काठमाडौं । नेपाली खेलकुदमा क्रिकेट र फुटबलपछि आफूलाई अब्बल दर्जामा कुनै खेलले राख्न खोज्छ भने निःसन्देह त्यो भलिबल हो । तराई भेगमा क्रिकेट र फुटबलको वर्चस्व रहे पनि पहाडी क्षेत्रका अधिकांश भागमा भलिबलको क्रेज लोभलाग्दो छ ।
त्यसैले पनि सुगम क्षेत्र विशेषगरी राजधानीमा हुने भलिबल प्रतियोगिता प्रत्यक्ष हेर्न समर्थकको घुँइचो लाग्ने गर्दछ । भलै, त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरमा रहेको कभर्डहल मुश्किलले २५ सय समर्थकलाई धान्ने किन नहोस् । भलिबल प्रतियोगितालाई अनलाइन प्लेटअफमा पछ्याउने समर्थक पनि उस्तै देखिन्छन् ।
कारण जे भए पनि, निर्धक्क भन्न सकिन्छ, प्रतियोगिताको आयोजकको व्यवहारबाट समर्थक खुशी छैनन् ।
तर, राजधानीमै जारी एनभीए च्याम्पियनको नवौँ संस्करणले भने भलिबल समर्थकलाई खिन्न बनाएको छ । हरेकजसो प्रतियोगितामा खचाखच हुने दर्शक यसपटक निराश छन् । यसैकारण, घरेलु भलिबलको ठूलै प्रतियोगिता भए पनि सबैजसो खालीजसो प्यारापिटमा प्रतियोगिता भइरहेको छ ।
यसका धेरै कारण होलान् । कारण जे भए पनि, निर्धक्क भन्न सकिन्छ, प्रतियोगिताको आयोजकको व्यवहारबाट समर्थक खुशी छैनन् । तर, हामी यहाँ प्रतियोगितामा किन समर्थक आएनन् भन्ने विषयको चर्चा पक्कै गर्दैछ । खेलाडी डटकमको यो स्टोरीले नवौँ एनभीए च्याम्पियनसिपअन्तर्गत फाइनल पुगेको हेल्प नेपाल र विभागीय टोली त्रिभुवन आर्मीको लय दर्शाउने छ ।

शुक्रबार कभर्डहलमै भएको पुरुषतर्फको पहिलो सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै हेल्प नेपालले फाइनल यात्रा तय गर्यो । खेलका तीनै सेटमा नेपाल पुलिसले बलियो चुनौती प्रस्तुत गर्यो । तर, कुनै पनि सेट आफ्नो पक्षमा पार्न भने सकेन ।
पहिलो सेट हेल्प नेपालले २५–२१ ले आफ्नो पक्षमा पार्यो । दोस्रो सेटमा पनि पुलिस २० भन्दा माथिको स्कोरसम्म पुग्यो, तर नतिजा भने हेल्प नेपालले २५–२३ ले जित्यो । तेस्रो सेट त्यस्तै रोमाञ्चक रहे पनि हेल्प नेपाल पुनः २५–२२ ले विजयी बन्दा पुलिस सोझो सेटमै निराश बन्यो ।
प्रतियोगितामा दुवै टिम ‘अजेय’ छन् । पाकिस्तानी खेलाडीको उपस्थितीले बलियो देखिएको हेल्प नेपालबाट विभागीय टोली आर्मीले उपाधि खोस्न सक्ला ?
हेल्प नेपालले पहिलो खेलमा विभागीय टोली एपीएफ क्लबविरुद्ध ३–० ( २५–२१, २५–२०, २५–२०) कै सोझो सेटमा जित निकालेको थियो ।
प्रतियोगितामा तीन पाकिस्तानी खेलाडीको बलियो साथ पाएको हेल्प नेपालले दोस्रो खेलमा मणिमुकुन्द भलिबल क्लबविरुद्ध ३–० (२५–१६, २५–१९, २५–२२) को सोझो सेटमा जित निकालेको थियो । हेल्प नेपालले क्वार्टरफाइनलमा बुढानिलकण्ठ भलिबल क्लबविरुद्ध ३–० को सोझो सेटमा जित निकालेको थियो । बुढानिलकण्ठविरुद्ध हेल्प नेपाल २५–१३, २५–२३ र २५–१८ को स्कोरमा विजयी भएको थियो ।

यता, आर्मीले पहिलो खेलमा कोशी प्रदेशलाई ३–० को सोझो सेटमै जित निकालेको थियो । नतिजा सोझो सेटमै जिते पनि कोशीले बलियो चुनौती प्रस्तुत गरेको थियो । आर्मीले पहिलो सेट २५–२३ ले जित्दा दोस्रो सेट २७–२५ र तेस्रो सेट २७–२५ ले नै आफ्नो पक्षमा राखेको थियो । दोस्रो खेलमा आर्मीले कीर्तिपुर भलिबल टे्रनिङ सेन्टरविरुद्ध ३–० (२५–१९, २५–२१, २५–२१) को जित निकालेको थियो । क्वार्टरफाइनलमा आर्मीले खिल्जी युवा क्लबलको चुनौती सोझो सेटमै पन्छायो । आर्मी खिल्जीविरुद्ध २५–१८, २५–१७ र २५–१५ को जित निकालेको थियो ।
प्रतियोगितामा दुवै टिम ‘अजेय’ छन् । पाकिस्तानी खेलाडीको उपस्थितीले बलियो देखिएको हेल्प नेपालबाट विभागीय टोली आर्मीले उपाधि खोस्न सक्ला ? यो प्रश्नको जवाफ आइतबार हुने फाइनलले नै दिनेछ । फाइनल राखेप परिसरकै कभर्डहलमा दिउँसो २ः३० बजेदेखि सुरु हुने तालिका छ ।