काठमाडौं । भारत र श्रीलंकामा भइरहेको ट्वान्टी २० विश्वकपको सुपर ८ अन्तर्गतको खेलमा दक्षिण अफ्रिकासँग पराजित भए पनि जिम्बावेका कप्तान सिकन्दर राजा प्लेयर अफ द म्याच भएका छन् ।
दक्षिण अफ्रिकाविरुद्धको खेलमा अलराउण्ड प्रदर्शन गरेका कप्तान राजा खेलको उत्कृष्ट खेलाडी भएका हुन् । राजाले दक्षिण अफ्रिकाविरुद्धको खेलमा ४ ओभरमा २९ रन खर्चिएर ३ महत्वपुर्ण विकेट लिएका थिए ।
राजाले खेलको पहिलो ओभरमा नै ओपनर क्विटन डि कक, तेस्रो ओभरमा कप्तान एडेन मारक्रम तथा खेलमा दक्षिण अफ्रिकाका लागि सर्वाधिक रनकर्ता डिवाल्ड ब्रेभिसलाई आउट गराएका थिए ।
राजाले जिम्बावेलाई सम्मानजनक १५३ रनको योगफलसम्म पुर्याउन ४३ बलमा सर्वाधिक ७३ रनको अर्धशतकीय इनिङ खेलेका थिए । उनको इनिङमा ८ चौका तथा ४ छक्का समावेश रहेको थियो ।
ट्वान्टी २० विश्वकपको इतिहासमा ७० माथि रन बनाउँने तथा ३ विकेट लिने राजा दोस्रा खेलाडी हुन् । यसअघि सन् २०१२ को विश्वकपको सुपर ८ को खेलमा अस्ट्रेलियाका सेन वाटसनले ३ विकेट लिनुका साथै ७२ रन बनाएका थिए ।
