काठमाडौं । नेपाल राष्ट्रिय टोलीकी कार्यवहाक कप्तान तथा गोलकिपर अञ्जिला तुम्बापो सुब्बासम्मिलित सेथु एफसीले भारतीय महिला लिगमा आज (बुधबार) साविक विजेता इष्ट बंगालसँग प्रतिस्पर्धा गर्दैछ ।
सेथुको घरेलु मैदान कल्याणी रंगशालामा हुने खेल नेपालीसमयअनुसार पौने तीन बजे सुरु हुनेछ ।
अञ्जिलाकै कप्तानीमा रहेको सेथु लिगमा लगातार दोस्रो जितको योजनामा हुनेछ । शनिबार भएको लिगको पहिलो खेलमा सेथुले किकस्टार्सलाई २–१ ले हराएको थियो । सेथुको जितमा काभिया र मालाभिका प्रसादले समान एक गोल गरेका थिए ।

तेस्रो पटक सेथुबाट खेलिरहेकी अञ्जिलालाई क्लबले कप्तान जिम्मेवारी दिएको छ । टोली पहिलो पटक लिग च्याम्पियन बन्ने योजनामा छ । अञ्जिला यसपटक आइलिग खेल्ने एक्लो नेपाली खेलाडी हुन् । यसपटक उनी कप्तानी जिम्मेवारी पाउने आइलिगमा पहिलो विदेशी खेलाडी हुन् ।
यता, इष्ट बंगाल भने आइलिगमा सुखद् सुरुआत गर्ने योजनामा छ । टोली पहिलो खेल खेल्दैछ । यसअघि नेपालमै भएको साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जित्दै टोली भारत फर्किएको थियो । उसले फाइनलमा एपिएफलाइ ३–० ले हराएको हो ।
आईलिगको पहिलो चरणको खेल सम्पन्न हुँदा सेथु र गर्वाल युनाइटेडले तीन अंक जोडेका छन् । गोकुलम र निताले बराबरी खेलेका थिए ।
