काठमाडौं । अन्तिम ओभरमा श्रीलंकालाई पाँच रनले पराजित गरेपनि पाकिस्तान आइसिसी ट्वान्टी २० विश्वकपबाट बाहिरिएको छ ।
शनिबार राति कोलम्बोमा टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले आठ विकेट गुमाउँदै दुई सय १३ रनको लक्ष्य दियो । जवाफमा श्रीलंकाले ६ विकेट गुमाउँदा मात्र दुई सय ७ रन बनाउन सक्यो ।
पाकिस्तानले श्रीलंकालाई एक सय ४७ रनमै रोकेमात्रै अन्तिम चारमा प्रवेश पाउने थियो । तर, त्यसमा चुकेसँगै पाकिस्तान विश्वकपबाट बाहिरिएको हो ।
सुपर एटको समूह–२ मा जित निकालेपनि पाकिस्तान न्युजिल्यान्डसँग नेट रन रेटमा पछि परेको छ । यो समूहबाट इंग्ल्यान्डसँगै न्युजिल्यान्ड सेमिफाइनलमा प्रवेश गरेका छन् ।
समूह –१ बाट दक्षिण अफ्रिका सेमिफाइनलमा प्रवेश गरिसकेको छ । अब, भारत र वेष्ट इन्डिज मध्ये एक टिम माथि बढ्नेछ ।
श्रीलंकाको इनिङ्समा कप्तान दासुन सनकाले सर्वाधिक ७६ रन बनाएका थिए । पाभन रन्तायेकेले ३७ बलमा ५८ रन बनाएका हुन् ।
पाकिस्तानका अबरार अहमेदले सर्वाधिक तीन विकेट लिएका थिए ।
यसअघि पहिलो इनिङ्समा पाकिस्तानका ओपनर साहिबजाद फर्हानले सतक बनाए । उनी भारत र श्रीलंकामा चलिरहेको विश्वकपमा दुई सतक बनाउने एक्ला खेलाडी हुन् ।
२९ वर्षीय दायाँ हाते ब्याटरले श्रीलंकाविरुद्ध ६० बलमा एक सय रन बनाएका थिए । यसअघि उनले नामिबियाविरुद्ध पनि एक सय रन बनाएका थिए ।
पाकिस्तानको इनिङमा साहिबजादले फखर जमानसँग कीर्तिमानी एक सय ७८ रनको साझेदारी गरेका थिए । जमानले ४२ बलमा ८४ रनको योगदान गरेका थिए । श्रीलंकाको लागि डिल्सान मादुसांकाले सर्वाधिक तीन विकेट लिए ।
