काठमाडौं । अघिल्लो शनिबार, उज्बेकिस्तानको तास्केन्दमा नेपाली महिला फुटबलले देखेको एउटा महत्वाकांक्षी सपना चकनाचुर भयो । अर्को वर्ष अस्ट्रेलियामा हुने एएफसी एसियन कपलाई छनोट हुने नेपालको सपना पेनाल्टी सुटआउटको दूर्भाग्यसँगै समाप्त भयो । तास्केन्दमा भएको छनोट प्रतियोगिताअन्तर्गत समूह ‘एफ’को निर्णायक खेलमा घरेलु टोली उज्बेकिस्तानसँग पेनाल्टी सुटआउटमा भाग्यको साथ नपाउँदा नेपालको सपना थाँती रहेको थियो । सामान्य नजरले हेर्दा भाग्यमात्र बाधक जस्तो देखिए पनि आफैमा यो महत्वाकांक्षा कत्तिको व्यवहारिक थियो भन्ने प्रश्नको उत्तर खोज्नका लागि अहिले उचित समय हो ।
के साच्चै अर्को वर्ष अस्ट्रेलियामा हुने एएफसी एसियन कपमा छनोट भएर खेल्ने महत्वकांक्षा बोक्न नेपाली फुटबल तयार भइसकेको थियो त ?
देशको फुटबल हेर्ने नियामक निकाय (एन्फा)ले विश्वकप खेल्ने लक्ष्य राखेर औपचारिक रुपमै ‘मिसन फिफा महिला विश्वकप २०२७ र २०३१’ भनेर निर्णय नै गरिसकेको अवस्थामा पक्कै पनि यो स्वभाविक हो । अझ भन्ने हो भने विश्वकप खेल्ने लक्ष्यका अघि एसियन कपलाई छनोट हुने महत्वाकांक्षा नै होइन । झन तास्केन्दमा पेनाल्टी सुटआउटमा पराजित भएको प्रशंगले त झनै यसलाई स्वभाविक मान्न सक्छ ।
तर, व्यवहारिक धरातल योभन्दा नितान्त फरक छ । किनकी फुटबलमा प्रदर्शन र परिस्थितीहरुको धेरै हिसावकिताव हुँदैन । यहाँ नतिजाको मात्र अर्थ रहन्छ । र, नेपालले जस्तोसुकै परिस्थितीमा भोगेको भए पनि त्यो नतिजाले लामो समय टिमको नेतृत्व सम्हालिसकेकी सिनियर खेलाडी अञ्जिला तुम्बाप्पो सुब्बाले भनेजस्तै ‘सगरमाथा चढ्दै गर्दा हिउँमा चिप्लिएर बेसक्याम्पमा झरेजस्तो’ भएको छ । तास्केन्दको नतिजाले एसियन कपको लक्ष्य असफल भएको छ । साथमा २०२७ को विश्वकप खेल्ने सबैखाले ढोकाहरु पनि बन्द भएको छ ।

खासमा त अहिलेसम्म नेपाली महिला फुटबल टिमले कुनै पनि अन्तर्राष्ट्रिय उपाधि जित्न सकेको छैन । दक्षिण एसियाभित्रै पनि नेपाल च्याम्पियन भएको छैन । साफ च्याम्पियनसिप वा दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गतको फुटबलमा पनि अहिलेसम्म स्वर्ण पदक जितेको इतिहास छैन । यतिमात्र होइन, आफैले छानेर विपक्षी निम्त्याउँदै आयोजना गरेका आमन्त्रण प्रतियोगितामा पनि नेपाल विजयी भएको छैन । यथार्थ यस्तो रहँदा एसियन कप र विश्वकपलाई छानिने कुरा दिवास्वप्न देख्नु र भ्रममा बाच्नुभन्दा फरक देखिदैन ।
सगरमाथा आरोहणः शिखर चुम्नुअघिका पाइलाहरु
