काठमाडौं । नेपाल एपिएफ क्लबले साफ महिला क्लब च्याम्पियनसिपमा नासरिन स्पोर्र्टस क्लबविरुद्ध ४–० को सानदार जित हासिल गरेको छ ।
शुक्रबार प्रतियोगिताको पहिलो दिन त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न दोस्रो खेलमा एपिएफलाई जित दिलाउन स्ट्राइकरद्धय रश्मिकुमारी घिसिङ र मीना देउवाले समान दुई गोल गरे । पहिलो हाफमा एक गोलको अग्रता बनाएको एपिएफले त्यसपछि तीन गोल गर्यो ।
बल पोसेसन कायम राखे पनि गोलका लागि संघर्ष गरिरहेको एपिएफका लागि रश्मीले खेलको ३७औं मिनेटमा ‘डेडलक’ तोडेकी थिइन् ।

रश्मीको गोल हिराकुमारी भुजेलको क्रसबाट सम्भव भएको हो । राइट साइडबाट हिराको क्रसलाई रश्मीले बललाई पोस्टको दिशा दिन खोजिन् । तर, बल अनियन्त्रित रक्षापङ्क्तिमा अल्झियो । अल्झिएको बललाई अर्का स्ट्राइकर मीना देउवाले रश्मीलाई ‘ब्याक पास’ खेलिदिइन् । प्राप्त बललाई रश्मीले पहिलो बारको दिशा दिइन् ।
त्यसअघि खेलको १० मिनेटभित्र एपिएफ दुईपटक गोलको निकै करिब थियो । तर, अनिता बस्नेत र रश्मीको प्रहार गोलकिपर मेघला रानी रोयले बचाएकी थिइन् ।
दोस्रो हाफमा मीनाले ७०औं मिनेटमा अग्रतालाई दोब्बर बनाइन् । त्यसपछि रश्मीले ८०औं मिनेटमा गोल गरेपछि एपिएफ ३–० ले अगाडि बढेको थियो । इन्जुरी समयमा मीनाले फेरि गोल गरिन् ।
