काठमाडौं । रोहित चन्दले सिनियर राष्ट्रिय फुटबल टोलीबाट खेल्न थालेको पनि साढे १५ वर्ष भइसकेछ । नेपाली खेलाडीको हकमा यो एउटा लामो करिअर हो । रोहितले यो अवधिमा ९३ अन्तर्राष्ट्रिय खेलिसकेका छन् । रोहितले सन् २००९ मा एएफसी च्यालेन्ज कपअन्तर्गत प्यालेस्टाइनविरुद्धको खेलमार्फत अन्तर्राष्ट्रिय फुटबलमा ‘डेब्यु’ गरेका थिए । उनी त्यतिबेला मात्र १७ वर्षका थिए । त्यसयता उनले फर्केर हेर्नुपरेको छैन ।
कुनै पनि खेलाडीले अन्तर्राष्ट्रिय मञ्चमा देशको प्रतिनिधित्व गरिरहँदा गोल गर्ने सपना बोकेका हुन्छन् । यो हक फरवार्ड र अट्याकिङ मिडफिल्डरमा मात्र लागू हुँदैन, अन्य पोजिसनका खेलाडीमा पनि हुन्छ । रक्षापङ्क्तिका निर्विकल्प रोहितको पनि इच्छा थियो, कम्तीमा पनि देशका लागि एक गोल गर्ने । त्यो उनले पूरा गरेका छन् । भर्खरै ताजकिस्तानमा सम्पन्न अफगानिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा रोहितले अन्तर्राष्ट्रिय फुटबलमा पहिलो गोल गरेका छन् ।
खासमा त रोहित जस्ता खेलाडीको काम होे विपक्षीको आक्रमण रोक्नु अनि टोलीलाई गोल खानबाट बचाउनु । यो भनिरहँदा रक्षापङ्क्ति अथवा डिफेन्सिभ मिडफिल्डरहरूले गोल नै नगर्ने भने होइन । अहिलेको आधुनिक फुटबलमा धेरै जसो अवस्थामा पोजिसन भन्ने कुरा औपचारिकतामा मात्र सीमित हुने गर्छ । उनीहरूले गोल गर्ने भनेको सेटपिसहरूमा हो । आक्कलझुक्कल ओपन प्लेबाट पनि गोलहरू हुन्छन् । रियाल मड्रिडका पूर्वकप्तानलाई सर्जियो रामोसलाई नै हेरौं न, रक्षापङ्क्तिमा खेल्ने यिनले स्पेनका लागि २३ गोल गरेका छन् ।
यसो भनिरहँदा रोहितको गोललाई किन यति धेरै स्याबासी ? अनि उनले गरेको गोलले के के नै भएजस्तो अवस्था कसरी सिर्जना भयो ? उनले आफ्नो इच्छा पूरा गरे । यसमा गुणगान गर्नुपर्ने त्यस्तो कारण के छ र ?
