काठमाडौं । आयोजक मातृभूमि स्कुलको ‘ए’ टिमले आइतबार सम्पन्न मातृभूमि कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा छात्रतर्फको उपाधि जितेको छ । छात्रातर्फ भने बौद्ध चिल्ड्रेन हेभन स्कुलले उपाधिमा कव्जा जमायो ।
सानोथिमीस्थित आफ्नै कोर्टमा भएको छात्रको फाइनलमा मातृभूमि ‘ए’ ले आफ्नै ‘बी’ टिमलाई ५६–२४ को स्कोरमा पराजित गरेको थियो । खेलमा मातृभूमि ‘ए’ का आभास राउतले सर्वाधिक १८ स्कोर गरे ।
छात्रातर्फ उपाधि भिडन्तमा बौद्ध चिल्ड्रेनले चेल्सी वल्र्ड स्कुललाई ३४–२८ को नतिजामा हरायो । बौद्ध चिल्ड्रेनका लागि फाइनलमा जस्मिन गुरुङले सर्वाधिक १८ स्कोरको योगदान गरेकी थिइन ।
फाइनलमा सर्वाधिक स्कोर गर्ने आभास र जस्मिन आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । छात्रमा मातृभूमि ‘ए’ का सक्षम महर्जन र इनोभेटिभका रिजन खनाल तथा छात्रामा मातृभूमिकी साइजा श्रेष्ठ उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए ।
छात्रमा मातृभूमि ‘बी’ का प्रयास ढकाल तथा छात्रामा चेल्सीकी तेन्जिङ कुसाङ शेर्पा प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने । छात्रमा प्यारागन पब्लिक र छात्रामा केएमसीले अनुशासित टिमको पुरस्कार पाए ।
विजेतालाई मातृभूमिका संस्थापक निर्देशक मनोज पन्त र संस्थापक प्रिन्सिपल प्रकृती केसी पन्तले पुरस्कृत गरे । आठ दिन सम्म चलेको प्रतियोगिताको छात्र र छात्रा दुवैतर्फ समान ८ टिमले प्रतिस्पर्धा गरेका थिए ।
