काठमाडौं । आसन्न आइसिसी ट्वान्टी-२० विश्वकपका लागि नेपाल क्रिकेट संघ(क्यान)ले २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।
आइतबार क्यानले प्रेस विज्ञप्तिमार्फत भोलिबाट सुरु हुने बन्द प्रशिक्षणमा छनोट भएका २४ खेलाडीको नाम सार्वजनिक गरेको हो ।
क्यानले गत सेप्टेम्बरमा सम्पन्न वेस्ट इन्डिजविरुद्धको युनिटी कप खेलेका १६ खेलाडीमा थप ८ जनालाई थप्दै प्रारम्भिक टोली घोषणा गरेको छ । क्यानले भर्खरै सम्पन्न नेपाल प्रिमियर लिग(एनपिएल) सिजन २ मा सम्झनलायक प्रदर्शन गरेका शेर मल्ल, विनोद भण्डारी, अविनाश बोहरा र वसीर अहमदसँगै भीम सार्की, ईशान पाण्डे, प्रतीस जिसी र रुपेश कुमार सिंहलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।
भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गर्न लागेको ट्वान्टी-२० विश्वकपको १०औं संस्करण यही फेब्रुअरी ७ देखि ८ मार्चसम्म हुनेछ ।
समूह ‘सी’मा रहेको नेपालले दुईपटकको पूर्व विजेताद्धय इङ्ल्यान्ड र वेस्ट इन्डिजसँगै पहिलो सहभागिता जनाउन लागेको इटाली र बंगलादेशसँग पहिलो चरणका खेलहरु खेल्नेछ ।
