काठमाडौं । नेपाली भलिबलको महारथी हेल्प नेपाल स्पोर्टस क्लबले यसपाली पोखरामा हुने लोकप्रिय प्रतियोगिता टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको छैटौं संस्करणमा भाग नलिने भएको छ ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ ९ देखि १७ गतेसम्म पोखरा रंगशालामा हुने प्रतियोगिताका सहभागी टिमको आयोजकद्धारा मंगलबार सार्वजनिक गरिएको सूचिमा हेल्प नेपाल स्पोर्टस क्लबको नाम छैन ।
आयोजकले मंगलबार पत्रकार सम्मेलन गरेर महिला र पुरुष दुवैतर्फ समान सात टिमको सहभागिता रहने जानकारी गरायो । आयोजक संस्थाका अध्यक्ष नारायणप्रसाद शर्माका अनुसार यसपाली प्रतियोगितामा थाइल्याण्ड, माल्दिभ्स र भारतबाट विदेशी टोली सहभागी हुनेछन् ।
महिलातर्फ नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, टिप टप न्यू डायमण्ड युथ स्पोट्र्स क्लब, रुपन्देहीको एभरेस्ट भलिबल क्लब र थाइल्याण्डबाट दुई टोली प्रतिस्पर्धामा उत्रने शर्माले जानकारी गराए ।
यसैगरी पुरुषतर्फ गण्डकी प्रदेश भलिबल संघ, नेपाल पुलिस, एपिएफ, त्रिभुवन आर्मी, पर्वत जिल्ला भलिबल संघ तथा माल्दिभ्स र भारतबाट एक÷एक टोलीको सहभागिता रहनेछ ।
प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फ विजेता टिमले ६ लाख ६६ हजार ६६६ रुपैयाँ तथा उपविजेताले ३ लाख ६६ हजार ६६६ र तेस्रो हुने टिमले १ लाख ६६ हजार ६६६ रुपैयाँ पाउने बताइएको छ । यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २६ हजार ६६६ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
नेपाल भलिबल संघद्वारा स्वीकृत प्रतियोगिता अन्तर्राष्ट्रिय भलिबल महासंघ (फिभ) को नियमअनुसार हुनेछ । प्रतियोगिता आयोजनामा एक करोड ८० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
प्रतियोगितामा पहिलो पटक भारत र माल्दिभ्सबाट अन्तर्राष्ट्रिय रेफ्रीहरू सहभागी हुने बताइएको छ । दर्शकहरूका लागि पूरा प्रतियोगिता हेर्न मिल्ने अनलाइन सिजनल टिकटको व्यवस्था गरिएको छ । त्यसको मुल्य ३५०० रुपैयाँ पर्नेछ । ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई भने निःशुल्क प्रवेश दिइने आयोजकले जनाएको छ ।
