चैत्र ९, २०८२ सोमबार | १५:१५:३४
हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित

अवसानको बाटोमा नेपाली फुटबल

एन्फा मुख्यालय ।

सिड्नी । मान्छेको चाहना असीमित हुन सक्छन् । कति पूरा होलान्, कति पूरा नहुने प्रकृतिका होलान् । फेरि मान्छेले चाहना आफ्नो पृष्ठभूमि अनुसार पनि राख्ला ।

एउटा फुटबलरको चाहना के-के हुनसक्छ ? फेरि पनि कुरा उही, पृष्ठभूमि अनुसार चाहनाका चाङ् बन्लान् । नेपालमा एउटा फुटबलरले देख्ने सपना र नेदरल्यान्ड्सको फुटबलरको सपना अवश्य फरक हुन्छ । यसको कारण दुई देशको फुटबल स्तरबीचको फरक हो । उसै पनि आर्थिक र सामाजिक परिवेशमा आकाश जमिनको फरक त छँदैछ ।

भनिन्छ, फुटबल गरिबको खेल हो । यसो किन भनियो ? अनौपचारिक खेलका लागि बस् एउटा बल भए पुग्ने भएर होला । फेरि फुटबल कहाँबाट लोकप्रिय भयो भनेर इतिहास खोज्ने हो भने, यो त्यसबेला खानी, बन्दरगाहमा काम गर्ने मजदुरहरुसँग ठोक्किन्छ । झोपडपट्टी बस्तीका फोहोर गल्ली र फोहोर फ्याक्ने डम्पिङ साइट पुगिन्छ ।

अहिले फुटबलमा जति पैसा सायदै अर्को खेलमा होला । यही कारणले त हो, रियो दे जेनेरियोमा खाली खुट्टा फुटबल खेल्ने बालक एक दिन करोडपति बन्नसक्छ ।

समय यस्तो पनि थियो जब फुटबल खेलाडीलाई खेलेवापत पैसा दिन पाइँदैन थियो । सन् १८८५ मा मात्र हो, इङ्ल्यान्डको फुटबल संघ एफएले खेलाडीलाई तलब दिँदा नियम उल्लंघन नमानिने चलन चलाएको । अहिले फुटबलमा जति पैसा सायदै अर्को खेलमा होला । यही कारणले त हो, रियो दि जेनेरियोमा खाली खुट्टा फुटबल खेल्ने बालक एक दिन करोडपति बन्नसक्छ ।

तलब दिन नपाइने बिन्दूबाट फुटबल आजको दिनमा आइपुगेको छ । सन् १८९३ मा एभरटनले ज्याक साउथवर्थलाई अनुबन्ध गर्दा ब्लाकबर्नलाई ४०० पाउन्ड तिरेको थियो । यो कुनै पनि खेलाडी स्थानान्तरणका लागि तिरिएको पहिलो शूल्क थियो । हाल एकै खेलाडी स्थानान्तरणका लागि झन्डै २० करोड पाउन्डसम्म खर्च गरिएको छ ।

के भनिन्छ भने, सन् १८९० को दशक सकिँदै गर्दा इङ्ल्यान्डमा खेलाडीले फुटबल खेलेर साताको १० पाउन्डसम्म कमाउन थालेका थिए । उसो त यो त्यो जमानाको कुरा हो, जब फुटबल जीवन यापन गर्नका लागि खेलिँदैन थियो । तर आजको दुनियाँ फरक छ । कति फरक छ, अल नासरमा क्रिस्टियानो रोनाल्डो र इन्टर मियामीमा लियोनल मेसीले पाउने तलबको आँकडा खोज्दा थाहा भइहाल्छ ।

सन् २०१९ देखि २०२२ बीचमा विश्व फुटबलको नियामक संस्था फिफाले ७५ सय करोड अमेरिकी डलर कमाएको आँकडा छ । फिफाले प्रत्येक चार वर्षलाई आर्थिक चक्र मान्छ, त्यही अनुसार प्रतियोगिता आयोजना गराउने र आम्दानीका बाटो पहिल्याउने गर्छ । फिफा मात्र होइन, युरोपेली फुटबल महासंघ युइएफएले यही वर्ष जर्मनीमा महादेशीय प्रतियोगिता आयोजना गर्दा साढे दुई अर्ब युरो कमाएको अनुमान छ ।

के अब फुटबल गरिबको खेल मात्र हो त ? या यसको कब्जा दुनियाँका धनाढ्यले गरिसकेका छन् ? वैश्वीकरण भएको यो खेललाई पैसा कमाउने यन्त्र बनाइए पनि आखिरमा फुटबल खेल्ने अधिकांशको पृष्ठभूमि मध्य र निम्नमध्यम वर्ग नै हो । कम्तीमा दक्षिण अमेरिका, अफ्रिका र एसियामा सत्य यही नै हो ।

