काठमाडौं । जापानको गैरनाफामूलक संस्था ‘रियले वल्र्ड’को आयोजनामा तीन दिनको महिला भलिबल प्रशिक्षण क्लिनिक काठमाडौंमा सुरु भएको छ ।
जापान र नेपालबीच खेलकुदमार्फत अवसर, आत्मविश्वास र सांस्कृति आदन-प्रदान बढाउने उद्धेश्यसहित रियले वल्र्डले राजधानीका विभिन्न पाँच विद्यालयमा प्रशिक्षण सुरु गरेको हो ।
कार्यक्रम जापानकी पूर्व भलिबल खेलाडी, ओलम्पियन काजुमी नाकामुराको संलग्नतामा भइरहेको छ । उनीसँगै जापानका विश्वविद्यालय स्तरका खेलाडीहरुको टोली पनि नेपाल आएको छ ।
बिहीबार श्री जनक माध्यमिक विद्यालय र जावलाखेल भलिबल सेन्टरमा प्रशिक्षण कार्यक्रम सञ्चालन भएको थियो । शुक्रबार शंखधर मेमोरियल स्कुल र एपिएफ भलिबल क्लबमा कार्यक्रम भइरहेको छ ।

शनिबार अन्तिम दिन न्यू डायमन्ड एकेडेमीमा नाकामुराले आफ्नो अनुभव साट्नेछिन् ।
प्रशिक्षण सत्रहरुमा महिला विद्यार्थी तथा युवा भलिबल खेलाडीहरुलाई जापानी प्रशिक्षक टोलीले कौशल, अनुशासन, फिटनेस, टिमवर्क र आधुनिक भलिबल प्रविधिका बारेमा प्रशिक्षण दिइरहेका छन् ।
रियले वल्र्डका अनुसार कार्यक्रमको मुख्य उद्धेश्य नेपालका महिला एथलेटहरुमा आत्मविश्वास जगाउने, आफूहरुमा रहेको सम्भावनालाई बुझाउने र केवल ‘महिला भएकै कारण’ लक्ष्य नत्याग्ने प्रेरणा दिनु हो ।
तीन दिनसम्म चल्ने यो विशेष भलिबल क्लिनिकले नेपाल र जापानका युवा खेलाडीहरूबीच परस्पर सहयोग, अध्यान, अनुभूति र विकासको प्लेटफर्म तयार गर्ने विश्वास लिइएको छ ।
