कार्तिक १५, २०८२ शनिबार | ०७:४९:१५
स्वार्थ समूहको गोल चक्करमा नफसुन जेन्जी मन्त्री अस्तव्यस्त भ्रमणमा सान्त्वना जितको अर्थ नेपालले कहिले पाउँछ टेस्ट मान्यता ? राष्ट्रिय फुटबल टिमः प्रशिक्षकहरू आएगए ‘फेरि अर्काे प्रतियोगितालाई दुई वर्ष कुर्न नपरोस्’ लिभरपुललाई भयो के ? दोस्रो ट्वान्टी-२० मा अस्ट्रेलिया विजयी एथलेटिक्स खेलाडी सम्मानित विराटनगर भित्रिए फाफ डुप्लेसिस हरि खड्का राष्ट्रिय फुटबल टोलीको अन्तरिम मुख्य प्रशिक्षकमा नियुक्त स्वार्थ समूहको गोल चक्करमा नफसुन जेन्जी मन्त्री अस्तव्यस्त भ्रमणमा सान्त्वना जितको अर्थ नेपालले कहिले पाउँछ टेस्ट मान्यता ? राष्ट्रिय फुटबल टिमः प्रशिक्षकहरू आएगए ‘फेरि अर्काे प्रतियोगितालाई दुई वर्ष कुर्न नपरोस्’ लिभरपुललाई भयो के ? दोस्रो ट्वान्टी-२० मा अस्ट्रेलिया विजयी एथलेटिक्स खेलाडी सम्मानित विराटनगर भित्रिए फाफ डुप्लेसिस हरि खड्का राष्ट्रिय फुटबल टोलीको अन्तरिम मुख्य प्रशिक्षकमा नियुक्त
शनिबारको दिन

स्वार्थ समूहको गोल चक्करमा नफसुन जेन्जी मन्त्री

काठमाडौं । भदौको अन्त्यमा भएको जेन्जी आन्दोलनले तत्कालै सरकार परिवर्तन गरे पनि युवा तथा खेलकुद मन्त्रालयले भने यही साता मात्र नेतृत्व पायो ।

उमेरले पनि जेन्जी मन्त्रीका रूपमा खेलकुद मन्त्रालयको नेतृत्व बब्लु गुप्ताले लिएका छन् । मन्त्री भएको दुई दिनमै भारत भ्रमणमा रहेको महिला राष्ट्रिय फुटबल टोलीको व्यवस्थापन कमजोरीमाथि एन्फा महासचिवलाई हकारेर चर्चा कमाएका मन्त्री गुप्ताको चासो फुटबलमै बढी देखिन्छ ।

फुटबल देशको सबभन्दा लोकप्रिय मध्येको एक खेल हो । तर, त्यो खेल पछिल्लो समय ओरालो लागिरहेको समय एउटा युवा मन्त्रीले चासो दिनु स्वाभाविक हो । विकास बजेटको मामिलामा मन्त्रालयकै हाराहारीमा एन्फाको ढुकुटी छ । तर भ्रष्टाचार र कुशासनको सबभन्दा बढी विवाद पनि यही खेलमा छ । यस्तोमा भ्रष्टाचार अन्त्य तथा सुशासन स्थापनाको एजेन्डासहित बनेको सरकारका मन्त्रीले फुटबलमा चासो देखाउनुलाई झनै अन्यथा लिन मिल्दैन ।

फुटबलप्रतिको यही चासो सम्बोधन गर्ने क्रममा मन्त्री गुप्ताले बिहीबार मन्त्रालयमा एन्फा र शीर्ष डिभिजन क्लबहरूसँग छुट्टाछुट्टै बैठक गरे । आफ्नै पहिलो निर्णयअनुरूप उनले ती दुवै बैठकलाई मन्त्रालयको फेसबुक पेजबाट प्रत्यक्ष प्रशारण पनि गरे । दुवै बैठकमा मुख्य रूपमा मन्त्री गुप्ताको चासो झण्डै तीन वर्षदेखि हुन नसकेको शीर्ष डिभिजनको लिग सुचारु गराउने पक्षमा देखिन्थ्यो ।

