काठमाडौं । कैलाली जिल्ला फुटबल संघको आयोजनामा यही पुष १८ गतेदेखि २६ गतेसम्म धनगढी रंगशालामा बद्री कुन्ता मेमोरियल यु १६ केलाली जिल्लास्तरीय पुरुष फुटबल प्रतियोगीता हुने भएको छ ।
शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगीताको सबै तयारी पूरा भएको आयोजकले जनाएको छ ।
कैलाली जिल्ला फुटबल संघको आयोजना आयोजना र बद्री कुन्ता मेमोरियल ट्रष्टको मुख्य प्रायोजनमा हुने उक्त प्रतियोगीतामा जिल्लाका १३ ओटै स्थानीय तहका क्लबहरुको सहभागिता रहनेछ ।
लिगकम नकआउट पद्दतिमा हुने प्रतियोगीतामा जिल्लाको विकट क्षेत्र चुरे र मोहन्याल गाउँपालिकाको साथै टिकापुर, लम्कीचुहा, भजनी, जानकी, जोशीपुर बर्दगोरिया, सुख्खड, गौरीगंगा, कैलारी, गोदावरी र धनगढीका टोलीको सहभागिता रहनेछ ।
प्रतियोगीताको विजेताले नगद २ लाख रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछ । यसैगरि प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीले पनि नगद पुरस्कार पाउने आयोजकले जनाएको छ।
पत्रकार सम्मेलनका प्रमुख अतिथि सुदूरपश्चिम खेलकुद परिषदका सदस्य सचिव लोकबहादुर खड्काले फुटबलका गतिविधि आयोजना गर्नेमा कैलाली जिल्ला फुटबल संघ देशकै उदाहरणीय भएको भन्दै धन्यवाद व्यक्त गरेका छन ।
'हामी सबैको लक्ष्य देशको खेलकुद राम्रो होस्, खेलाडीले खेलेरै बाँच्ने आधार सिर्जना होस भन्ने भएकाले कैलाली जिल्ला फुटबल संघसँग सहकार्य गरेर बद्री कुन्ता मेमोरियल ट्रष्टले उत्कृष्ट फुटबल प्रतियोगीता आयोजना गर्न लागेको खबरले अत्यन्तै खुशी लागेको छ । यसमा म आफूलेसक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउन चाहन्छु,' उनले भने ।
त्यस्तै बद्री कुन्ता मेमोरियल ट्रष्टका संस्थापक सदस्य गोकर्ण जोशीले खेल र खेलाडीलाई हेर्ने दृष्किोणमा परिवर्तन नआएसम्म देशको खेलक्षेत्र अगाडी नबढ्ने बताएका छन । जोशीले समाज रुपान्तरणको मुख्य अंग खेलकुद भएकाले गम्भीर भएर लाग्न सबैलाई आह्वान गरे ।
