काठमाडौं । नेपाल प्रिमियर लिगका लागि इङ्लिस अलराउन्डर डेनियल एलेक्जेन्डर डौथवेइट, ब्याटर स्टेफन इस्किनाजी र बलर नाथन सोउटर नेपाल आइपुगेका छन् ।
उनीहरुलाई काठमाडौं गुर्खाजले अनुबन्ध गरेको छ ।
उनीहरुलाई बुधबार त्रिभुवन विमानस्थलमा काठमाडौंका व्यवस्थापक गौरव फुयाललगायतले स्वागत गरेका थिए ।
यससँगै काठमाडौका चार खेलाडी नेपाल आइपुगेका छन् । यसअघि नै आइपुगेका डच ब्याटर माइल लेभिटले टोलीसँग प्रशिक्षण सुरु गरिसकेका छन् ।
काठमाडौंको मार्की खेलाडीमा राष्ट्रिय टोलीका अलराउन्डर करण केसी छन् । यसैगरी टोलीले बसन्त शाही ठकुरीलाई प्रशिक्षण जिम्मेवारी सुम्पिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा एनपिएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ ।
प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । लिगमा काठमाडौंसहित लुम्बिनी लायन्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, सुदूरपश्चिम रोयल्स, विराटनगर किंग्स, कर्णाली याक्स र पोखरा एभेन्जर्सले प्रतिस्पर्धा गर्नेछन् ।