काठमाडौं । जेक वेथराल्ड, मार्नुस साबुसेंगे र कप्तान स्टटेभन स्मिथले अर्धसतक प्रहार गरेपछि अस्ट्रेलियाले एसेज शृंखलाको दोस्रो टेस्टको पहिलो इनिङमा इङ्ल्यान्डमाथि ४४ रनको अग्रता लिएको छ ।
ब्रिसबेनमा बिहीबार सुरु भएको टेस्टको पहिलो दिनको खेल समाप्तीमा इङ्ल्यान्डले ९ विकेट गुमाएर ३२५ रन बनाएको थियो । इङ्ल्यान्डका लागि जोए रुटले अस्ट्रेलियामा करियरको पहिलो सतक प्रहार गरेका थिए ।
शुक्रबार अघिल्लो दिनको योगफलमा ९ रन थपेपछि जोफ्रा आर्चर ब्रेन्डन डगेटको बलमा लाबुसेंगेको हातबाट क्याच हुँदै पवेलियन फर्किएपछि इङ्ल्यान्डको इनिङ समाप्त भएको थियो ।
जवाफमा आक्रामक सुरुआत गरेको अस्ट्रेलियाले दोस्रो दिनको खेल समाप्तीमा ६ विकेट गुमाएर ३७८ रन बनाएको छ । टोलीका लागि ट्राभिस हेड र वेथराल्डले पहिलो विकेटका लागि ७७ रनको साझेदारी गरे । हेड ४३ बलमा ३ चौका र १ छक्कासहित ३३ रन बनाएर पवेलिया फर्किए पनि उनका ओपनिङ पार्टनर वेथराल्डले ७२ रनको प्रभावशाली इनिङ खेले । वेथराल्डले ७८ बलमा १२ चौका र १ छक्का प्रहार गरेका थिए । उनले दोस्रो विकेटका रुपमा पवेलियन फर्किनुअघि लाबुसेंगेसँग ६९ रनको साझेदारी गरे ।
७८ बलमै ९ चौका र १ छक्कासहित ६५ रन बनाएका लाबुसेंगेले तेस्रो विकेटका रुपमा आफै आउट हुनुअघि कप्तान स्मिथसँग ५० रनको साझेदारी गरेका थिए । ८५ बल खेलेका कप्तान स्मिथले ५ चौका र २ छक्का प्रहार गर्दै ६१ रन जोडेका थिए ।
अस्ट्रेलियाको इनिङमा क्यामरुन ग्रिनले ४५ तथा जोस इन्ग्लिसले २३ रन थपे । दोस्रो दिनको खेल सकिँदा एलेक्स क्यारी ४६ तथा माइकल निसेर १५ रनमा अविजित छन् । क्यारीले ४५ बलमा ५ चौका प्रहार गरेका छन् भने ३० बल खेलेका माइकलले १ चौका प्रहार गरेका छन् ।
इङ्ल्यान्डका ब्राइडन कार्सले ३ विकेट लिँदा बेन स्टोक्सले २ तथा जोफ्रा आर्चरले १ विकेटमा नाम लेखाए ।
अघिल्लो दिन १३५ रन प्रहार गर्दै रुटले अस्ट्रेलियामा सतकको खाता खोलेका थिए । अस्ट्रेलियामा पहिलो भए पनि रुटको करियरमा यो ४०औं टेस्ट सतक थियो ।
२०२ बल सामना गरेका रुटले अविजित रहेरै चिर प्रतिद्धन्द्धीको मैदानमा १३५ रन बनाउँदा १५ चौका र १ छक्का प्रहार गरेका थिए ।
रुटले प्रभावकारी ब्याटिङ गरे पनि इङल्यान्डको इनिङ भने फेरि एकपटक निक्कै उतारचढावपूर्ण प्रदर्शनको सिकार भएको थियो । पिंक बलका माहिर मिचेल स्टार्कले ७१ रन खर्चेर ६ विकेट लिँदा इङ्ल्यान्डका चार जना ब्याटर खाता पनि नखोलीकन पवेलियन फर्किनुपरेको थियो ।
ओपनर जाक क्रलीले दमदार प्रदर्शनका साथ ९३ बलमा ११ चौकासहित ७६ रनको इनिङ खेले पनि अन्य ब्याटरबाट उनले अपेक्षित साथ पाएनन् । उनका ओपनिङ पार्टनर बेन डकेट पहिलो बलमै स्टार्कको सिकार भए भने लगत्तै ओली पोप पनि स्टार्कबाट खाता खोल्न नपाउँदै आउट भएका थिए ।
त्यसपछि आएका रुटले इनिङ सम्हालेपछि इङ्ल्यान्ड नाटकीय पतनबाट जोगिएको थियो । इङ्ल्यान्डको इनिङमा ह्यारी ब्रुकले ३१ तथा कप्तान बेन स्टोक्स र विल ज्याक्सले समान १९ रनको योगदान गरे ।
यसअघि पर्थमा नोभेम्बर २१ बाट सुरु भएको पहिलो टेस्टमा अस्ट्रेलियाले दुई दिनमै ८ विकेटको जित हासिल गरेको थियो ।
