काठमाडौं । अब त नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करण सकिएको पनि साता दिन भइसक्यो । अझै पनि यसको चर्चा सेलाएको छैन । फाइनल एक प्रकारले ‘एन्टी क्लाइमेक्स’ नै रह्यो भन्दा हुन्छ । जस्तो अपेक्षा गरिएको थियो, उपाधि भिडन्तले त्यस्तो स्वाद पस्कन सकेन । लुम्बिनी लायन्सले फाइनलमा सुदूरपश्चिम रोयल्समाथि हात पारेको जित लगभग एकपक्षीय थियो । अझ भन्ने हो भने फाइनलमा सुदूरपश्चिमले लुम्बिनीसामु आत्मसमर्पण गरेजस्तै देखियो । साँच्चै भएको चाहिँ के थियो त ?
यहाँनिर हामी जित–हारको गणितीय समीकरण खोज्न लागेको होइन । बरू, त्यसको दर्शन खोज्ने प्रयास गर्छौं । सबैभन्दा पहिले पृष्ठभूमि नै । एनपीएलमा अहिलेसम्म दुई संस्करण मात्रै भएको छ । त्यसमा सबैभन्दा सफल टिमका रूपमा सुदूरपश्चिम अगाडि आउँछ ।
उसले ४ खेल खेलिसक्दा लगभग प्रतियोगिताबाट बाहिरिने स्थिति थियो । थप एक अर्को हार अनि प्रतियोगितामा चुनौती समाप्त । तर यहींबाट टिमले लय समात्यो ।
यो टिमले जत्तिको जित अरू कसैले निकाल्न सकेको छैन । भलै, सुदूरले दुईपल्ट फाइनल खेलेर पनि उपाधि जित्न सकेको छैन । दुवै सिजन लिग चरणको समाप्तिमा शीर्षमा रहेको टिम सुदूरपश्चिम नै थियो । सिधा अर्थमा भन्दा यो टिमलाई हराउन गाह्रै पर्छ ।
त्यस अर्थमा सुदूरपश्चिम एनपीएलको एक मात्र स्थापित शक्ति बनाएको छ । यसको ठीक विपरीत लुम्बिनीको गत सिजनमा प्रदर्शन निकै खराब थियो, सबैभन्दा कमजोर टिम यही थियो । लिग चरणमा सबैभन्दा पुछारमा रहेको टिम यही थियो । यो सिजन पनि लिग चरणमा लुम्बिनीको सुरुआत राम्रो रहेन र उसले ४ खेल खेलिसक्दा लगभग प्रतियोगिताबाट बाहिरिने स्थिति थियो । थप एक अर्को हार अनि प्रतियोगितामा चुनौती समाप्त । तर यहींबाट टिमले लय समात्यो ।

लुम्बिनीले त्यसपछिका ६ खेल लगातार जितेको छ । यसमा एउटा फाइनल पनि पर्छ । यति भन्दाभन्दै पनि लुम्बिनीलाई हामी एनपीएलको छोटो इतिहासमा स्थापित टिम मान्न सक्दैनौं । तर यही टिमले किन उपाधि जित्यो त ? यसको विश्लेषण गर्न खेलकुदमा प्रायः एउटा दर्शनको प्रयोग हुन्छ । त्यो हो, ‘डेविड र गोलियत’ को कथा । यो बाइबलको प्रसिद्ध कथा हो । त्यसमा डेविडले ढुंगा र गुलेलीकै भरमा शक्तिशाली गोलियतलाई हराएको थियो । गोलियतसँग के मात्र थिएन, सबै थियो ।
भारी सुरक्षा कवचदेखि लिएर हतियार । तर जित डेविडकै भयो । जति–बेला खेलकुदमा बलियो मानिएको टिमलाई कमजोर मानिएको प्रतिद्वन्द्वीलाई हराउँछ, फेरि एकपल्ट ‘डेविड र गोलियत’ को कथा दोहोर्याएर सुनाउने काम हुन्छ ।
रोहितमा पक्कै पनि त्यस्तो केही न केही गुण छ, जसले क्रिकेट मैदानमा उनलाई अब्बल दर्जाको कप्तानी गुण दिएको छ ।
यो कथाले दिन खोजेको नैतिक शिक्षा के हो भन्दा शारीरिक शक्तिभन्दा पनि साहस ठूलो हो । जसले चुनौतीको बहादुरीपूर्वक सामना गर्छ, जित उसकै हुन्छ । यसपल्टको एनपीएल फर्केर हेर्दा लाग्दैन र लुम्बिनी डेविड हो भने सुदूरपश्चिम गोलियत ?
यहाँनिर हामीले लुम्बिनीका कप्तान रोहित पौडेललाई कसरी बिर्सन सक्छौं र ? उनी नेपाली राष्ट्रिय टोलीका पनि कप्तान हुन् । उनले सिद्ध गरेका छन्, यो खेलमा एउटा नेतृत्व गरिरहेको खेलाडीले कसरी टिमलाई अगाडि बढाउनुपर्छ भनेर । अहिलेको होइन, त्यस अगाडिको आईसीसी डिभिजन–टु वर्ल्ड क्रिकेट सिरिजमा रोहितकै नेतृत्वमा नेपालले जसरी लगातार जित निकालेको थियो, त्यो संयोग मात्र थिएन भन्ने प्रमाणित भएको छ । रोहितमा पक्कै पनि त्यस्तो केही न केही गुण छ, जसले क्रिकेट मैदानमा उनलाई अब्बल दर्जाको कप्तानी गुण दिएको छ ।

अन्त्यमा, सुदूरपश्चिमसँग जोडिएको एउटा संयोग । यसका लागि हामीले नेपाली फुटबलसँग जोडिएको फ्रेन्चाइज फुटबल लिगको प्रसंग पनि उप्काउनुपर्ने हुन्छ । अहिलेसम्म नेपाल सुपर लिग (एनएसएल) का तीन संस्करण भए । त्यसमध्ये सुरुआती दुई सिजन फाइनल पुगेर पनि उपविजेतामै सीमित हुनुपरेको टिम थियो, धनगढी एफसी । त्यस प्रतियोगितामा पनि धनगढी सबैभन्दा सफल र लोकप्रिय टिम हो, तर दुईपल्ट फाइनल खेलेर पनि उसले एकपल्ट पनि जित्न सकेको छैन ।संयोग यहींनिर हो, यी दुवै टिम फुटबलको धनगढी र क्रिकेटको सुदूरपश्चिम धेरै अर्थमा एकअर्कोसँग जोडिएका टिम हुन् । दुवै टिमसँग भूगोलदेखिको भावना एउटै छ । अनि यससँग जोडिएका मानवीय वृत्त । साँच्चै यस्तो किन भयो होला, सायद यसको दर्शन भने छैन । यो भने संयोग नै हो, ठ्याक्कै संयोग नै । बरू एउटा काम भने गर्न सकिन्छ, फुटबलमा धनगढी र क्रिकेटमा सुदूरपश्चिम किन पो फाइनलमा लगातार पराजित रह्यो होलान् भनेर गहिरिएर विश्लेषण भने गर्न सकिन्छ ।