खेलकुदमा पनि जीवनमा जस्तै सफलताका कथाहरु त्यतिकै रचिन्न । त्यसका लागि प्रक्रियाहरु हुन्छन्, सही संरचना, योजना र त्यसमा लगातार चालिएका पाइलाहरुको भूमिका महत्वपूर्ण हुन्छ । जसरी सगरमाथाको शिखर चुम्नेले बेस क्याम्पदेखि नै उचाइसँग अभ्यस्त हुँदै अनुशासित रुपमा पाइला माथि उकाल्ने गर्छन । फुटबलकै हकमा पनि कुनै पनि देशको राष्ट्रिय टिमले आधारभूत यात्राको आरम्भविना उच्चस्तरमा सफलता पाएका उदाहरण छैनन् ।
नेपालका दक्षिण एसियाली प्रतिद्धन्द्धीहरु भारत र बंगलादेश प्रक्रियागत रुपमा आधार निर्माण गरेर सफलता हासिल गर्ने मामिलामा राम्रा उदाहरण हुन् । दुवै देश अर्को वर्षको एएफसी महिला एसियन कपका लागि छनोट भइसकेका छन् । २० वर्षअघि एसियाली फुटबल महासंघ (एएफसी)ले एसियन कपका लागि छनोट हुने टिममात्र सहभागी हुन पाउने नियम ल्याएयता महादेशीय फुटबलको सबभन्दा ठूलो प्रतियोगितामा भारत र बंगलादेश छानिएको यो पहिलो पटक हो ।
दक्षिण एसियाली फुटबलको नीर्विवाद महारथी भारतले कीर्तिमानी पाँच पटक साफ च्याम्पियनसिपको उपाधि जितिसकेको छ । बंगलादेश पनि पछिल्ला दुई संस्करणको च्याम्पियन हो । महादेशीय यात्राका लागि आफूलाई लायक बनाउने अभियानमा दुवै देशले आधार तयार गर्ने क्रममा क्षेत्रीय फुटबलमा निरन्तर श्रेष्ठता प्रमाणित गरेका थिए ।

यसो भन्नुको मतलब साफ च्याम्पियनसिप जित्नेलेमात्र एसियन कप खेल्न सक्छ भन्ने होइन । तर यो एउटा खुटकिलो चाँही हुन सक्छ । किनकी कुनै पनि महत्वाकांक्षासँग त्यसको गतिलो जग हुनु आवश्यक हुन्छ । जवकि नेपाली महिला फुटबलको हकमा त्यस्तो जग देखिन्न । नेपालले गर्न खोजेको यात्रामा बाटो नै स्पष्ट छैन ।
आधार निर्माणमै बेवास्थाः खोई संरचना ?
नेपाली महिला फुटबलले विश्वकप र एसियन कपजस्ता विश्वस्तरका ठूला प्रतियोगिताको छानोलाई सपना बनाउन कस्तो जग निर्माण गरियो भन्ने कुराको महत्व अहम हुन्छ । नत्र सपना मात्र देख्ने तर त्यसलाई पूरा गर्न इमान्दार प्रयास नगर्ने हो भने त्यो जगबिना ठूलो महल ठड्याउने कल्पनाभन्दा फरक देखिन्न । सपनाको नाममा लोकलाई दिग्भ्रमित पार्ने प्रयास होइन भने त्यसले केही स्वभाविक प्रश्नको जवाफ माग गर्छ ।
– के नेपालमा महिलाका लागि स्थिर खालको प्रतिस्पर्धात्मक लिग छ ?– सरकार वा निजी क्षेत्रबाट कुनै राष्ट्रिय स्तरको महिला फुटबल एकेडेमी सञ्चालनमा छ ? – प्रतिभाको पहिचान र उनीहरुलाई सही तरिकाले हुर्काउन नेपालमा कुनै नियमित र व्यवस्थित ग्रासरुट प्रतियोगिता छ ?– महिला फुटबलका लागि देशमा कुनै स्पष्ट नीति, विकास योजना, दीर्घकालिन योजना छन् ? – सबभन्दा महत्वपूर्ण कुरा के नेपाली फुटबल प्रशासनसँग आफूले फलाक्दै आएका नाराहरुलाई व्यवहारमा उतार्नका लागि इमान्दारी र प्रतिबद्धता छ ?
