काठमाडौं । अस्ट्रेलियाको मेलबर्न क्रिकेट मैदान (एमसिजी) मा शुक्रबारबाट सुरु हुने इङ्ल्यान्ड र अस्ट्रेलियाबीचको एसेज शृंखलाअन्तर्गतको चौथो टेस्टका लागि भ्रमणकारी टोलीले पहिलो ११ खेलाडीको सूचि सार्वजनिक गरेको छ ।
‘बक्सिङ डे’ टेस्टका रुपमा बहुप्रतिक्षित टेस्टअघि पाँच खेलको शृंखलामा इङ्ल्यान्ड ३–० ले पछि परिसकेको छ । मेलबर्नमा हुने चौथो टेस्टका लागि भ्रमणकारी टिमले अघिल्लो खेल (तेस्रो टेस्ट) बाट दुई परिवर्तन गरेको छ । एडेलेइडमा सम्पन्न तेस्रो टेस्टमा अस्ट्रेलियाले इङ्ल्यान्डमाथि ८२ रनको जित हासिल गरेको थियो ।
बायाँ हाते ब्याटिङ अलराउन्डर ज्याकोब बेथेलले चौथो टेस्टका लागि टिममा स्थान पाएका छन् । उनलाई तीन नम्बरमा राखिएको छ । यसैगरी तिब्र गतिका बलर गुस एट्किन्सन पनि अघिल्लो खेलको अनुपस्थितीपछि टिममा फर्किएका छन् ।
एट्किन्सन जोफ्रा आर्चरको स्थानमा टिममा फर्किएका हुन् । आर्चर चोटका कारण शृंखलाका बाँकी खेल खेल्न नसक्ने भएका छन् । आर्चरसँगै ब्याटर ओली पोप पनि चौथो टेस्टको टिमबाट बाहिरिएका छन् ।
इङ्ल्यान्डको ११ः
ज्याक क्रली, बेन डकेट, ज्याकोब बेथेल, जोए रुट, ह्यारी ब्रुक, बेन स्टोक्स (कप्तान), जेमी स्मिथ (विकेटकिपर), विल ज्याक्स, गुस एट्किन्सन, ब्राइडन कर्स, जोस टंग ।
एसेश तालिकाः
पहिलो टेस्ट– पर्थ रंगशाला, नोभेम्बर २१–२२ (अस्ट्रेलिया ८ विकेटले विजयी)
दोस्रो टेस्ट– गाबा, डिसेम्बर ४–७ (अस्ट्रेलिया ८ विकेटले विजयी)
तेस्रो टेस्ट– एडलेइड ओभल, डिसेम्बर १७–२१ (अस्ट्रेलिया ८२ रनले विजयी)
चौथो टेस्ट– एमसिजी, डिसेम्बर २६–३०
पाँचौं टेस्ट– सिडनी क्रिकेट मैदान, जनवरी ४–८
