काठमाडौंं । कोशी प्राइड प्रालीको आयोजनामा प्रदेश स्तरको फ्रेन्चाइज प्रतियोगिता कोशी प्राइड लिग (केपिएल) तेस्रो संस्करण फागुन ९ देखि २१ गतेसम्म हुने भएको छ ।
‘नेपाल क्रिकेट संघ (क्यान), क्यानका सचिव पारस खड्का र कोशी प्रदेश क्रिकेट संघको हौसलामा’ गरिन लागेको भन्दै प्रतियोगितामा सात फ्रेन्चाइज टोलीको सहभागिता रहने केपिएलका निर्देशक अफजल हुसेनले आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
हुसेनका अनुसार प्रतियोगितामा नमुना ब्लास्टर्स, इटहरी आदर्श जायन्ट्स, बिर्तामोड हिट्स, पूर्वेली सुपरकिंग्स, एभरेष्ट थन्डर्स, बिएन कोशी अर्नास र गोर्खा एभेन्जर्सको सहभागिता रहनेछ ।
हुसेनले सबै सात फ्रेन्चाइज टोलीका मालिकको नाम पनि पत्रकार सम्मेलनमै सार्वजनिक गरे । जसअनुसार नमुना ब्लास्टर्सको मालिक धर्म न्यौपाने छन् भने इटहरी आदर्श जायन्ट्सका मालिक कल्पित ढकाल हुन् ।
यसैगरी बिर्तामोड हिट्स अनुराग प्रमानिकको स्वामित्वमा रहँदा पूर्वेली सुपरकिंग्सका मालिक भरत कार्की रहेका छन् । त्यस्तै एभरेष्ट थन्डर्सका मालिक आकाश खड्का हुन भने बिएन कोसी अर्नासका मालिक मोहम्मद सेराज अन्सारी तथा गोर्खा एभेन्जर्सको मालिक विजय खड्का र पुजनबाबु भट्टराई रहेको हुसेनले जानकारी गराए ।
उनका अनुसार प्रतियोगिताका सहभागी प्रत्येक टोलीमा कम्तिमा ११ खेलाडी राख्नुपर्ने नियम छ । जसमा एक मार्की, एक आइकोनिक, तीन राष्ट्रिय टिमका खेलाडी ड्राफ्टबाट छान्नुपर्ने, क्याटेगोरी ‘ए’ का तीन, क्याटेगोरी ‘बी’ का दुई तथा क्याटेगोरी ‘सी’ का एक खेलाडी रहनुपर्ने प्रावधान छ ।
टिम निर्माणका लागि चाँडै अक्सन गर्ने उनले बताए । अक्सनका लागि आयोजकले खुल्ला खेलाडी दर्ता प्रक्रिया सुरु गरिसकेको छ । खेलाडीले आफ्नो नाम दर्ता माइपे एपबाट गर्न सक्नेछन् । अक्सनमा क्याटगोरी क्याटगोरी ‘ए’ को मुल्य न्युनतम ४५ देखि ६५ हजारसम्म, क्याटगोरी ‘बी’ को लागि २५ देखि ४५ हजारसम्म तथा क्याटगोरी ‘सी’ को मुल्य पाँच हजारदेखि २५ हजारसम्म तोकिएको छ ।
प्रतियोगिताका मुख्य अतिथि क्यानका सचिव पारस खड्काले कोशी प्राइड लिग भव्य सफलताको लागि शुभकामना दिए । ‘घरेलु क्रिकेटलाई व्यवसायिक बनाउन यस्तो प्रतियोगिता हुनु राम्रो कुरा हो । कोशी प्राइड लिग तेस्रो संस्करण हुँदैछ । त्यसको लागि टिमलाई शुभकामना छ,’ सचिव खड्काले भने, ‘आफैले निजि मैदानलाई परिपक्क बनाएर प्रतियोगिता गर्दै हुनुहुन्छ । कोशी प्राइड लिग हुँदा अन्य प्रदेशलाई पनि यस्तै बिगेस्ट लिग गर्न अवसर छ ।’
प्रतियोगिताको संयोजक गोविन्द पौडेलले कोशी प्राइड लिग क्रिकेट प्रतियोगिता मात्र नभई युवा प्रतिभाको पाहिचान गर्ने स्थलो भएको र यसले नेपाली क्रिकेट विकासमा मद्धत गर्ने धारणा राखे ।
सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष तथा टेक्निकल हेड चेतनाथ पौडेलले कोशीले क्यान निलम्बन हुँदा पनि प्रतियोगिता आायोजना गर्दै आएको र यो लिगले खेलाडीको क्षमता बढाउन सहयोग पुग्ने बताएका छन् । ‘हामीले लामो समय देखि कोशीमा विभिन्न प्रतियोगिता गर्दै आइरहेका छौं । क्यान निलम्बन हुँदा समेत सुनसरीमा लिग गर्न सफल भएको थियौ । कोशीमै गतिलो मैदान नहुँदा कोशी प्राइड लिग हुनु सुखद् हो । यसले खेलाडीलाई सुसज्जित बनाउन तथा ब्यक्तिगत क्षमता बढाउन सहयोग गर्नेछ ।
झापा जिल्ला क्रिकेट संघका अध्यक्ष प्रबिन थापाले एनपिएलको चर्चापछि धेरै स्थानीय लिग सुरु हुँदै गएको बताए । उनले एनपिएलमा खेल्न नपाएका खेलाडीको लागि यो प्रतियोगितामा क्षमता देखाउने माध्यम भएको बताएका छन् । ‘दोस्रो एनपिएल भर्खरै सम्पन्न भएको छ । एनपिएलको चर्चा पछि धेरै प्रतियोगिता भएका छन् । निरन्तर गर्न सक्नु नै ठूलो कुरा हो । कोशी प्राइड लिग प्रतियोगिता एनपिएलमा सहभागी नभएका खेलाडीकोलाई मौका समेत हो ।’
‘यही प्रतियोगिताबाट कोशी प्रदेश क्रिकेटको विकाससँगै ग्रासरुट कार्यक्रम राम्रो हुनेमा आशावादी छौं । यही प्रतियोगिताबाट नेपालीको सपना बनेको नेपाल प्रिमियर लिग (एनपिएल)का लागि नयाँ खेलाडी उत्पादन हुने हाम्रो विश्वास छ । हामीले प्रतियोगिताका लागि तयारी भव्य रुपमा अगाडि बढाएका छौ,’ प्रतियोगिताका निर्देशक हुसेनले भने ।
