काठमाडौं । हाइपएती इभेन्ट्स र इ-प्लानेट एजुकेसनल कन्सल्टेन्सीको सहकार्यमा राष्ट्रव्यापी अन्तरविद्यालय टी-१० क्रिकेट प्रतियोगिता हुने भएको छ ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता आगामी माघ ९ देखि १२ गतेसम्म हुने जानकारी दिइयो ।
देशभरका विद्यालयलाई सहभागी गराउने उद्देश्यले सातै प्रदेशमा छनोट प्रतियोगिता गर्न लागिएको हाइपएतीको सिइओ एलिजा थापाले बताइन् । छनोट प्रतियोगिता आगामी
पुस ३ गते हुने आयोजकले जनाएको छ ।
इटहरी, जनकपुर, बुटवल, पोखरा, सुर्खेत, धनगढी र काठमाडौंमा प्रदेश छनोट हुनेछन् । छनोटबाट हरेक प्रदेशबाट एक टोलीले राष्ट्रिय प्रतियोगितामा स्थान बनाउने छन् ।
प्रदेश विजेताले ५० हजार रूपैयाँ पाउने छन् । मुख्य प्रतियोगितामा सात प्रदेश र आयोजकको एक गरि आठ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगितामा कक्षा ११ र १२ का विद्यार्थीले मात्र प्रतिष्पर्धा गर्न पाउनेछन् ।
इ–प्लानेटका कार्यकारी प्रमुख नयन लामिछानेले नेपाली क्रिकेटको युवा प्रतिभावान् खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले राष्ट्रव्यापी क्रिकेट प्रतियोगिता गर्न लागेको बताए ।
राष्ट्रिय प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ पाउनेछन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट र विधागत उत्कृष्टलाई समान १० हजार रुपैयाँ प्रदान गरिने छ ।