काठमाडौं । पुछारको नव जन जागृति क्लबमाथि ३-० को सहज जित हासिल गर्दै त्रिभुवन आर्मी फुटबल क्लब एन्फा राष्ट्रिय लिगको तेस्रो स्थानमा उक्लिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न दिनको पहिलो खेलमा तीन खेलाडीले स्कोरसीटमा आफ्नो नाम लेखाए ।
विभागीय टोलीका लागि कप्तान जर्ज प्रिन्स कार्कीले नवौं मिनेटमा अग्रता दिलाएका थिए । त्यसपछि दोस्रो हाफमा दुई गोल सम्भव भए । नवयुग श्रेष्ठले ५४औं र कुनसाङ लामाले ७५औं मिनेटमा गोल गरे ।

यो नतिजासँगै ८ खेलमा १८ अंक जोड्दै आर्मी अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको हो । जन जागृतिको यो लगातार आठौं हार हो । जन जागृति लिगमा एक अंक पनि जोड्न नसक्ने एक्लो टोली हो ।
लिगमा दिउँसो २ बजे न्युरोड टिम (एनआरटी)को भेट चित्लाङ एफसीसँग हुनेछ । त्यस्तै साँझ ६ बजे मनाङ मस्र्याङ्दी क्लबले प्लानिङ ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ । यी खेल पनि दशरथ रंगशालामा हुनेछन् ।
सोमबारबाट ११ दिनसम्म लिगमा कुनै खेल हुनेछैनन् ।