यसका लागि हामी ११ वर्ष अघि फर्कनुपर्छ । सन् २०१३ सेप्टेम्बर ८, काठमाडौंको दशरथ रंगशाला । अवसर थियो, साफ च्याम्पियनसिपको पहिलो सेमिफाइनल । नेपाल खेल्दै थियो अफगानिस्तानसँग । त्यही अफगानिस्तानले नेपाललाई अघिल्लो संस्करण अन्तिम चारमै निराश पारेको थियो । करिब १८ हजार घरेलु समर्थकबीच नेपाललाई फाइनल पुग्ने अवसर थियो । त्यसअघिका सात संस्करणमा नेपाल कहिल्यै पनि फाइनल पुग्न सकेको थिएन । खेलको ११औं मिनेटमा गोलकिपर किरण चेम्जोङको फ्रिकिकमार्फत आएको बल समात्न नसक्दा अफगानिस्तानले त्यसको फाइदा उठाउँदै अग्रता लिएको थियो । जुन गोलले अफगानिस्तानलाई लगातार दोस्रो संस्करणको फाइनल पुर्याउन निर्णायक बन्यो । खेलमा फर्किन नेपालले एकपछि अर्को आक्रमण बुनेको थियो । तर, पाएको अवसर नेपालले सदुपयोग गर्न सकेन ।
एन्फा एकेडेमी हुँदै राष्ट्रिय टोलीको जर्सीमा देखिएका रोहितले घरेलु लिग खेल्नुअघि नै अन्तर्राष्ट्रि«य फुटबलको अवसर प्राप्त गरेका थिए । मछिन्द्र क्लबमा रहँदा रोहित नेपाली फुटबलमै सर्वाधिक तलब पाउने खेलाडी थिए । भारतीय आई लिगको क्लब हल स्पोर्टिङ हुँदै रोहितले अहिले इन्डोनेसियामा व्यावसायिक फुटबल खेलिरहेका छन् ।
निर्धारित समय सकिन ५ मिनेट बाँकी छँदा अफगानी गोलकिपर मन्सुर फगिरयारले फरवार्ड विमल घर्तीमगरलाई लडाएपछि नेपालले पेनाल्टी अवसर प्राप्त गरेको थियो । रोहितले पेनाल्टीको जिम्मेवारी लिए । रोहितले दायाँ साइडमा गरेको पहिलो प्रहार मन्सुरले रोके । तर, रोहितले बल प्रहार गर्नुअघि अफगानी खेलाडी पेनाल्टी बक्सभित्र प्रवेश गरेको भन्दै सहायक रेफ्रीले नेपाललाई अर्को मौका दियो । घरेलु समर्थकले राहतको सास फेरे । रोहितले दोस्रो पटक पेनाल्टी प्रहार गरे । यसपालि पनि दायाँ साइडमै प्रहार गरेको बल मन्सुरले सहजै बचाए ।
‘रोहितले दोस्रो पटक पेनाल्टी मिस गरेपछि म रंगशालाबाट बाहिर गएको थिएँ । नेपाल प्रतियोगिताबाट बाहिरिएपछि रोहितलाई लिएर बजारमा निकै नकारात्मक हल्ला फैलिएको थियो । धेरै पत्रकारको फोन आउँथ्यो,’ रोहितका दाइ रवीन्द्र चन्द साफ च्याम्पियनसिपका ती दिन सम्झन्छन्, ‘रोहितलाई त्यतिबेला काउन्सिलिङको कमी थियो । भोलिपल्ट राति १ बजे मैले उसलाई होटलबाट घर ल्याएको थिएँ । रोहित त्यसपछि एक सातासम्म घरबाट बाहिर नै निस्केन ।’
एन्फा एकेडेमी हुँदै राष्ट्रिय टोलीको जर्सीमा देखिएका रोहितले घरेलु लिग खेल्नुअघि नै अन्तर्राष्ट्रि«य फुटबलको अवसर प्राप्त गरेका थिए । मछिन्द्र क्लबमा रहँदा रोहित नेपाली फुटबलमै सर्वाधिक तलब पाउने खेलाडी थिए । भारतीय आई लिगको क्लब हल स्पोर्टिङ हुँदै रोहितले अहिले इन्डोनेसियामा व्यावसायिक फुटबल खेलिरहेका छन् ।
