काठमाडौं । इङ्लिस प्रिमियर लिगमा आइतबार शीर्ष स्थानको आर्सनलले लण्डन राइभल चेल्सीको सामना गर्दैछ । इमिरेट्स रंगशालामा खेल नेपाली समयअनुसार राति १०ः१५ बजे हुनेछ ।
चेल्सीविरुद्ध आर्सनल जित्नैपर्ने दबाबमा हुनेछ । २००३/०४ सिजनयता पहिलोपटक प्रिमियर लिगको उपाधि जित्ने बाटोमा रहेको आर्सनल चेल्सीलाई हराउँदै दबाब कम गर्न चाहन्छ । किनभने १० खेल बाँकी रहँदा आर्सनल दोस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा मात्र दुई अंकले अगाडि छ ।
आइतबार घरेलु मैदानमा पराजित हुने हो भने म्यानचेस्टर सिटीलाई फाइदा पुग्नेछ । यसो हुने हो भने सिटीले अर्को खेल जितेको खण्डमा एक अंकको अग्रता लिनेछ ।
यी दुईले पछिल्ला पाँच खेलमा पराजय बेहोरेका छैनन् । आर्सनलले पछिल्लो खेलमा नर्थ लण्डन प्रतिद्धन्द्धी टोटनहम हटस्पर्शलाई ४-१ ले हराएको थियो ।
चेल्सीले पछिल्लो खेलमा बर्नलीसँग १-१ को बराबरी खेलेको थियो । त्यसअघि पनि लिड्स युनाइटेडसँग २-२ को नतिजा आत्मसात गरेको थियो । यो लयका बावजुद आर्सनल चेल्सीसँग सजग छ । अर्को कुरा आर्सनललाई हराए चेल्सी चौथो स्थानमा उक्लिनेछ । हाल २७ खेलमा चेल्सीले ४५ अंक जोडेको छ । समान खेलमा म्यानचेस्टर युनाइटेडको ४८ अंक छ । एक खेल बढी खेलेको लिभरपुलको पनि त्यतिनै अंक छ ।
लण्डन डर्बीबाहेक आइतबार अन्य तीन खेल हुनेछन् । युनाइटेडले क्रिस्टल प्यालेसको सामना गर्नेछ । क्रिस्टल प्यालेसलाई हराए युनाइटेड तेस्रो स्थानमा उक्लिनेछ ।
यसैगरी ब्राइटनले नटिङ्घम फोरेस्ट र फुल्हमले टोटनहमसँग् खेल्नेछ । तीनवटै खेल नेपाली समयअनुसार ७ः४५ बजे हुनेछ ।
