काठमाडौं । साविक विजेता भारत छैटौं पटक ट्वान्टी २० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । भारतले घरेलु मैदानमा चलिरहेको विश्वकपको समूह चरणको तीनै खेल जितेको थियो ।
यद्यपि, सूर्यकुमार यादवको कप्तानीमा रहेको भारत सुपर एटको पहिलो खेलमै दक्षिण अफ्रिकासँग लज्जास्पद हार बेहोर्न पुगेको थियो । अहमदाबादमा हारेपछि भारतको सेमिफाइनल पुग्न निकै कठिन भएको थियो । तर, जिम्बाव्वे र वेष्ट इन्डिजविरुद्धको खेलमा जित निकाल्दै भारत सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ ।
भारतलाई यो विश्वकपको सेमिफाइनलमा पुर्याएका पाँच स्टार यस्ता छन्ः
सञ्जुु सामसन
कोलकातामा भएको खेलमा भारत वेष्ट इन्डिजविरुद्ध गर या मरको स्थितिमा थियो । टस हारेर सुरुमा ब्याटिङ गरेको क्यारेबियन टोलीले २० ओभरमा एक सय ९६ रनको लक्ष्य दिएको थियो । जसमा सञ्जु सामसनले सानदार इनिङ्स खेले । ओपनिङमा आएका सञ्जु फिनिसर हुँदै टिमलाई जिताएर फर्किएका थिए । सतक बनाउन तीन रन अपुग भयो । उनले ५० बलमा अविजित ९७ रन बनाएका थिए । हालसम्म उनले विश्वकपमा १४३ रन बनाएका छन् ।
जसप्रित बुमराह
जसप्रित बुमराहले पाकिस्तानविरुद्ध कोलम्बोमा भएको १४ फेब्रुअरीको खेलमा सानदार प्रदर्शन गरे । उनले दुई विकेट लिएर पाकिस्तानलाई दबाबमा राखेका थिए । प्रेमदासा मैदानमा भारतले सुरुमा ब्याटिङ गर्दै १७६ रनको लक्ष्य दिएको थियो । प्रत्युत्तरमा रहेको पाकिस्तानका दुई ब्याटर सइम अयुव र कप्तान सलमान अली आगालाई आउट गर्दै बुमराहले खेल भारतको पक्षमा ल्याएका थिए । जुन खेलमा पाकिस्तान ६१ रनले पराजित भयो । बुमराहले हालसम्म ६ खेल खेल्दा ९ विकेट लिएका छन् ।
इशान किसन
भारतको सेमिफाइनल यात्राका अर्का महत्वपूर्ण खेलाडी इशान किशन हुन् । उनले ७ खेलमा २२४ रन बनाइसकेका छन् । जसमा दुई अर्धसतक सामेल छ । उनको स्ट्राइक रेट १८५.१२ छ । उनले पाकिस्तान र नामिबियाविरुद्ध खेलमा अर्धसतक बनाएका थिए ।
वरुण चक्रवर्ती
वरुण चक्रवर्तीले पनि यो विश्वकपमा सानदार प्रदर्शन गरिरहेका छन् । उनले सात खेलमा १२ विकेट लिइसकेका छन् । उनको इकोनोमी ७.६६ छ । भारतको तर्फबाट उनी सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा शीर्ष स्थानमै आउँछन् । जसप्रित बुमराहपछि उनले अवसर पाउँदै आएका छन् । उनले नेदरल्यान्ड्स र नामिबियाविरुद्ध समान तीन विकेट लिएका थिए ।
हार्दिक पाड्या
भारतको सेमिफाइनल सम्मको यात्रामा अलराउन्डर हार्दिक पाड्याको पनि उत्तिकै योगदान रहेको छ । उनले सात खेलमा दुई अर्धसतकसहित १७२ रन बनाएका छन् । स्ट्राइक रेट १५६.३६ रहेको छ । यता, बलिङतर्फ पनि ६ विकेट लिइसकेका छन् । विश्वकपमा दुई सतक बनाएका पाकिस्तानका साहिवजादा फरहानलाई उनले डक आउट गराएका थिए ।
