काठमाडौं । एथलेटिक क्लब बिल्बाओविरुद्ध ३-० को सहज जित निकाल्दै रियाल मड्रिडले स्पेनिस ला लिगामा बार्सिलोनासँगको अंक दूरी घटाएको छ ।
जितसँगै १५ खेलमा ३६ अंक जोडेको रियाल दोस्रो स्थानमा छ । यो शीर्ष स्थानको बार्सिलोनाको भन्दा एक अंक कम हो । यता पराजित एथलेटिक समान खेलबाट २० अंकका साथ आठौं स्थानमा छ ।
बुधबार सान मामेस रंगशालामा पाहुना टोली रियाललाई जित दिलाउन किलियन एमबाप्पेले दुई र एडुवार्डो कामाभिङ्गाले एक गोल गरे ।
खेलको सातौं मिनेटमै एमबाप्पेको गोलमार्फत रियालले अग्रता लिएको थियो । उनले ट्रेन्ट अलेक्सजेन्डर आर्नोल्डले उपलब्ध गराएको बललाई पोस्टको दिशा दिए ।
कामाभिङ्गाले ४२औं मिनेटमा एमबाप्पेको पासलाई सदुपयोग गर्दै टोलीको अग्रता दोब्बर बनाए । एमबाप्पेले ५९औं मिनेटमा व्यक्तिगत दोस्रो तथा रियालका तेस्रो गोल गरे । यस पटक उनले अल्भारो कारेरासको पासलाई जाली चुमाए ।
