काठमाडौं । चित्लाङ एफसीले आगामी राष्ट्रिय लिगको लागि प्रज्वल प्रतिप क्षेत्रीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । हेटौंडामा भएको राष्ट्रिय लिग छनोटबाट राष्ट्रिय लिगमा छनोट भएको चित्लाङले तयारीमा तिव्रता दिएको छ ।
क्लबमा अध्यक्ष सुगन तण्डुकारले एएफसी ‘ए’ तथा युईएफए ‘सी’ लाइसेन्स गरिसकेका क्षेत्रीलाई आगामी लिगको लागि जिम्मेवारी दिएको पुष्टि गरे । ‘एएफसी ‘ए’ तथा युईएफए ‘सी’ लाइसेन्स गरिसकेका युवा प्रशिक्षकलाई जिम्मेवारी दिएको छ,’ तण्डुकारले भने, ‘उहाँबाट हामीले यसपटक राम्रो नतिजा निकाल्ने योजना बनाएका छौं ।’
प्रज्वलले खेलाडीको रुपमा नेपालको युथ टिमबाट खेलेका छन् । उनले क्लबतर्फ भने संकटा तथा जावलाखेलबाट खेलेका थिए । यसअघि उनले संकटा र हिमालयन शेर्पाको प्रशिक्षकको रुपमा काम गरिसकेका छन् ।
चित्लाङले राष्ट्रिय लिग छनोट गराएका खेलाडीलाई राष्ट्रिय लिगमा खेलाउने योजना बनाएको छ । त्यही टोलीमा केही विदेशी खेलाडी भने समावेश हुनेछन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले पुस २५ गतेबाट राष्ट्रिय लिग गर्ने निर्णय गरेको थियो । सोहीअनुसार क्लबहरुले खेलाडी तथा प्रशिक्षक नियुक्त गरिरहेका छन् । चित्लाङसहित चार क्लब राष्ट्रिय लिगको लागि छनोट भएका छन् ।
यता, सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलिरहेका १२ क्लब राष्ट्रिय लिग खेल्नेछन् । यसअघि च्याम्पियन चर्च ब्वाइज युनाइटेड, मछिन्द्र एफसी, नेपाल पुलिस क्लब, जावलाखेल युथ, सातदोबाटो युथ क्लब र न्युरोड टिम एनआरटी छनोट भएका थिए ।
तर, सहिद स्मारक लिग गर्न नसकेपछि एन्फाले राष्ट्रिय लिगको लागि खुल्ला छनोट गरेको हो । त्यसपछि यसअघि नै छनोट भएका सुपर सिक्स क्लब, चार राष्ट्रिय लिगमा छनोट भएका क्लबसहित सुपर सिक्समा छनोट नभएका त्रिभुवन आर्मी क्लब, शसस्त्र प्रहरी बलको एपिएफ, संकटा क्लब, मनाङ मस्र्याङ्दी क्लब र फ्रेण्ड्स क्लबले राष्ट्रिय लिग खेल्न टिम दर्ता गरेका हुन् । हिमालयन शेर्पा क्लबले भने राष्ट्रिय लिग नखेल्ने निर्णय लिएको छ । चर्च ब्वाइज च्याम्पियन हुँदा अघिल्लो लिगमा थ्रीस्टार क्लब र एफसी खुमलटार रेलिगेशनमा परेका थिए ।