शीर्ष  डिभिजन क्लब र युवा तथा खेलकुद मन्त्रालयबीचको छलफल । 

क्लबहरुसँगको बैठकमा केही क्लब उपस्थित नै भएनन् भने उपस्थितहरूले एन्फाले लिग गराए आफूहरू खेल्न सधैं तयार रहेको प्रतिबद्धता जनाए । एन्फाले चाँहि लिग गर्न आफू सधैं तयार रहेको तर बजेट अभावका कारण नसकेको स्वीकारेको देखिन्छ । फिफाको अनुदानबाट लिग गर्न नपाइने कारण सरकारले बजेट उपलब्ध गराए र क्लबहरू तयार भए आफू लिग आयोजनाका लागि तयार भएको एन्फा प्रतिनिधिहरूको भनाइ थियो ।

 सबभन्दा बढी विवाद, भ्रष्टाचार, बेथिति मौलाएको फुटबलबाट काम सुरु गर्न खोज्ने उनको प्रयास प्रशंसनीय छ । तर, त्यसमा गृहकार्य नपुगेको प्रष्ट देखिन्थ्यो ।

समग्रमा दुवै बैठकबाट कुनै ठोष निष्कर्ष निस्किएन । वर्षौदेखि एन्फा राजनीतिभित्र लुकेको पदाधिकारीहरूको स्वार्थको खेलमा जकडिएको लिगको गाँठो मन्त्रीले बोलाएको एउटै बैठकबाट खुल्ने सम्भावना पनि थिएन । युवा मन्त्रीको चासो फुटबलमा पर्याप्त देखिए पनि फुटबल प्रशासनका थुप्रै पक्षमाथि उनमा रहेको ज्ञानको कमीमाथि फुटबल नेताहरूले बैठकमा मज्जासँग खेले । मन्त्री गुप्तालाई गफको गोलचक्करमा फसाएर फुटबलको मुख्य मुद्धा ‘भ्रष्टाचार अन्त्य र सुशासन स्थापना’ बाट विषयान्तर गर्न उनीहरू सफल देखिए ।

जेनजी आन्दोलनको मूल मर्म देशमा व्याप्त भ्रष्टाचार अन्त्य गर्दै सुशासन स्थापना गर्नु थियो । त्यही मर्मले पुरानो राजनीतिक व्यवस्थामा गतिलो धक्का हानेर नयाँ नागरिक सरकार स्थापना गर्यो । अनि त्यही जिम्मेवारीका साथ गुप्ताहरू झण्डावाल गाडीको हकदार बने । यस अर्थमा उनको काम भनेको समग्रमा नेपाली खेलकुदबाट भ्रष्टाचारको अन्त्य गर्दै सुशासन स्थापना गर्नु हो ।

दशकौंदेखि भ्रष्टाचार र कुशासनको दलदलमा जाकिएको नेपाली खेलकुदलाई त्यहाँबाट किनारा लगाउनु त्यति सजिलो काम होइन । यो त्यति छिटो पनि हुँदैन । तर साढे चार महिनाको आयु लिएर मन्त्री भएका गुप्ताले त्यसको सुरुआत चाँहि प्रभावकारी तरिकाले गर्नुपर्छ । यस्तो सुरुआत, जसबाट नेपालको खेलकुदले भ्रष्टाचार अन्त्य र सुशासनको गन्तव्य प्राप्त गर्नेमा विश्वास जगाओस् ।

युवा तथा खेलकुद मन्त्रालयबीचको छलफल । 

यस अर्थमा सबभन्दा बढी विवाद, भ्रष्टाचार, बेथिति मौलाएको फुटबलबाट काम सुरु गर्न खोज्ने उनको प्रयास प्रशंसनीय छ । तर, त्यसमा गृहकार्य नपुगेको प्रष्ट देखिन्थ्यो । किनकी बैठकको सार नै ‘फिफाको पैसाबाट लिग गर्न नपाउने र सरकारले पनि आवश्यक पैसा नदिएको कारण फुटबलको मेरुदण्ड वर्षौदेखि घाइते अवस्थामा रहेको’ जस्तो निस्कियो । त्यसमा मन्त्री गुप्ताको प्रतिक्रिया निरिह स्रोताभन्दा माथिल्लो रहन सकेन ।

कुन पैसा कहाँ खर्च गर्ने भन्ने पनि सामान्य प्राविधिक विषय हो । जुन विषयका लागि छुट्याएको पैसा हो त्यसैमा खर्च गर्नुपर्छ भन्ने सामान्य चेतको कुरा हो । 

