारण अरु समसामयिक कार्यक्रम तथा घटनाहरुमा पनि हाम्रो भेट स्वभाविक थियो ।

पेशागत जिम्मेवारीका क्रममा हुने त्यस्ता भेटले हामीलाई थप नजिक्याइरहेको थियो । यसैक्रममा फोटो पत्रकारिताको मर्यादा राख्नकै लागि भनेर हामीले २०६७ सालमा चन्द्रशेखर कार्की दाइको नेतृत्वमा फोटो पत्रकार (पिजे) क्लब पुर्नगठन गर्नुपर्यो । त्यसक्रममा ‘र’ र मेरोबीच घनिष्ठता झनै बढ्यो । फोटो पत्रकारितामा म र मजस्ता धेरैजनाका गुरु चन्द्र दाइको नेतृत्व भए पनि सचिवको हैसियतमा मेरो भूमिका धेरै थियो । चन्द्र दाइले पनि मलाई नै धेरै सक्रिय बनाउनुभएको थियो । आफ्नै चेलाले भविश्यमा पिजे क्लबको अभियानमा नेतृत्व गरोस भन्ने चाहनाअनुसार उहाँले मलाई ग्रुम गरिरहनुभएको थियो । माथिबाट चन्द्र दाइ, विकास रौनियार दाइ, नरेन्द्र श्रेष्ठ दाइ, प्रकाश माथेमा दाइहरुले तानिरहनुभएको थियो भने तलबाट ‘र’हरुले मलाई उचालिरहेका थिए ।

पिजे क्लबको पुर्नगठन र त्यसपछि फोटो पत्रकारिताको सशक्तिकरण अभियानमा ‘र’ मेरो सबभन्दा बलियो भर थियो । म अध्यक्ष हुँदा उ कोषाध्यक्षको जिम्मेवारीमा थियो । पिजे क्लबले गर्ने फोटो प्रतियोगिता, नेपाल फोटो टुरजस्ता कार्यक्रम सायद त्योबेला ‘र’ को अनुपस्थितीमा त्यति सहजै सम्भव हुँदैनथ्यो । फोटो टुर स्थापित गर्ने क्रममा ‘र’ को भूमिका जति सम्झिए पनि कम हुन्छ । धनगढीमा प्रदर्शनी गर्नु थियो । फोटो फ्रेमको ठूलो भारी सुरक्षित पुर्याउने र काठमाडौं ल्याउनुपर्थ्यो । त्योबेला ‘र’ र म आफै भरिया भएका थियौं । आफैले सब सामान लोड गरेर दुई जनाले रातारात धनगढीसम्मको यात्रा तय गर्यौं । आर्थिक रुपमा क्लब कठिन समयमा थियो । आवश्यकता पर्दा ‘र’ आफैले आर्थिक जोहो पनि गर्थ्यो । नेपालको फोटो पत्रकारिता र फोटोग्राफी संस्कार स्थापना अभियान ‘र’प्रति सधै ऋणी रहनेछ । उसको अभाव सधै खट्किइरहनेछ ।

पुर्ख्यौली घर काभ्रे पलाञ्चोक भए पनि राजधानीको बबरमहलमा हुनेखाने परिवारमा जन्मेहुर्केको ‘र’को फोटोग्राफीप्रति बेजोड लगाब थियो । राजधानी दैनिकमा उसले खिचेका फोटोहरुले एउटा फोटो पत्रकारको नाताले मलाई लोभ्याइरहन्थ्यो । ‘र’लाई आफैसँग ल्याउन पाए हुन्थ्योजस्तो लागिरहन्थ्यो ।

फोटो पत्रकारिता खासमा रिर्पोटिङभन्दा अली कठिन छ । रिपोर्टरभन्दा फोटो पत्रकार शारीरिक रुपमा पनि बलिष्ठ हुनुपर्छ । फोटो पत्रकार गरुङ्गो क्यामेरा बोकेर भिडभाडमा ठेलमठेल गर्दै हेलिनुपर्छ । झरी बादल, हिउँद, वर्षा भन्न पाइन्न् । आन्दोलन, हिंसा भडकिइरहेको ठाउँ र प्राकृतिक विपत्ति भएका ठाउँमा पनि पुग्ने शाहस हुनुपर्छ । रिपोर्टरले जस्तो साह्रै अप्ठेरो पर्दा फोनबाट काम चलाउन पाइन्न् ।

आर्थिक रुपमा पनि फोटो पत्रकार सबल हुनुपर्छ । नेपालका सञ्चार गृहले क्यामेरा, लेन्सलगायतका लाखौं पर्ने सामाग्रीका लागि लगानी गर्ने वातावरण अझै बनिसकेको छैन । उतिबेला त कसरी कल्पना गर्नु ! यसकारण फोटो पत्रकार भएर केही हजारको जागिर खानका लागि लाखौंको सामाग्री किन्नुपर्थ्यो ।