नेपालमा कसले फुटबल खेल्छ ? वा खेल्दैछ ? यसको जवाफ दिन गहिरो शोध गर्नै पर्दैन । राष्ट्रिय तथा उमेर समूहका टिमहरुमा परेका खेलाडीहरुमाथि नजर लगाए पुग्छ । उनीहरु कहाँबाट आएका हुन् खोजे पुग्छ । उनीहरुको पृष्ठभूमि जान्नु हिमाल आरोहण गरे जति कठिन छैन । महिला राष्ट्रिय टिमका खेलाडीबारे जान्न त झनै सजिलो छ । ती अधिकांश खेलाडीको बाँच्ने आधार सुरक्षा संगठनले दिएको जागिर हो ।

नेपाली फुटबलरको चाहना के हुनसक्छ ? चाहना न्यूनतम छन् । कम्तीमा काठमाडौँ जस्तो सहरमा टिकाउन सक्ने तलबदेखि खेल्न सजिलो हुने बुट । नेपाली फुटबल व्यावसायिक छैन । लिग नै नहुने देशको फुटबल के को व्यावसायिक ? 

माथि चर्चा गरिएझैँ, नेपाली फुटबलरको चाहना के हुनसक्छ ? चाहना न्यूनतम छन् । कम्तीमा काठमाडौं जस्तो सहरमा टिकाउन सक्ने तलबदेखि खेल्न सजिलो हुने बुट । नेपाली फुटबल व्यावसायिक छैन । लिग नै नहुने देशको फुटबल के को व्यावसायिक ? कतिले भन्लान्, खेलाडीको चाहना बुट ? यो त झिनो मसिनो कुरो भएन र ? हो नेपाली फुटबल अघि नबढेको झिना मसिना विषयलाई सम्बोधन गर्न नसकेरै हो ।

यो पंक्तिकार केही वर्षअघि उमेर समूहको एसियाली छनोट खेल्ने नेपाली टिमसँग विदेश गएको थियो । विपक्षी आफूभन्दा बलिया थिए । छनोट चरण पार गर्ने सम्भावना थिएन । न त किन छनोट चरण पार गर्न सकिएन भनेर नेपालमा कसैले सोध्नेवाला थिए । सबैलाई थाहा थियो, कुरा सहभागिताको हो । योभन्दा धेरै किन अपेक्षा गर्ने र ? अपेक्षा लगानी अनुसारको हुन्छ ।

नेपालबाट उड्नुअघि नै टिम व्यवास्थापक, प्रशिक्षक, खेलाडी, फिजियो सबैका आ-आफ्ना तनाव थिए । व्यवस्थापकलाई चिन्ता थियो, एन्फाबाट दिइएको बजेट खेलस्थल पुग्दैमा सकिने हो कि ? यही चिन्ता व्यवस्थापकले प्रशिक्षकलाई पनि भाग लगाउनु स्वाभाविक भइगयो । खेलाडीको चिन्ता एन्फाबाट भत्ता नआएपछि सजिलोगरि खेल्न सकिने बुट किन्न पाइएन भन्ने थियो । बुट त परै जाओस्, अभ्यास गर्दा र बेन्चमा बस्दा चाहिने किट, जर्सीसम्म पनि पर्याप्त थिएनन् । फिजियोथेरापीका लागि आवश्यक पर्ने सामग्री पर्याप्त नभएपछि फिजियो टाउको कनाउदै थिए । यी झिनामसिना समस्याले नै हरेकको मतिष्कलाई न्याकेपछि खेल कति कठिन हुनेवाला छ, विपक्षीको रणनीति के होला, यी चिन्ताबारे सोच्न स्फूर्ति कहाँबाट आउँला ?

निर्वाचित भएपछि सपथ लिँदै एन्फा पदाधिकारी, फाइल तस्विर ।  

समय फेरिँदो छ । फुटबल अब खेल मात्र रहेन । यसमा धेरै कुरा मिसिइसके । विज्ञान पनि भित्रिएको छ । फुटबल आफैँमा शिक्षा पनि बनेको छ । फुटबल खेल्ने, खेलको ब्रान्ड बेच्ने मात्र होइन, यो पढिन्छ पनि । पढाई भन्नसाथ नयाँ नयाँ कुरा पत्ता लगाउन शोध गर्नैपर्यो । विपक्षीलाई पछि पार्न आफूले नयाँ किसिमको रणनीति तयार पार्ने, रणनीतिकार तयार पार्न आवश्यक शिक्षाको चाँजोपाँजो मिलाउने, एकेडेमीमा फुच्चे खेलाडीलाई तयार पार्ने लगायतका काम त सामान्य भइगए । आजको विश्व फुटबलमा एउटा फुच्चे खेलाडीको हड्डी र मासुको नापतौल गरेर १० वर्षपछि कुन स्तरको शारिरीक बनावटमा पुर्याउने हो, हिसाब किताब गरिन्छ । नेपाली फुटबल भने अझैँ चना र अण्डाभन्दा माथि उठ्न सकेको छैन ।

