काठमाडौं । निकोलस ज्याक्सनको दुई गोलमा सेनेगलले बोत्सवानामाथि ३–० को सहज जितका साथ सेनेगलले अफ्रिका कप अफ नेशन्सको सुरुआत गर्दा मंगलबार राति ढिलोगरी सम्पन्न खेलमा नाइजेरियाले पनि संघर्षपूर्ण जितका साथ प्रतियोगिताको यात्रा थाल्यो ।
सेनेगल र नाइजेरिया दुवै मोरक्कोमा जारी अफ्रिकी फुटबलको सबभन्दा ठूलो प्रतियोगितामा उपाधिका दाबेदार हुन् । तर मंगलबार राति तान्जानियामाथि २–१ को जित हासिल गर्न गर्नुपरेको संघर्षले नाइजेरियाली समर्थकको मनोबलमा भने गतिलै धक्का लाग्यो ।
सेनेगलका लागि बैकल्पिक खेलाडी चेरिफ एनडियायेले तेस्रो गोल गरे । बोत्सवानाका गोलकिपर गोयटसेवन फोकोले मंगलबार राति गल्तीमाथि गल्ती गरिरहँदा सेनेगलको जित सहज बनेको थियो । फोकोमात्र नभई बोत्सवानाको पूरै ब्याक फाइभ (रक्षापंक्ति) नै सेनेगलको आक्रमणसामू निरिह देखिएको थियो ।
‘हामीले प्रतियोगितामा निक्कै राम्रो सुरुआत गर्यौ । कुनै पनि प्रतियोगिताको पहिलो खेल कहिल्यै सहज हुँदैन । तर हामीले आज प्रभावशाली जित हासिल गरेका छौं । यो निक्कै महत्वपूर्ण छ,’ सेनेगलका प्रशिक्षक पेपे थाइवाले भने, ‘अब प्रतियोगिताका बाँकी खेलमा पनि हामीले यही लयलाई कायम राख्न सक्नुपर्छ ।
समूह ‘डी’मा मंगलबारै चाँडोगरि सम्पन्न खेलमा कंगोले बेनिनलाई १–० को नतिजामा हराएर तीन अंक जोडिसकेको थियो । समूहमा सेनेगल र कंगोले समान तीन अंक जोड्दा बोत्सवाना र बेनिन अंकरहित छन् ।
समूह ‘सी’मा नाइजेरियाले खेल जिते पनि त्यसका लागि गर्नुपरेको संघर्षले प्रशिक्षक इरिक चेलेको चिन्ता थपेको छ ।
‘जित र त्यसबाट प्राप्त तीन अंकबाट हामी पूरै सन्तुष्ट छौं । किनकी फुटबलमा यही महत्वपूर्ण कुरा हो,’ उनले भने, ‘तर अफ्रिका कप अफ नेशन्स जस्तो ठूलो प्रतियोगितामा यस्तै सुरुआतलाई निरन्तरता दिनु त्योभन्दा महत्वपूर्ण हुन्छ । हामीले आज राम्रो फुटबल खेल्नै सकेनौं । यस्तै खेलको निरन्तरता भयो भने चाँही आगामी दिनमा गाह्रो हुन सक्छ । हामी योभन्दा धेरै माथिल्लो स्तरको टिम हौं । आगामी खेलमा सम्पूर्ण रुपमा फरक नाइजेरियालाई समर्थकले मैदानमा देख्न पाउनेछन् । हामी पूर्ण रुपमा सुधारिएको प्रदर्शनका साथ प्रस्तुत हुनेछौं ।’
मैदानमा प्रभावशाली नै देखिए पनि नाइजेरियाले गोलका लागि ३६ औं मिनेटसम्म कुर्नुपरेको थियो । सेमी अजायीले एलेक्स इवोबीको क्रसलाई हेडमार्फत गोलमा परिणत गरेपछि मात्र टोली अग्रता लिन सफल भयो ।
चाल्र्स एममोम्ब्वाले दोस्रो हाफको सुरुआतमै खेल बराबरीमा ल्याए । नोभाटस मिरोसीले मिलाइदिएको अवसरलाई एममोम्बाले ५१ औं मिनेटमा गोलमा परिणत गरेका थिए । तर त्यो बराबरी लामो समय टिक्न सकेन ।
नाइजेरियाको जितमा नायक बनेका इबोबीले नै अर्को गोलको अवसर सिर्जना गरेपछि ५३ औं मिनेटमै एडेमोला लुकम्यानले गोल गरे । खेलमा पर्याप्त दबाब सिर्जना गरे पनि थप गोल गर्न नसक्दा नाइजेरियाका लागि त्यही गोल विजयी गोलमा परिणत भयो ।
मंगलबारै सम्पन्न समूह ‘सी’ को अर्को खेलमा ट्युनिसियाले युगान्डामाथि ३–१ को जित हासिल गर्यो । टोलीको जितमा इलियास आचौरीले दुई तथा इलिस एसखिरीले एक गोल गरेका थिए ।
मोरक्कोमा स्थानीय समर्थकको साथ तुलनात्मक रुपमा बढि नै पाएको युगान्डाका लागि डेनिस ओमेडीले इन्ज्युरी समयमा एउटा सान्त्वना गोल गरेका थिए ।
समूहमा शनिबार नाइजेरिया र ट्युनिसियाबीच खेल हुनेछ ।
प्रतियोगितामा आज समूह ‘इ’ मा बुर्किना फासो र इक्वाटोरियल गुएना तथा अल्जेरिया र सुडानबीच खेल हुनेछ । यसैगरी समूह ‘एफ’मा आइभोरी कोष्टले मोजाम्बिकसँग खेल्दा क्यामरुनले गाबोनसँग प्रतिस्पर्धा गर्नेछ ।