दूर्भाग्य, यी सबै प्रश्नको इमान्दार जवाफ ‘छैन’ भन्ने नै हुन्छ । दुई वर्षअघि एन्फाले रौतहटमा सुरु गरेको महिला एकेडेमीलाई चाँही एउटा अपबादका रुपमा लिन सकिन्छ । तर, ३० जना किशोरीहरुलाई राखिएको त्यो एकेडेमी पनि भौतिक तथा प्राविधिक रुपमा आधारभूत स्तरभन्दा पनि तल छ ।

सशस्त्र प्रहरी बल, नेपाल पुलिस र नेपाली सेनाबाहेक कुनै पनि संस्था वा क्लबले प्रक्रियागत रुपमा महिला फुटबलमा नियमित लगानी गरिरहेका छैनन् । शीर्ष डिभिजनका क्लबहरुबाट पनि महिला फुटबल बेवास्थामा परेको छ । उदाहरणका रुपमा महिला फुटबलमा संकटा क्लबको उपस्थितीलाई लिन सकिन्छ । गत सिजनको एन्फा महिला लिगमा सहिद स्मारक ‘ए’ डिभिजन लिगको टोली संकटाले आफ्नो टिम सहभागी गराएको थियो । तर प्रतियोगिता सकिएलगत्तै टिम बिगठन गरियो । लिग वा अन्य घरेलु प्रतियोगिता खेल्ने अरु टिमले पनि प्रतियोगिताको दुई साताअघि सम्बन्धित प्रतियोगिताका लागि मात्र टोली जोडजाम गर्ने चलनमै नेपाली महिला फुटबल अल्झिइरहेको छ ।
बंगलादेशले सिकाएको पाठ
नेपालले सफलता हासिल गर्नका लागि धेरै टाढाको उदाहरण दिइरहनु पर्दैन । दक्षिण एसियाका आफ्नै छिमेकीबाट प्रेरित भए पर्याप्त हुन्छ । कुनै बेला दक्षिण एसियाली महिला फुटबलको संघर्षरत देश बंगलादेशले पाँच वर्षको बीचमा उल्लेखनीय सफलता हासिल गरिसकेको छ । एक दशकअघिसम्म नेपाल साफ महिला च्याम्पियनसिपमा उपाधिको मुख्य दाबेदार छविमा रमाइरहँदा बंगलादेशको परिचय ‘ह्विपिङ गर्ल्र्स’को थियो ।
सन् २०१५ मा बंगलादेशी महिला फुटबलले एउटा यस्तो सुखद मोड पायो, जसले देशको परिचय एकाएक ‘ह्विपिङ गर्ल्र्स’बाट च्याम्पियनका रुपमा परिणत गर्यो । बंगलादेश फुटबल संघ (बिएफएफ)ले त्यही वर्ष महिलाकै लागि लक्षित एउटा युवा एकेडेमीको सुरुआत गर्यो । विज्ञहरुले बनाएको योजनालाई इमान्दारीपूर्वक कार्यान्वयन गरेपछि लगत्तैको वर्ष बंगलादेश एएफसी यु–१७ महिला च्याम्पियनसिपका लागि छनोट भयो । बंगलादेशी महिला फुटबलका लागि यो सफलताको एउटा यस्तो सुरुआत थियो, जसको शृंखलाले अहिलेसम्म पनि निरन्तरता पाइरहेको छ । एकेडेमीलाई व्यवस्थित तरिकाले निरन्तरता दिइरहेको फलस्वरुप उनीहरुले सन् २०२२ मा पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि उचाल्यो । गत वर्ष टोलीले त्यो उपाधि रक्षा पनि गर्यो । दुवै पटक बंगलादेशले फाइनलमा नेपाललाई हराएको थियो ।
ठिक विपरित नेपालले भने साफ महिला च्याम्पियनसिपले सात संस्करणको यात्रा पूरा गर्दा ६ पटक उपविजेताको हैसियतमा चित्त बुझाएको छ । प्रत्येक पटक उपाधि उचाल्न असफल हुनुलाई भाग्यसँग जोडेर हेर्न सकिन्न । यसले त नेपाली फुटबलको संरचनामै ठूलो खाडल रहेको प्रमाणित गर्छ ।

फरक नियतिः सपना पूरा भएको शान, टुटेको सपना
तास्केन्दमा उज्बेकिस्तानसँग पेनाल्टी सुटआउटमा ४–२ को पराजय भोग्दै नेपाल छनोट चरणबाट बाहिरियो । तर यही संस्करणमा भारत र बंगलादेशले भने ऐतिहासिक सफलता हासिल गरे । एसियन कपका लागि पहिलो पटक छनोट भइरहँदा भारत र बंगलादेशले त्यसका लागि गरेको लामो र सही योजनाको यात्रातिर फर्किनु जरुरी हुन्छ । उनीहरुले यो सफलता सम्भव बनाउनका लागि वर्षौदेखि युवा विकास र भौतिक पूर्वाधार हुँदै प्रतिस्पर्धात्मक फुटबलको स्थिरतामा धैर्यपूर्ण यात्रा गरेका छन् ।