खेलकुद विज्ञान फुटबल जस्तो खेलका लागि वरदान हो । शारिरीक रुपमा बलिष्ठ बनाउने मात्र होइन खेलाडीलाई मानसिक रुपमा कसरी सशक्त बनाउने भन्ने विषय आजको फुटबलले आत्मसाथ गरेको छ । नेपालमा भने अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन जान लागेका युवा खेलाडीको मनोबल बढाउने नाउँमा थोत्रा प्रशासकहरु फुटबल मैदानमा ल्यान्ड नै नहुने भाषण दिनमा व्यस्त रहन्छन् । ती कलिला खेलाडीहरुलाई पक्कै लाग्दो हो, मनोबल त गतिलो बुट किनिदिए आफै बढ्छ । समयै भत्ता निस्कासन गरिदिए स्फुर्ति  बढ्छ । त्यस्ता थोत्रा भाषणको के आवश्यकता ?

नेपाली फुटबलको राजनीतिमा लागेकाहरुको आर्थिक हैसियत के हो ? यो आलेखको उद्देश्य तिनको हैसियत आर्थिक पृष्ठभूमि पत्ता लगाउने होइन । तर खेलाडी बिदाई गरिँदै गर्दा एन्फा हलको अगाडि जम्मा हुने प्रशासक र तल कुर्सीमा राखिएका खेलाडीको पोशाकको स्तर जाँचे मात्र पनि धेरै कुरा प्रस्ट हुन्छ । प्रशासकहरु विदेश घुम्दा वा नेपालमै किनिएका महँगा पोशाकमा सजिएका हुन्छन् । तल बसेका खेलाडीको खुट्टामा नक्कली चिनियाँ स्पोर्ट सु देखिन्छन् । आङ्मा नयाँ भए पनि नयाँ जस्तो नदेखिने जर्सी हुन्छन् ।

झन्डै तीन लाख तलब लिने महासचिवले देशको फुटबल कसरी चलाउने भनेर जानेका छन् वा छैनन् ? यसको जवाफ उनैले वा विषय विज्ञले देलान् । अथवा उनको कामले दिइरहेकै छ र भविश्यमा पनि दिनेछ । यहाँ यति चाहिँ भन्न सकिन्छ, लगभग सबै नेपाली जस्तै उनले पनि त्यो लोककथा पढेका छन् ।

कुनै पनि देशमा एन्फा जस्ता नियामक संस्था किन अस्तित्वमा हुन्छन् ? फुटबल नियमन गर्न, यो ओठे जवाफ हो । नियमनसँगै फुटबल विकास एन्फाको अर्को जिम्मेवारी हो । विकाससँगै देशभरको फुटबल व्यवस्थापन पनि । एन्फाका लागि व्यवस्थापन शब्द आफू अनुकूलका मान्छेलाई अवसर दिनु, खुसी पार्नु मात्र हो । उमेर समूहदेखि राष्ट्रिय टिमसम्म र अन्य फरक ठाउँमा आफू अनुकूलका मान्छेलाई नियुक्ति एन्फाले जानेको व्यवस्थापन हो । महासचिवको पछिल्लो तलब वृद्धि यही व्यवस्थापनको सिद्धान्त अन्तगर्तको कदम हो ।

नेपालीमा उखान छ, मह काड्नेले हात चाट्छ । यहाँ त मह दिने मौरी नै बसाइँ सर्न लागिसके । हाम्रोमा एउटा लोक कथा पनि परिचित छ, एउटा व्यक्तिले एकैपटक धेरै सुनका अण्डा थुपार्न पालैपालो अण्डा दिइरहेको पोथीको हत्या । नेपाली फुुटबल त्यही पोथी हुने बाटोमा छ । झन्डै तीन लाख तलब लिने महासचिवले देशको फुटबल कसरी चलाउने भनेर जानेका छन् वा छैनन् ? यसको जवाफ उनैले वा विषय विज्ञले देलान् । अथवा उनको कामले दिइरहेकै छ र भविश्यमा पनि दिनेछ । यहाँ यति चाहिँ भन्न सकिन्छ, लगभग सबै नेपाली जस्तै उनले पनि त्यो लोककथा पढेका छन् ।

पोथी नै नरहे अण्डा कसले देला ? फुटबल नै नरहे एन्फा किन चाहियो ? खेल्न बुट कसरी जोहो गर्ने जस्ता चिन्ता बोक्नु परे कलिलो खेलाडीले यसरी गोल गर्छु भनेर सोच्ने कतिबेला ? अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेर काठमाडौँ फर्किएका वा काठमाडौँमा खेलेर घर फर्कन लागेका कलिला खेलाडीहरुले भाडा कतिबेला पाइएला भनेर गर्ने सुर्ता एन्फा अवसानको बलियो प्रमाण हो । भौतिक शरिरले मात्र अवसान भएको तथ्यलाई चुनौती दिन सक्दैन । कार्यदिशा र जिम्मेवारी बोध नहुनु पनि समाप्तिको बाटो पक्रिएको सन्देश दिनु हो । नेपाली फुटबललाई अवसानको बाटोबाट फर्काउनु चाँही अहिलेको आवश्यकता हो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो