काठमाडौं । घरेलु टोली वेस्ट इन्डिजविरुद्धको अन्तर्राष्ट्रिय ट्वान्टी-२० शृंखला पाकिस्तानले आफ्नो पक्षमा पारेकाे छ ।
सोमबार सेन्ट्रल ब्रोवार्ड रिजिनल पार्क रंगशालाको टर्फ मैदानमा सम्पन्न तेस्रो तथा निर्णायक खेलमा पाकिस्तान १३ रनले विजयी भयो ।
जितसँगै पाकिस्तानले तीन खेलको शृंखला २-१ ले कब्जा गर्यो । यसअघि पाकिस्तान १५ रन र वेस्ट इन्डिज दुई विकेटले विजयी भएका थिए ।
पाकिस्तानले प्रस्तुत गरेको १९० रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभर नै ब्याटिङ गरे पनि ६ विकेट गुमाउँदै १७६ रन बनायो ।
वेस्ट इन्डिजका लागि एलिक एथानाजेले ४० बलमा आठ चौका र एक छक्काको मद्दतले सर्वाधिक ६० रनको योगदान गरे । यसैगरी शेर्फन रादरफोर्डले ३५ बलमा चार चौका र तीन छक्कासहित ५१, ज्वेल एन्ड्रयुले २४, रोस्टन चेजले १५ र गुडाकेश मोतीले अविजित १० रन बनाए ।
पाकिस्तानका लागि हसन अली, मोहम्मद नवाज, ह्यारिस रौफ सइम अयुब, सुफियान मुकिमले समान एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १८९ रनको योगफल तयार पारेको थियो ।
पाकिस्तानका लागि सहिबजाद फरहानले ५३ बलमा पाँच छक्का र तीन चौकाको मद्दतले सर्वाधिक ७४ रनको योगदान गरे । यसैगरी सइम अयुब ४९ बलमा चार चौका र दुई छक्कासहित ६६, हसन नवाजले १५, खुसदिल शाहले अविजित ११ र फहिम असरफले अविजित १० रन बनाए ।
पहिलो विकेटका लागि फरहान र अयुबले १३८ रनको साझदारी गरेका थिए । वेस्ट इन्डिजका लागि जेसन होल्ड, रोस्टन चेज र शमर जोसेफले समान एक विकेट लिए ।