काठमाडौं । जेम्स विद्यालयको खेलकुद तथा अतिरिक्त क्रियाकलाप विभागको आयोजनामा संचालन भइरहेको तेस्रो थन्डरबोल्ट्स कप २०२५ अन्तर्गत जुडो र तेक्वान्दोको प्रतिस्पर्धा आइतबार सम्पन्न भएको छ ।
तेक्वान्दोको छात्रा र छात्रतर्फ विभिन्न तौल समूहमा प्राप्त नतिजाको आधारमा जेम्स स्कुलले दुवैतिर पहिलो स्थान हासिल गरेको छ । छात्रातर्फ जेम्स पहिलो हुँदा लाइफ भिजन स्कुल दोस्रो र जुपिटर स्कुल तेस्रो भए भने छात्रतर्फ, लाइफ भिजन स्कुल दोस्रो र पुष्पाञ्जली स्कुल तेस्रो भएका छन् ।
उक्त प्रतिस्पर्धामा जुपिटर स्कुलकी रिकिशा लोले छात्रातर्फ उत्कृष्ट फाइटरको सम्मान प्राप्त गरिन् भने जेम्स स्कुलका स्लोक सुबेदी छात्रतर्फ उत्कृष्ट फाइटर घोषित भए ।
यस्तै जुडोको छात्रा र छात्रतर्फ विभिन्न तौल समूहका नतिजा पछि अंकको आधारमा छात्रतर्फ जेम्स स्कुल प्रथम, बाल विकास स्कुल दोस्रो र हार्दिक एकेडेमी तेस्रो स्थान हात पार्न सफल भएका छन् । त्यस्तै छात्रातर्फ बाल विकास स्कुल प्रथम, जेम्स स्कुल दोस्रो र नेपाल युवक स्कुलले तेस्रो स्थान हात पारे ।
उक्त स्पर्धामा बाल विकास स्कुलकी अलिशा परियार छात्रा तर्फ उत्कृष्ट खेलाडी भइन् भने जेम्स स्कुलका आर्यन खड्काले छात्रतर्फ उत्कृष्ट खेलाडीको उपाधि जिते ।
देशभरीका १०७ विद्यालयका ३५ सय भन्दा बढी खेलाडीहरूको सहभागिता रहेको बृहत विद्यालय खेलकुद यहि पुस ९ गते सम्पन्न हुनेछ ।
