काठमाडौं । नेपाली भलिबलको इतिहासमा पहिलो पटक भलिबलको ‘प्लेयर अक्सन’ हुने भएको छ ।
इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा यही भाद्र २० देखि २८ गतेसम्म हुन लागेको वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल)को दोस्रो सिजनका लागि खेलाडीको अक्सन हुन लागेको हो । अक्सन श्रावन २ गते काठमाडौंमा हुनेछ ।
नेपाली महिला भलिबलको व्यावसायिक यात्रामा यो अक्सन ‘टर्निङ पोइन्ट’ हुन सक्ने आयोजक पक्षले अपेक्षा गरेको छ ।
प्रत्यक्ष बोलीबाट सहभागी ६ टोलीले राष्ट्रिय स्टार खेलाडी, नयाँ प्रतिभा र उदीयमान खेलाडीबाट आफ्नो टोली निर्माण गर्ने अवसर पाउनेछन् ।
अक्सनमा लिगका अधिकारी, फ्रेन्चाइजका प्रतिनिधि र कार्यकर्ताहरुको सहभागिता रहनेछ ।
‘यो एक अक्सन मात्र होइन, नेपाली महिला भलिबलको एउटा ऐतिहासिक टर्निङ पोइन्ट हो । खेलकुदको यो व्यावसायिक संरचनामा महिला खेलाडी पहिलो पटक होमिदै छन् । यो हामी सबैका लागि गर्वको विषय हो,’ इडब्लुभिएलकी सिइओ स्नेभी चापागाईँले भनिन् ।