पक्कै पनि महादेशीय वा विश्वस्तरमा पुग्ने नेपालको महत्वाकांक्षा प्रशंसनीय छ । तर सपना जति ठूलो देखे पनि पूरा गर्नका लागि योजना, लगानी, संरचना छैन र त्यसलाई कार्यान्वयन गर्ने प्रतिबद्धता छैन भने त्यसको कुनै अर्थ रहन्न । यी आधारभूत आवश्यकतातिर ध्यान नदिने हो भने परिस्थिती उस्तै रहन्छ । सपना फेरि पनि सपनामै सीमित हुन्छ ।
सतही लक्ष्य, खोक्रो तयारी
दुई वर्षअघि सन् २०२३ जुलाई १८ मा नेपाली महिला फुटबल टिम र युनिलिभर नेपालबीच प्रायोजन सम्झौता कार्यक्रममा एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङले विश्वकप खेल्ने लक्ष्य घोषणा गरे, ‘मिसन फिफा महिला विश्वकप २०२७ वा २०३१’ भनेर । एन्फा अध्यक्षले कार्यसमितिमै निर्णय गराएर गरेको यो घोषणा सही सावित भएको भए नेपालले दुई वर्षपछि ब्राजिलमा हुने महिला विश्वकप वा २०३१ मा मेक्सिको र अमेरिकामा हुने विश्वकप खेल्ने थियो ।
एसियन कप २०२६ लाई छनोट हुन नसकेपछि २०२७ को विश्वकप खेल्ने सम्भावना पनि औपचारिक रुपमै समाप्त भएको छ ।

अब एउटा अझै पेचिलो प्रश्न उठ्छ, नेपाली फुटबलको सर्वोच्च निकायसँग यो सपनालाई वास्तविकतामा परिणत गर्नका लागि कस्ता ठोष योजना छन् त ? यसमा एन्फाले केही प्रयास गरेकै भए पनि ती प्रष्ट छैनन् । कतिपय अवस्थामा त एन्फाको कार्यशैली रहस्यमय नै देखिन्छ ।
अब के त ?
नेपालले अझै पनि यथास्थितीकै प्रयासमा २०३१ मा विश्वकप खेल्ने सपनालाई पछ्याइरहनुपर्छ ? वा, यो ‘लक्ष्य’माथि पुर्नविचार गर्नुपर्छ ? पक्कै पनि महत्वाकांक्षाहरु महत्वपूर्ण हुन्छन् । तर प्रष्ट प्रक्रियाबाट थेगिएको महत्वाकांक्षामात्र व्यवहारिक हुन्छ । नेपालले पनि आफ्नो ध्यान अब योजनाबद्ध रुपमा खुटकिलाहरु उक्लिँदै शिखरमा पुग्ने खालको यात्रामा केन्द्रित गर्नुपर्छ । तत्कालिन रुपमा साफ च्याम्पियनसिप जित्ने लक्ष्य नेपालका लागि व्यवहारिक हुन सक्छ । सँगै २०२९ को एएफसी एसियन कपलाई छनोट हुने अभियानमा केन्द्रित हुन सकिन्छ । पक्कै पनि विश्वकपमाथि अर्जुन दृष्टी हुनुपर्छ । अन्तिम गन्तव्य हो । तर यो निक्कै सुझबुझपूर्ण तरिकाले तय गरिएको यात्राको गन्तव्य हुनुपर्छ ।
त्यो गन्तब्यमा पुग्न नेपालले सबभन्दा पहिला संरचना, योजना र व्यावसायिकतालाई प्राथमिकतामा राख्नुपर्छ । तत्काल अल्पकालिन, मध्यकालिन र दीर्घकालिन रणनीतिहरु बनाएर अगाडि बढ्नुपर्छ । यस्ता रणनीतिहरु जुन व्यवहारिक हुन् । यस्ता योजना जुन पूरा गर्न सकिने खालका हुन् । र, ति सबै योजना तथा रणनीतिहरु क्षमतावान विज्ञहरुबाट बनाइनुपर्छ र तिनको कार्यान्वयन पूर्ण रुपमा इमान्दारी, प्रतिबद्ध र जवाफदेही भएर गरिनुपर्छ । हचुवा र हावादादी पारामा योजना बनाउनेसँग विश्वकपजस्तो महत्वाकांक्षी सपना देख्ने अधिकार रहन्न ।
पूर्नसंरचना र आधार निर्माण