साफ च्याम्पियनसिपपछि रोहितलाई डेनमार्कबाट प्रस्ताव पनि आएको थियो । त्यतिबेला डेनमार्कको शीर्ष डिभिजन क्लब एफसी भाइचाल्यान्डमा रोहितलाई रिजर्भ टोलीका लागि प्रस्ताव आएको थियो । तर, युवा खेलाडीले खेल्न पाउनुपर्छ भन्ने सोचका साथ दाइ रवीन्द्रले रोहितलाई इन्डोनेसिया नै पठाएका थिए । इन्डोनेसियामा उनले पारसाटुवान पेकानबारु, पर्सिजा जकार्ता र पेर्सिक केदिरी गरी तीन क्लबबाट खेलिसकेका छन् । हाल पेर्सिक केदिरीबाट खेलिरहेका रोहितले सन् २०१६ मा मलेसियन क्लब तेरेनगानु टिमको जर्सी पनि लगाएका थिए । २०१८ को इन्डोनेसियन लिगमा त रोहितले सर्वोत्कृष्ट खेलाडीको अवार्ड नै जितेका थिए । त्यतिबेला पर्सिजा जकार्ताले लिग उपाधि जितेको थियो ।
रोहितले त्यो घटनालाई जीवनको पाठका रूपमा लिएर अघि बढे । साफ च्याम्पियनसिपयता रोहितले बिरलै अन्तर्राष्ट्रिय खेल छुटाएका छन् । पछिल्लो समय उपकप्तान रोहितले बुवाको निधनका कारण एक खेल गुमाए । यसबाहेक उनी निरन्तर राष्ट्रिय टोलीको खम्बाका रूपमा उभिएका छन् । राष्ट्रका लागि खेलिरहँदा रोहितको मनामा कता–कता गोल नगरेको पीडा लुकिरहन्थ्यो । अनि एक गोल गर्न पाए हुन्थ्यो भन्ने भावना सधैं आइरहन्थ्यो । २०२१ मा माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा रोहितले एकजना वरिष्ठ पत्रकारसँग गोल गर्ने इच्छाका बारेमा कुरा साटेका थिए । त्यतिबेला उनले भनेका थिए, ‘यत्रो खेलियो । एक गोल पनि गर्न पाएको छैन । देशका लागि कम्तीमा एक गोल गर्न मन छ ।’
‘देशबाट खेल्नु नै ठूलो कुरा हो । त्यसमा पनि इतिहास जोडिएको प्रतिद्वन्द्वीसँग गोल गर्न पाउँदा खुसी छु,’ रोहित भन्छन्, ‘मभन्दा धेरै खुुसी मेरा टिममेट थिए । मेरो गोलमा उनीहरूले मज्जाले सेलिब्रेसन गरे ।’
गोलको चाहनाबारे रोहित घरमा पनि कुरा गरिरहेका हुन्थे । ‘हाम्रो देश र परिवारका लागि यो एतिहासिक दिन हो । खेलाडीको जीवनमा यस्ता कुराले धेरै महत्त्व राख्दोरहेछ,’ रवीन्द्र (चन्द) भन्छन्, ‘रोहितले गोल गर्न पाए हुन्थ्यो भनेर भनिरहेको हुन्थ्यो । यत्तिको वर्ष देशको प्रतिनिधित्व गरिरहँदा आज आएर गोल निस्किएको छ । रोहितले यस गोलमार्फत आफूमाथि लागेको दाग पनि मेटाएको छ भन्ने लाग्छ ।’
अफगानिस्तानविरुद्धको गोलमा रोहितको मन रमाएको हुनुपर्छ । तर, कता-कता रोहितलाई लाग्दो हो, ‘बुवाले हेर्न पाउनुभएन’ । त्यसैले रोहित आफ्नो यो उपलब्धि बुवा अर्जुन चन्दप्रति समर्पित गर्छन् ।
