काठमाडौं । युवा स्टार लामिन यमलले ह्याट्रिक गरेपछि बार्सिलोनाले स्पेनिस ला लिगामा चार अंकको अग्रता बनाएको छ ।
शनिबार राति स्पोर्टिफाइ क्याम्प नाउमा ४५ हजार समर्थकमाझ बार्सिलोनाले भिल्लारियाललाई ४–१ ले हरायो । बार्सिलोनाको लागि यमलले ह्याट्रिक गरे । उनले पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल गरेका हुन् ।
२८औं मिनेटमा उनले फर्मिन लोपेजको पासमा पहिलो गोल गरे । लोपेजकै पासमा ३७औं मिनेटमा दोस्रो गोल गरेका हुन् । ६९औं मिनेटमा पेड्रीको पासमा व्यक्तिगत तेस्रो गोल गरेका हुन् ।
यसअघि पापे गुयेले गोल गर्दै भिल्लारियाललाई २–१ को अवस्थामा ल्याएका थिए । तर, खेलमा बार्सिलोनाले दबाब सिर्जना गर्दै तीन अंक हासिल गरेको हो । ६७औं मिनेटमा मैदान प्रवेश गरेका रोबर्ट लेवान्डोस्कीले इन्जुरी समयमा एक गोल थपेका थिए ।
ला लिगामा २६ मध्ये २१औं जितपछि बार्सिलोनाले ६४ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको रियालले एक खेल कम खेल्दै ६० अंक जोडेको हो । रियालले एक खेल कम खेलेको छ । भिल्लारियाल भने ३१ अंकसहित तेस्रो स्थानमा यथावत रहेको छ ।
