काठमाडौं । एएफसी महिला एसियन कपको २१औं संस्करण आइतबारबाट अस्ट्रेलियामा सुरु हुँदैछ ।
अस्ट्रेलियाका तीन सहर पर्थ, गोल्ड कोस्ट र सिड्नीमा हुने प्रतियोगितामा १२ टोलीले उपाधिका लागि चुनौती प्रस्तुत गर्दैछन् । दक्षिण एसियाबाट बंगलादेशले ऐतिहासिक पहिलो पटक महादेशीय प्रतियोगिता खेल्दैछ । त्यस्तै भारतको यो नवौं अनुभव हुनेछ ।
उद्घाटन खेलमा घरेलु टोली अस्ट्रेलियाले फिलिपिन्ससँग प्रतिस्पर्धा गर्नेछ । खेल नेपाली समयअनुसार राति १०ः४५ बजे हुनेछ ।
सहभागी टोलीलाई तीन समूहमा विभाजन गरिएको छ । लिगकम नकआउट प्रतियोगितामा प्रत्येक समूहका शीर्ष दुई टोलीले क्वार्टरफाइनलमा स्थान पक्का गर्नेछ । त्यस्तै तेस्रो स्थानमा अटाएका दुई उत्कृष्ट टोलीले पनि अन्तिम आठको यात्रा तय गर्नेछ ।
समूह ‘बी’मा रहेको बंगलादेशले मंगलबार चीनसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यो समूहमा यी दुईसँगै दक्षिण कोरिया र उज्वेकिस्तान छ ।
गत जुनमा उज्वेकिस्तानविरुद्ध दूर्भाग्यजनक हार बेहोरेसँगै नेपालको एसियन कप पुग्ने सपना समाप्त भएको थियो ।
भारत समूह ‘सी’मा छ । बुधबार भारतले आफ्नो पहिलो खेलमा भियतनामसँग प्रतिस्पर्धा गर्नेछ ।