पटकपटक घोषणा गरेर किन नगरेको ? कहिले लिग, कहिले होम एण्ड अवे, कहिले राष्ट्रिय लिग, कहिले के अनि कहिले के भनेर मूल मुद्धालाई किन विषयान्तर गरिरहेको ? भनेर मन्त्री गुप्ताले प्रतिप्रश्न गर्न सकेनन् । आफैले निकालेको क्यालेन्डर किन कहिल्यै लागु नगरेको भन्ने प्रश्न उनको दिमागमै आएन । महिला र पुरुष दुवैतर्फ सिनियर तथा सबै उमेरसमूहमा लिगसमेत गर्न नसक्ने हो भने त्यतिका धेरै कर्मचारी र पदाधिकारीको के काम ? भनेर सोध्न उनले सकेनन् ।

फिफाको पैसा खर्च गर्न पाइन्न, सरकारले दिएन, क्लबहरू तयार भए एन्फाले लिग गराउँछ, क्लबहरू पनि एन्फाले लिग गराए खेल्न तयार छन् । सहिद स्मारक लिग, राष्ट्रिय लिग, होम एण्ड अवे, लगानी, प्रायोजक, दर्शक यस्तै शव्दावलीमा मन्त्री गुप्ता रुमलिइरहेका होलान् । फुटबल नेताहरूको त्यो छलबाट मुक्त भएपछि मन्त्रीले यथार्थ बुझ्लान् र सम्पूर्ण नेपाली खेलकुदका लागि सुशासनको बाटो खन्न सुरु गर्लान् ।

जेनजी भावनाको रापतापले पूरा देश रन्किइरहेका बेला एउटा जेनजी मन्त्रीको प्रयासमाथि किन यति धेरै शंका भन्ने प्रश्न उब्जन सक्छ । जुन स्वाभाविक हो । तर यो आफैमा मन्त्रीको नियतमाथिको शंका होइन । मन्त्रीलाई स्वार्थ समूहले दिग्भ्रमित नपारुन्, मुख्य एजेन्डा ओझेलमा नपरोस् भनेर सचेत गराउने प्रयास मात्र गरिएको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का  अध्यक्ष पकंकजविक्रम नेम्वाङ (अघिल्लो रोकोबीच )लगायत । 

खासमा यतिबेला विषय लिग गर्न पैसा सरकार की फिफाले दिने भन्ने हुँदै होइन । कुन पैसा कहाँ खर्च गर्ने भन्ने पनि सामान्य प्राविधिक विषय हो । जुन विषयका लागि छुट्याएको पैसा हो त्यसैमा खर्च गर्नुपर्छ भन्ने सामान्य चेतको कुरा हो । यस्ता हल्का कुराहरू मन्त्रालयको बैठकमा उठ्ने अवस्था नै आउनुहुँदैनथ्यो ।

 खेलकुद मन्त्रीले गर्नुपर्ने काम धेरै छन् । किनकी यहाँ अहिलेसम्म खास केही काम भएकै छैन । पुरातन राजनीतिले खेलकुदलाई दोस्रो दर्जामा राखेको थियो ।

फिफा वा सरकारकै पैसामा भर पर्ने हो भने एन्फाको के काम ? प्रायोजक व्यवस्था गर्न नसक्ने हो भने लाखौं तलब खाने त्यतिका कर्मचारी र आफूलाई नेपाली फुटबलको भाग्यविधाता ठान्ने पदाधिकारीको के काम ?

अनि फेरि विषय लिग मात्र पनि होइन । विषय त समग्रतामा सुशासनको हो । फुटबलमा सुशासन छ कि छैन ? छैन भने कसरी सुशासन स्थापना गर्ने भन्ने हो । यो सरकार पनि सुशासन स्थापनाकै म्यान्डेटका लागि हो । हल्काफुल्का स्टन्ट गरेर लोकप्रियता हासिलको प्रयासमा मात्र अल्झिने छुट कम्तीमा यो सरकारलाई छैन । तर मन्त्रीको अपरिपक्वताका कारण निकै स्वच्छ भावना र कडा प्रतिबद्धताका साथ गरिएको प्रयास पनि फगत स्टन्टजस्तो देखिएला भन्ने चिन्ता हो ।

