काठमाडौं । नेपाल नेत्रहीन क्रिकेट विश्वकपमा बुधबार घरेलु टोली पाकिस्तानसँग १० विकेटले पराजित भएको छ ।
तेस्रो पराजयसँगै नेपालले पाँच खेलमा चार अंक जोडेको छ । यसअघि श्रीलंकासँग ७० र बंगलादेशसँग ६७ रनले पराजित भएको नेपालले अफगानिस्तालाई १०८ र दक्षिण अफ्रिकाकालाई ११ रनले हराएको थियो ।
नेपालले प्रस्तुत गरेको १०१ रनको लक्ष्य पाकिस्तानले ६.४ ओभरमा कुनै पनि विकेट नगुमाइ पूरा गर्यो ।
पाकिस्तानका लागि नइमत उल्लाहले ३० बलमा १३ चौकाको मद्दतले ७३ रनको योगदान गरे । यसैगरी मोहम्मद सफदारले २४ रन बनाए ।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित १८ ओभरमा पाँच विकेट गुमाउँदै १०० रनको योगफल तयार पारेको थियो ।
नेपालका लागि भरत थापाले ३९, नरेश चौधरीले १७ र पदम बदैलाले ११ रन बनाए ।
पाकिस्तानका लागि हरोन खानले दुई तथा नइमत उल्लाह, मोहम्मद सलमान र कम्रन अख्तरले समान एक विकेट लिए ।