काडमाडौं । योनेक्स सनराइज नेपाल जुनियर इन्टरनेसनल सिरिजको पाँच वटै विधाको फाइनलमा भारतीय खेलाडीबीच मात्रै प्रतिस्पर्धा हुने भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार पुरुष एकलतर्फ अंश नेगीले साइप्रसाद तिगलालाई २४-२२, २९-२७ ले पराजित गर्दै फाइनल यात्रा तय गरे । अंशले सूर्यक्ष रावतसँग उपाधीका लागि प्रतिस्पर्धा गर्नेछन् । सूर्यक्षले विश्वजित चौधरीलाई २४-२२, २१-१२ ले पराजित गरेका थिए ।
महिला एकलतर्फ पारु चौधरीले इशिता नेगीलाई २१-१८, २१-१३ ले हराउँदै फाइनल प्रवेश गरिन् । पारुले उपाधीका लागि मेधावी नागरको सामना गर्नेछिन् । नागरले दिया भिमैयालाई २१-१२, २१-१८ ले पराजित गर्दै फाइनल यात्रा तय गरेकी हुन् ।
मिक्स युगलतर्फ गर्व शानी र इशिता नेगीको जोडीले सौरभ साहु र प्रगती परिदाको जोडीलाई २१-१९, २२–२० ले पराजित गर्दै फाइनल पुगे । अर्को सेमिफाइनलमा भाब्य छावरा र आङ्गेल पुनिराको जोडीले बिजोन जैसन र आन्या विष्टको जोडीलाई २३-२५, २१-१५, २१-१९ ले हराउँदै फाइनलमा स्थान पक्का गरे ।
पुरुष युगलतर्फ भाव्य छाबरा र परम चौधरीको जोडीले फाइनल यात्रा तय गरेका छन् । यो जोडीले दभ्यांश रावत र योगांश सिंहको जोडीलाई २१-१२, २१-११ ले पराजित गरेका हुन् । अर्को खेलमा दिभ्यांस अग्रवाल र निरज केशरीको जोडीले सी लालरामसंग र सौरभ साहुको जोडीलाई २१-१७, २१-१६ ले पराजित गर्दै फाइनल पुगे ।
नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगितामा भारतका ६०, नेपालका १६, थाइल्यान्डका १०, युएइका चार, इरानका तीन, न्युजिल्याल्यान्डका दुई तथा मलेसिया, अस्ट्रेलिया, बंगलादेश र इन्डोनेसियाका समान एक खेलाडीको सहभागिता थियो ।