नेपालले फुटबल विकास नीतिमै पूर्ण रुपमा परिमार्जन गर्न ढिलो गर्नु हुन्न । कुनै पनि देशको फुटबल सफलताको आधार निर्माणमा ग्रासरुटबाटै प्रतिभाको पहिचान र निखार्ने प्रक्रियाको सबभन्दा महत्वपूर्ण भूमिका रहने गर्छ । त्यसका लागि स्थानीय स्तरबाटै ठूलो संख्यामा सानो उमेरका प्रतिभाहरुले फुटबल खेल्ने र राष्ट्रिय फुटबलको मुलधारसम्म पहुँच राख्ने वातावरण हुनुपर्छ । नेपालको हकमा स्कुलहरुलाई ग्रासरुट फुटबलमा व्यापक रुपमा सहभागिता गराउन सकियो भने यसबाट छोटो समयमै नसोचेका सफलताका नतिजाहरु देखिन सक्छन् ।

ठूलो संख्यामा प्रशिक्षकहरुलाई प्रशिक्षित गर्नु नेपाली फुटबलको अर्को आवश्यकता हो । यसबाट देशका कुनाकाप्चासम्म ससाना बालकहरुले आधारभूत प्रशिक्षणको मौका पाउछन् । साथमा फुटबलमा रोजगारीका सम्भावनाहरु पनि बढ्नेछन् । प्राविधिक रुपमा दक्ष प्रशिक्षकको संख्या जति बढि भयो, उती नै कलिला प्रतिभालाई हुर्काउने वातावरण सहज र प्रभावकारी बन्नेछ ।
क्लब फुटबल पुर्नसंरचना
नेपालको महिला क्लब फुटबलले व्यग्रताका साथ पुर्नसंरचना प्रतिक्षा गरिरहेको छ । शीर्ष डिभिजनको लिगको सिजन कम्तिमा ६ महिनाको हुनुपर्छ । यस्तो लिग, जसको क्यालेन्डर पहिल्यै तय हुनुपर्छ । नियमित हुनुपर्छ । अनि पूर्ण रुपमा व्यावसायिक हुनुपर्छ । वितेको सिजनको एन्फा महिला लिगमा भएजस्तो १९–० वा १४–१ को हार भोग्ने कमजोर टिमहरु पुरुष फुटबलमा जस्तै रेलिगेसनमा पर्नुपर्छ । खेल्नका लागि खेल्ने, औपचारिकता पूरा गर्नका लागि खेल्ने टिमले शीर्ष डिभिजनको भावना बोक्न सक्दैनन् । पुरुष फुटबलमा जस्तै महिलामा पनि कम्तीमा तीन श्रेणीको लिग स्थापना गरिनुपर्छ ।
विश्वकपको नारामा रमिरहेको नेपाली महिला फुटबलमा उमेर समूहको प्रतियोगिता अभावले पनि विकास प्रक्रियामा ठूलो खाडल सिर्जना गरेको छ । ठूला महत्वाकांक्षाका लागि यस्ता प्रतियोगिताको भूमिका महत्वपूर्ण हुन्छ । तर एन्फाले त्यस्ता प्रतियोगिता आयोजनामा खासै ध्यान दिएको छैन । एन्फा आफैले यस्ता प्रतियोगिता आयोजना गर्न अग्रसर हुनुपर्छ । त्यतिले पुग्दैन । स्कुल तथा समुदायलाई पनि उमेर समूहका प्रतियोगिता आयोजना गर्न हौस्याउनुपर्छ । नेपालको हकमा बास्केटबल यसको राम्रो उदाहरण हुन सक्छ । जहाँ उमेर समूहमा सहरी क्षेत्रका स्कुलहरुले नियमित रुपमा थुप्रै प्रतियोगिता आयोजना गरिरहन्छन् ।
पुरुष फुटबलमा रमाइरहेका शीर्ष डिभिजनका क्लबहरुलाई महिला टोली निर्माणमा प्रोत्साहित गर्नुपर्छ । जसले महिलामा पनि पुरुषको जस्तै व्यवस्थित प्रणाली विकास गर्नेछ । केही निजी एकेडेमीहरुले महिला फुटबलमा देखिएको कमी पूरा गर्ने प्रयास नगरेका होइनन् । तर ती पनि धेरैजसो आधारभूत पूर्वाधार र दक्ष प्रशिक्षकको अभावमा प्रभावकारी बन्न सकिरहेका छैनन् । एन्फाले त्यस्ता एकेडेमीहरुलाई प्राविधिक, खेल सामाग्री र अन्य खालका सहयोग गर्ने सुरुआत थाल्नुपर्छ ।

सामान्य सुत्रः पहिला प्रक्रिया, अनि नतिजा
नेपालको विश्वकप सपना अझै कायम छ । तर यो काल्पनिक सोच र फुस्रा नाराका भरमा चाँही सम्भव हुन्न । यसका लागि सर्टकर्ट छोडेर धैर्य, अनुशासन, संरचना, इमान्दारी, जवाफदेहिता र प्रतिबद्धतालाई अंगाल्नुपर्छ ।
सही मार्ग पहिल्याएमा नतिजा नेपालले पनि नतिजा अवश्य हासिल गर्नेछ । तत्काल नहोला, तर पक्कै हुनेछ ।