काठमाडौं । भिक्टर ग्योकर्सको गोलमा शनिबार जितको यात्रालाई निरन्तरता दिँदै आर्सनलले इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमाथिको पकड कायम राखेको छ ।
ग्योकर्सले २७ औं मिनेटमा गरेको पेनाल्टी गोल आर्सनलको जितलाई पर्याप्त भयो । ज्याक ओब्रायनले पेनाल्टी बक्समा हातले बल छोएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।
तर ओब्रायनको चर्को प्रतिबादपछि रेफ्रीले भिएआरको सहयोग लिएर पेनाल्टी दिने निर्णयमा कायम रहे । त्यही पेनालटीा ग्योकर्सले आर्सनलका लागि विजयी गोल गरेका थिए ।

जितसँगै आर्सनल १७ खेलमा ३९ अंक जोड्दै शीर्ष स्थानमा कायम रहँदा दुई अंकले पछि रहेर आर्सनललाई पछ्याइरहेको दोस्रो स्थानको म्यानचेस्टर सिटीले पनि शनिबार सहज जित हासिल गर्यो ।
इर्लिङ हालान्डले दुई गोल गर्नुका साथै एक गोलका लागि अवसर सिर्जना गरेपछि सिटीले वेस्ट ह्याम युनाइटेडमाथि ३–० को सहज जित निकालेको थियो ।
हालान्डले पाँचौं मिनेटमा खोलेको खातामा मध्यान्तर हुन सात मिनेट बाँकी रहँदा उनकै पासमा तिजानी रेइजन्डर्सले अर्को गोल थपे । हालान्डले ७०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि सिटीको सहज जित पक्का भएको थियो ।
अंकतालिकाको माथिल्लो स्थानमा रहेका टिमहरुले जित हासिल गरेको दिन चौथो स्थानको चेल्सी भने बराबरीमा रोकियो । त्यसको फाइदा उठाउने क्रममा लिभरपुलले शनिबार टोटनहमलाई हराएर चेल्सीसँग अंकको बराबरी गरेको छ ।

१७ खेलको समाप्तीमा चेल्सी र लिभरपुल दुवैको खातामा समान २९ अंक छ ।
न्युक्यासल भ्रमणमा हारको निक्कै नजिक पुगिसकेको चेल्सीलाई रीस जेम्स र जोआओ पेड्रोले दोस्रो हाफमा गोल गर्दै बराबरीको लायक बनाएका थिए । त्यसअघि पहिलो हाफमा निक वोल्टेमाडेको दुई गोलमा न्युक्यासलले खेलमा २–० को सहज अग्रता लिएको थियो ।
लिभरपुलले भने टोटनहममाथि २–१ को जित हासिल गर्दै चेल्सीसँग अंकको बराबरी गर्न सफल भयो ।
९ जनामा सीमित भएर खेलको अन्त्य गरेको टोटनहममाथिको जितमा लिभरपुलका लागि एलेक्जेन्डर इसाक र ह्युगो इकिटिकेले गोल गरेका थिए ।

भर्जिल भान डाइकमाथि खतरनाक फाउल गरेका कारण जाभी सिमोन्सले ३३औं मिनेटमा रातो कार्ड सामना गरेपछि टोटनहम १० खेलाडीमा सीमित भएको थियो । इन्ज्युरी समयको तेस्रो मिनेटमा क्रिस्टियन रोमेरोले दोस्रो पहेलो कार्डसँगै रातो कार्ड सामना गरेपछि टोटनहमले घरेलु मैदानमा ९ खेलाडीमा सीमित हुँदै खेल टुंग्याएको थियो ।
समय सकिन सात मिनेट बाँकी रहँदा रिचार्लिसनले गरेको गोल टोटनहमका लागि सान्त्वनामा सीमित भयो ।
इङलिस प्रिमियर लिगमा शनिबारै सम्पन्न अन्य खेलमा सन्डरल्यान्डले ब्राइटनसँग गोलरहित बराबरी नतिजा निकाल्यो भने ब्रेन्टफोर्डले उल्भसलाई २–० ले हरायो ।
यसैगरी बर्नली र बर्नमाउथबीचको खेल १–१ को बराबरीमा टुंगिँदा लिड्स युनाइटेडले क्रिस्टल प्यालेसलाई ४–१ को नतिजामा हरायो । लिड्सको जितमा डोमिनिक काल्भर्ट लेभिनले दुई गोल गरे भने इथान अम्पाडु र एन्टन स्टाकले एक एक गोल गरे । पराजित प्यालेसको लागि जस्टिन डेभेनीले पेनाल्टीमा सान्त्वना गोल गरेका थिए ।