पेनाल्टीमा राम्रा रोहितलाई तीन वर्षअघि माल्दिभ्समै पनि गोल गर्ने अवसर जुरेको थियो । राउन्ड रोविन पद्धतिमा खेलाइएको समूह चरणको अन्तिम खेलमा नेपाल १-० ले पछाडि थियो । बराबरी गोल गर्न सके नेपालले पहिलो पटक साफ च्याम्पियनसिपमा फाइनलको टिकट काट्ने समीकरण बनेको थियो । निर्धारित समय सकिन दुई मिनेट बाँकी छँदा नेपालले पेनाल्टी अवसर पाएको थियो । तर, रोहित त्यतिबेला कन्फिडेन्ट देखिएनन् । सायद रोहितलाई लाग्यो, मिस पो हुने हो कि ? त्यसैले रोहितले अञ्जन विष्टलाई हान्न लगाए । अञ्जनले कुनै गल्ती गरेनन् र नेपाल पहिलो पटक फाइनल पुग्यो । फाइनलमा नेपाल भारतसँग ३-० ले पराजित भएको थियो ।
राष्ट्रिय टोलीमा अनेकौं पुस्ता आए । माल्दिभ्समा भएको साफ च्याम्पियनसिप एउटा राम्रो पुस्ताको अन्तिम प्रतियोगिता थियो । त्यसयता नेपाली टोलीमा व्यापक परिवर्तन देखिँदै आएको छ । भारतविरुद्ध फाइनल खेलेका पहिलो रोजाइका मध्ये सात खेलाडी विदेश पलायन भइसकेका छन् । विदेश पलायनको सिलसिलाले पछिल्लो साढे दुई वर्ष राष्ट्रिय टोलीमा थुप्रै फेरबदल भइरहेको छ । गत साता ताजकिस्तान र अफगानिस्तानसँग मैत्रीपूर्ण खेल्ने टोलीकै कुरा गर्दा पनि चार खेलाडी नयाँ थिए । दुई जनाले त ‘डेब्यु’ नै गरे । यस्तो टोलीलाई रोहितको उर्जाले प्रेरणा दिइरहेको छ ।
डुसान्बेस्थित सेन्ट्रल रंगशालामा अफगानस्तिानविरुद्ध रोहितले ७८औं मिनेटमा सेटपिसको अवसर सदुपयोग गर्दै गोल गरे । मिडफिल्डर मणिकुमार लामाको कर्नर विपक्षी रक्षकले क्लियर गर्न नसक्दा रोहितले त्यसको फाइदा उठाए । उनको लेफ्ट फुटेड लोअर प्रहारले पहिलो बारको जाली चुमेको थियो । अचम्म त के भन्दा उनले जुन साइडमा ११ वर्षअघि पेनाल्टी मिस गरेका थिए, त्यही साइडमा उनले त्यही प्रतिद्वन्द्वीविरुद्ध गोल गरे । साँच्चै रोहितको नियतिमा यही लेखेको हुनुपर्छ । त्यसैले पनि रोहितको गुणगान भइरहेको हो । उनी यसका हकदार छन् ।
‘देशबाट खेल्नु नै ठूलो कुरा हो । त्यसमा पनि इतिहास जोडिएको प्रतिद्वन्द्वीसँग गोल गर्न पाउँदा खुसी छु,’ रोहित भन्छन्, ‘मभन्दा धेरै खुुसी मेरा टिममेट थिए । मेरो गोलमा उनीहरूले मज्जाले सेलिब्रेसन गरे ।’
राष्ट्रिय टोलीका सबैभन्दा महत्त्वपूर्ण खेलाडी रोहितको स्थिरता एकदमै प्रशंसनीय छ । उनले गोलको खडेरी तोडेसँगै उनीबाट अन्य अवसरमा गोलहरू निस्कने अनुमान गर्न सकिन्छ । तर, जेहोस् अफगानिस्तानविरुद्धको यो गोलले नेपाली फुटबलमा छुट्टै महत्व राख्नेछ । नेपाली फुटबलमात्र नभई रोहितको व्यक्तिगत जीवनमा पनि यसले धेरै प्रभाव पार्नेछ । कुनै दिन रोहितले खेलजीवनबाट संन्यास लिनेछन् । संन्यासपछि उनले यो गोलका हाइलाइट्सहरू समय समयमा अवश्य पनि हेर्नछन् नै । यो हेरिरहँदा उनी देशका लागि गरेको योगदानमा गर्व गर्नेछन् । पेनाल्टी मिस गरेको हाइलाइट्स त उनले अहिलेसम्म सायदै हेरेको हुनुपर्छ ।