रजेन्द्रमा यो सब गुण थियो । क्यामेरा, लेन्सलगायतका सामाग्री किन्ने आर्थिक हैसियत थियो । जोखिमपूर्ण ठाउँमा अग्रमोर्चामा डट्ने हिम्मत थियो । भिडभाडमा हेलिन सक्ने खालको बलिष्ठ शरिर थियो । दिनरात नभनी जस्तोसुकै परिस्थितीमा पनि नथाकिकन काम गरिरहन सक्ने क्षमता थियो । त्यो सबभन्दा ठूलो कुरा फोटोग्राफीप्रतिको जुनुन थियो । मोमेन्टलाई क्लिक गर्न सक्ने खुबी थियो ।

यसकारण अन्नपूर्ण पोष्टमा फोटो संयोजकको भूमिकामा जाँदै गर्दा ‘र’सँग सहकार्य गर्न पाउने विषयले मलाई सबभन्दा धेरै उत्साहित बनाएको थियो । उ पनि मसँग सहकार्यका लागि उत्तिकै आतुर थियो । त्यही भएर अन्नपूर्णको समाचार कक्षमा मलाई सबभन्दा आत्मीय स्वागत उसैले गरेको थियो । अन्नपूर्णको समाचार कक्षमा फोटोग्राफी विभागमा हामीले धेरै स्मरणीय क्षणहरु रचेका छौं । २०७२ सालको महाभूकम्पले पूरा देश तहसनहस बनाएका बेला हामी एउटा टिमको रुपमा डटिरहँदा ‘र’को भूमिका नेतृत्वदायी थियो । फोटोग्राफी विभागबाट खेलकुदको जिम्मेवारी उसलाई दिइरहँदा नेपाली क्रिकेटले उचाई लिँदै थियो । ‘र’ले खेलकुदमा कुनै पनि इभेन्टमा राम्रा फोटो ल्याउन कहिल्यै कमजोरी गरेन । केही नभनीकनै औपचारिक र अनौपचारिक फोटोहरुको डेश्कमा कमी हुँदैनथ्यो । यही कारण बढुवा भएर म फोटो सम्पादकको भूमिकामा हुँदा पनि उसैलाई मैले नायब फोटो सम्पादक बनाएको थिएँ । जुन अब प्यारो भाइको अनुपस्थितीमा रोमाञ्चित हुन सक्ने स्मरणमा सीमित भएका छन् ।

प्रिय रजेन्द्रसँग मेरो र हाम्रो यस्ता अमुल्य सम्झनाहरुको सुची निक्कै लामो छ । एउटा लेखमा समेट्न सम्भव छैन । ‘र’सँगका सम्झनामा टोलाइरहँदा लाग्छ, ‘उसकी माता, श्रीमती, छोरी, भाइ, बुहारी, भतिजा, भतिजीलगायत परिवारसँग यस्ता स्मरण कति होलान ? मेरा आँखा रसाइरहँदा केसी परिवारको आँखाबाट आँसुका भेल कसरी बगिरहेका होलान ? मैले आफूलाई सम्हाल्न नसकिरहँदा उनीहरु कति भक्कानिएका होलान ?’

अझ धेरै लेख्ने हिम्मत मसँग छैन । माफ गर प्रिय ‘र’, हामीले तिमीलाई आफूसँग राखिरहन सकेनौं । निष्ठुरी क्यान्सरसँगको लडाईंमा तिम्रो साथ दिन सकेनौं । तर बाचा गर्न चाहन्छौं, ‘नेपालको फोटो पत्रकारितालाई मर्यादित र व्यावसायिक बनाउन तिमीले देखेका सपना पूरा गर्न जीवनभर प्रतिबद्ध भएर लागिरहनेछौं ।’

तिम्रो आत्माले शान्ति पाओस ! अलविदा प्रिय ‘र’ !


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II INDU BURMA II Captain , National Women’s Cricket Team
KHELADI TALKS WITH AJAY PHUYAL II KARAN KC II MARQUEE KATHMANDU GURKHAS NEPAL PREMIER LEAGUE
Nepal Premier league NPL का लागि सिंगारिदै TU Cricket Ground
dayahang rai भन्छन्ः मैले क्रिकेट अझै पनि बुझ्न सकेको छैन, तर क्रिकेटले हामीलाई जोडेको छ
Martin Guptil बाट धेरै सिक्न पाइन्छः Pratish GC
विदेशी खेलाडी समेट्न स्टार स्पोर्ट्स ल्यायौं : PARAS KHADKA II SECRETARY , CAN NEPAL PREMIER LEAGUE
NEPAL U19 VS UAE U19 ICC U19 WOMEN'S WORLD CUP QUALIFIER जिते पछि Puja Mahato Sony Pakhrin