काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यु–२० च्याम्पियनसिपमा लगातार चौथो खेलमा विजयी हासिल गर्दै बंगलादेश अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
बिहीबार राजधानी ढाकास्थित बसुन्धरा ‘स्पोर्टस ग्राउन्ड’मा सम्पन्न प्रतियोगिताको आठौं खेलमा बंगलादेशले भुटानलाई ३–० ले हरायो । जितसँगै बंगलादेश अंकतालिकामा शीर्ष स्थानमा उक्लियो । हारसँगै भुटानको उपाधि सम्भावना समाप्त भएको छ ।
बंगलादेशको जितमा फरवार्ड श्री मोटी तृष्णा रानीले दुई तथा मिडफिल्डर सपना रानीले एक गोल गरे ।
दिनको पहिलो खेलमा नेपालले श्रीलंकालाई ७–० ले हरायो । यो हारसँगै श्रीलंकाको पनि उपाधि सम्भावना समाप्त भयो । श्रीलंकाविरुद्धको जितले नेपाल केही घण्टाका लागि शीर्ष स्थानमा उक्लिएको थियो । चार खेलमा तीन जित हासिल गरेको नेपाल हाल दोस्रो स्थानमा छ ।
शनिबार बंगलादेश र श्रीलंकाले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै नेपालले भुटानको सामना गर्ने तालिका छ ।