काठमाडौं । माल्दिभ्समा मार्च २३ देखि अप्रिल ४ सम्म हुने साफ यु-२० च्याम्पियनसिपमा नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्र कुंवरले लगाउने भएका छन् ।
मंगलबार मुख्य प्रशिक्षक उर्जन श्रेष्ठको नेतृत्वमा रहेको प्रशिक्षण टोलीले फरवार्ड धर्मेन्द्रको कप्तानीमा २३ सदस्यीय अन्तिम टोली तयार पारेको हो ।
माथिल्लो उमेर समूहको साफ च्याम्पियनसिपमा धर्बेन्द्र लगातार तेस्रो संस्करण नेपालको जर्सी लगाउँदैछन् । समग्रमा धर्बेन्द्रको यो चौथो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । यसअघि धर्बेन्द्रले घरेलु भूमिमा सम्पन्न साफ यु-२० च्याम्पियनसिप २०२४, गत वर्षको मेमा भारतमा भएको साफ यु-१९ च्याम्पियनसिप खेलेका थिए । यसबीच सन् २०२४ को सेप्टेम्बरमा उनी चाइनिज ताइपेइमा सम्पन्न एएफसी यु-२० छनोट खेल्ने टोलीका पनि सदस्य थिए । यी सबै प्रतियोगितामा नेपालको टचलाइन श्रेष्ठले नै सम्हालेका थिए ।
राजधानीमा जारी एन्फा राष्ट्रिय लिगमा जावलाखेल युवा क्लबबाट खेलिरहेका धर्बेन्द्र शीर्ष डिभिजनको अनुभव भएका एक्ला खेलाडी हुन् । उनीबाहेक बाँकी २२ खेलाडीसँग शीर्ष डिभिजन लिगको अनुभव छैन । उनले जावलाखेलबाटै तीन वर्षअघि सम्पन्न सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलेका थिए ।

राष्ट्रिय लिगमा धर्बेन्द्रले सात खेलमा चार गोल गरिसकेका छन् ।
समूह ‘ए’मा रहेको नेपालले उद्घाटन खेलमा भुटानसँग प्रतिस्पर्धा गर्नेछ । खेल नेपाली समयअनुसार दिउँसो ४ः३० बजे हुनेछ । सोही दिन समूह ‘ए’ अन्तर्गतनै राति ९ः१५ बजे घरेलु टोलीले श्रीलंकासँग खेल्नेछ ।
सहभागी सात टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘बी’मा साबिक विजेता भारत, बंगलादेश र पाकिस्तान छन् । सिंगल राउन्ड रोविन लिगपछि प्रत्येक समूहबाट शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।
भुटानपछि नेपालले मार्च २५ मा श्रीलंका र २७ मा माल्दिभ्ससँग खेल्नेछ ।
धर्मेन्द्रसँगै नेपाली टोलीमा १३ जना पुरानै अनुहार छन् ।
