काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल जयन्त पाठकले नेपाली महिला क्रिकेटको जुनूनले आफूलाई जिम्मेवारीमा तानेको प्रतिक्रिया दिएका छन् ।
मंगलबार माथिल्लो मूल्पानी क्रिकेट मैदानमा आयोजित पत्रकार सम्मेलनमा पाठकले नेपाली महिला क्रिकेट र आसन्न विश्वकप ग्लोबल क्वालिफायरका बारेमा आफ्नो अभिव्यक्ति दिएका थिए । यसबीच उनले महिला क्रिकेटको सम्भावना र अवसरका बारेमा शब्द खर्च गरे ।
‘क्रिकेटप्रति नेपालीको प्यासन ब्यापक छ । यही भएर म नेपाली क्रिकेटमा जोडिन चाहिरहेको थिएँ,’ पाठकले भने, ‘मैले नेपाली महिला क्रिकेटलाई पछ्याइरहेको थिएँ । म टोलीको सम्भावना र अवसरका बारेमा सचेत छु ।’

पाठक यसअघि थाइ राष्ट्रिय पुरुष टोलीको नेतृत्वमा थिए । नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार डिसेम्बर १६ मा पाठकलाई राष्ट्रिय महिला टोलीको नयाँ प्रशिक्षकका रुपमा सार्वजनिक गरेको थियो । आइतबार डिसेम्बर २१ मा उनी नेपाल आइपुगेका थिए । दुई दिनपछि उनी पत्रकारसमक्ष प्रस्तुत भएका हुन् ।
जनवरी १८ देखि र्कीतिपुरस्थित त्रिवि क्रिकेट रंगशाला र माथिल्लो मूलपानीले ट्वान्टी-२० विश्वकप ग्लोबल छनोटमा ९ टोली (बंगलादेश, आयरल्यान्ड, पपुवा न्युगिनी, नामिबिया, स्कटल्यान्ड, थाइल्यान्ड, जिम्बाब्वे, नेदरल्यान्ड्स र अमेरिका)को आतिथ्य गर्दैछ । त्यसअघि जनवरी १४ देखि १६ सम्म अभ्यास खेलहरु हुनेछन् । नेपाली टोलीलाई ऐतिहासिक पहिलोपटक विश्वकप पुर्याउने चुनौती पाठकसँग हुनेछ । यसमा उनी सारात्मक छन् ।
‘हामी विश्वकपमा छनोट हुन सक्छौं । सर्वप्रथम त छनोट प्रतियोगिता आफ्नै मैदानमा खेल्दैछौं । समर्थकहरुको बाक्लो साथ हामीसँग हुनेछ । अनि सहभागी टोलीसँग खेलेको अनुभव हामीसँग छ,’ थाइल्यान्डलाई २०२० मा ऐतिहासिक पहिलोपटक विश्वकपमा पुर्याएका पाठकले भने ।

विश्वकपमा छनोट हुन नसकेपनि नेपाली महिला क्रिकेटको भविष्य उज्ज्वल रहेको उनी बताउँछन् । ‘हामी ग्लोबल छनोटमा सफलता हासिल गर्न चाहन्छौं । छनोट हुन नसकेपनि नेपाली महिला क्रिकेट राम्रो दिनहरुको पर्खाइमा छन् ।’
पाठक आफू सिनियर टोलीको जिम्मेवारीका लागि मात्र नभएर समग्र महिला क्रिकेटको विकाशका लागि नेपाल आएको बताउँछन् । ‘महिला क्रिकेटको ग्रासरुटमा काम गर्ने योजना छ । जुनियर प्रतिभाहरुलाई अहिले देखि नै प्राविधिक पक्षहरुको ज्ञान दिन चाहन्छौं । ताकी सिनियर टोलीमा गइसकेपछि उनीहरुमाथि हामीले समय खर्च गर्न नपरोस्,’ पाठक बोले, ‘सिनियर टोली राम्रो हुन बेन्च पनि उत्तिकै बलियो हुन आवश्यक छ । त्यसैले धेरैभन्दा धेरै प्रतीभा उत्पादन गर्न आवश्यक छ ।’
क्यानले पाठकसँग दुई वर्षको सम्झौता गरेको छ ।