मन्त्री गुप्ताले बिहीबार मन्त्रालयमा बोलाएको बैठक पूर्ण रूपमा असफल भयो भन्न खोजिएको पनि होइन । यो बैठकले कम्तीमा क्लब खेल्न चाँहदैनन् भन्ने एन्फाको आरोप र एन्फा लिग गराउन चाहदैन भन्ने क्लबका आरोपलाई एक हदसम्म आम खेलप्रेमीको माझमै चिरेको छ । प्रत्यक्ष प्रशारणमा हेरेर खेलप्रेमीले दुवै पक्षलाई राम्ररी जान्ने मौका पाएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) काे  बैठक । 

तर मन्त्री गुप्तालाई फुटबलमा गरेको यो प्रयासले नैतिक रूपमा अरु दबाब थपेको पनि बिर्सन मिल्दैन । के अब उनले राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भएका सबै खेलमाथि यसैगरी अभिभावकीय भूमिका निर्वाह गर्छन त् ? त्यसो गर्न एउटा मन्त्रीको समय र ज्ञानले भ्याउँछ त ? नेपाली खेलकुदमा भ्रष्टाचार र कुशासन त सबै खेल र संस्थामा उत्तिकै छ ।

फुटबलमै पनि भ्रष्टाचार र बेथितिका चर्चा धेरै छन् । आरोप-प्रत्यारोपले आम जनता दिग्भ्रमित छन् । लिग मात्र होइन सम्पूर्ण नेपाली फुटबललाई नै सही  ट्रयाकमा  ल्याउनु छ । 

उसै पनि खेलकुद मन्त्रीले गर्नुपर्ने काम धेरै छन् । किनकी यहाँ अहिलेसम्म खास केही काम भएकै छैन । पुरातन राजनीतिले खेलकुदलाई दोस्रो दर्जामा राखेको थियो । निकै तल्लो वरीयताका कार्यकर्ता व्यवस्थापनको माध्यम बनेको थियो, युवा तथा खेलकुद मन्त्रालय । त्यसरी व्यवस्थापन हुन आउने मन्त्रीहरूको राष्ट्रिय राजनीतिमा कुनै प्रभाव हुँदैनथ्यो । खेलकुदमाथिको बुझाई त झनै कमजोर रहेका त्यस्ता कार्यकर्ता पनि आफ्ना स्वार्थभन्दा माथि उठ्न कहिल्यै सकेनन् । कसैले पनि नेपाली खेलकुदमा गर्नुपर्ने केही गरेनन् । गरे त, स्टन्ट मात्र । गरे त, भ्रष्टाचार मात्र । गरे त, कार्यकर्ता र आफन्तको भर्ति मात्र ।

यसकारण गुप्ताले छोटै समयमा पनि नेपाली खेलकुदमा गर्नुपर्ने धेरै छन् । कम्तीमा सुरुआत गर्नुपर्नेछ । जेनजी आन्दोलनको भावनाअनुसार मन्त्रालयमै सुशासन कायम गर्नु छ । राष्ट्रिय खेलकुद परिषद्लाई जिम्मेवार बनाउनु छ । कर्मचारीतन्त्रलाई सही ठाउँमा ल्याउनु छ । नेपाल ओलम्पिक कमिटीको विवाद मिलाउनु छ । संघहरूलाई पारदर्शी र वैधानिक बाटोमा हिडाउँनु छ ।

फुटबलमै पनि भ्रष्टाचार र बेथितिका चर्चा धेरै छन् । आरोप-प्रत्यारोपले आम जनता दिग्भ्रमित छन् । लिग मात्र होइन सम्पूर्ण नेपाली फुटबललाई नै सही  ट्रयाकमा  ल्याउनु छ । आरोप–प्रत्यारोपका बीच सबै विषयमा गम्भीरतापूर्वक छानविन गरेर सत्यतथ्य सार्वजनिक गर्नु छ । यसो गर्न सके गलतले सजाय र गल्ती नै नगरी आरोप खेप्नेहरूले सफाई पाउँछन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारण सभा । 

समग्र खेलकुदलाई सही बाटोमा ल्याउने यो महाअभियानलाई फुटबल लिग आयोजनाको विषयमा स्वार्थ समूहले दिग्भ्रमित पार्न नसकुन् । सहायक र हावादारी विषय ल्याएर मुख्य मुद्दालाई विषयान्तर गर्न खप्पिस नेपाली खेलकुदका ब्वासाहरूले मन्त्रीको सुशासन अभियानको आन्द्राभूडी निकाल्न नपाउन !