काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसिसी यु-१९ एसियन कपमा नेपाल जितविहीन हुँदै बाहिरिएको छ ।
बुधबार दुबईस्थित दि सेभेन्स रंगशालामा सम्पन्न समूहको अन्तिम खेलमा नेपालले अफगानिस्तानसँग ६ विकेटको पराजय बेहोर्यो ।
नेपालले दिएको १२५ रनको सामान्य लक्ष्य अफगानिस्तानले २६.५ ओभरमा सबै विकेट गुमाउँदै पूरा गर्यो । अफगानिस्तानका लागि चौथो नम्बरका ब्याटर उजइरुल्लाह नियाजाईले ६१ रनको सानदार पारी खेले । त्यस्तै ओपनर ओसमान सदातले २८ रन बनाए । यसैगरी अर्का ओपनर फैजल सिनोजदाले १३ रन बनाउँदा कप्तान महबूब खान र अजिजुल्लाह मियाखिलले समान ११ रन जोडे ।
नेपालका लागि अभिशेष तिवारीले दुई विकेट लिए । त्यस्तै विपीन शर्मा र चन्दन रामको नाममा एक विकेट रह्यो ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४६.४ ओभरमा सबै विकेट गुमाउँदै १२४ रनको योगफल खडा गरेको थियो । नेपालका लागि दिलसाद अलीले ३२ रन बनाए । त्यस्तै चन्दन रामले २७ र अभिशेष तिवारीले २० रन जोडे । यसैगरी रोशन विश्वकर्माले १२ रनको योगदान गरे ।
अफगानिस्तानका लागि जैतुल्लाह शाहीनले तीन विकेट लिए । त्यस्तै अब्दुल अजिज, नूरिस्तानी ओमारजाई र वाहिदुल्लाह जद्रानले समान दुई विकेट लिए । यसैगरी सलाम खानको नाममा एक विकेट रह्यो ।
समूह ‘बी’मा रहेको नेपालको यो लगातार तेस्रो हार हो । यसअघि नेपालले श्रीलंकासँग आठ र बंगलादेशसँग सात विकेटको हार बेहोरेको थियो । यो समूहबाट बंगलादेश र श्रीलंकाले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरे ।
